यसकारण भारतसँग सधैं हार्छ नेपाल
फरकधार / २ कात्तिक, २०७८

हरेक पटकको कहानी यसपटक पनि दोहोरियो । भारतसँग नेपाल हरेक पटक जस्तै यसपटक पनि निर्णायक खेलमा कमजोर देखियो । नेपालसँगका पछिल्ला २३ भिडन्तलाई हेर्ने हो भने भारतको पल्ला भारी छ । 



नेपाल दक्षिण एसियाली फुटबलमा भारतले एकछत्र राज गर्दै आईरहेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने साफ च्याम्पियनसिपमा भारतकै दबदबा छ । साफको १३औं संस्करणसम्म भारतले ८ पटक उपाधि जितेको छ ।

छिमेकी भारत नेपालका लागि कडा प्रतिस्पर्धी त हो नै । नेपालले हालसम्म २३ पटक भारतीय टोलीको सामना गरिसकेको छ । नेपालले भारतलाई १९९३ र २०१३ को साफ च्याम्पियनसिपमा मात्र पराजित गरेको छ । 

माल्दिभ्समा भएको १३औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले २ पटक भारतको सामना ग¥यो र दुवै खेलमा भारत विजयी भयो । नेपालले लिग चरणमा भारतसँग १–० हार बेहोर्यो । 



अंक तालिकाको शीर्ष स्थानमा रहेका कारण नेपाल समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै फाइनलमा पुग्यो । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । ७ पटक उपाधि जितिसकेको भारतलाई नेपाल परिचित प्रतिद्वन्द्वी थियो ।

गत भदौ १६ र १७ मा मैत्रीपूर्ण खेल खेलेका दुवै टोलीले एक अर्काको खेललाई राम्रोसँग विश्लेषण गरेका थिए । एक अर्काको रणनीति थाहा पाएका दुवै टोलीका प्रशिक्षक (नेपालका अब्दुल्ला अलमुताइरी र भारतका इगोर स्टिमाच) ले भने टेक्निकल एरिया बाहिरबाट मात्र खेल हेर्न पाए । 

यो  प्रतियोगिता नेपाल र भारत दुबैका लागि उत्तिकै महत्वपूर्ण थियो । नेपाल २८ वर्ष लामो साफको यात्रामा पहिलो पटक फाइनल पुगेर उपाधि उचाल्ने दाउमा थियो भने भारतमाथि पनि ७ पटकको विजेता भएकाले आफ्नो साख जोगाउन पर्ने दबाब थियो । 

नेपाल र भारतको फुटबल भेटको समीक्षा 

नेपाल र भारतका राष्ट्रिय फुटबल टोली प्रायः साफ च्याम्पियनसिपमा भेट हुने गरेका छन् । यी टोलीले पहिलो पटक सन् १९८५ को साफ चाम्पियनसिपमा एकअर्काको सामना गरेका थिए । उक्त खेलमा नेपाल र भारत दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए ।

त्यस्तै, १९८५ को साफ गेममा भारतले नेपाललाई २–० ले पराजित गरेको थियो । १९८७ को साफमा पनि भारतले १–० को नतिजा निकालेको थियो । सन् १९८९ मा भएको खेलमा भारतले २–१ को जित निकालेको थियो । 

सन् १९९३ मा पनि भारतले १–० को जित निकालेको थियो । १९९३ ‘साउथ एसियन गेम’मा भने २–२ को बराबरीमा पुगेपछि पेनाल्टी सुट आउटमा नेपालले भारतलाई पराजित गरेको थियो । 

सन् १९९८ मा भएको एसियन गेम्समा पनि १–० ले भारतले जित हात पारेको थियो । सन् १९९९ मा भएको साफ गेममा पनि भारतले ४–० को फराकिलो जित दर्ता ग¥यो । २००५ मा भएको साफ च्याम्पियनसिपमा २–१, २००८ मा ४–० र २००९ मा १–० ले नेपाल पराजित भयो ।

सन् २०१२ मा भएको मैत्रीपूर्ण खेल बराबरीमा रोकियो । २०१३ मा भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो । सोही वर्ष भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारत नेपालमाथि हाबी भयो । भारतले नेपाललाई २–१ ले पराजित गर्‍यो । 

त्यस्तै २०१५ मा भएको वर्ल्ड कप छनोटमा भारत अगाडि रह्यो भने दोस्रो खेल बराबरीमा रोकिएको थियो ।

सन् २०१५ मा भएको साफ च्याम्पियनसिपमा पनि भारतले नेपाललाई ४–१ ले पराजित गर्‍यो । सन् २०१७ मा मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–० ले हरायो ।

यसैपाली नेपाल र भारतले ३ वर्षपछि दशरथ रंगशालामा मैत्रीपूर्ण खेलमा एक अर्काको सामना गरेका थिए । दुई खेलको मैत्रीपूर्ण सिरिजमा एक खेल बराबर हुँदा अर्को खेल भने भारतले आफ्नो नाममा दर्ता गरायो । 

पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो । दोश्रो खेलमा भने भारतले २–१ को जित निकालेको थियो । 

हालै सम्पन्न साफ च्याम्पियनसिपमा दुई पटक जम्का भेट भयो र दुवैपटक नेपालमाथि हाबी रहँदै भारतले उपाधि उचाल्यो ।

नेपाली फुटबलका कमजोरी

हरेकपटक छिमेकी राष्ट्र भारतसँग नेपाल पराजित हुँदै आएको छ । यसमध्ये पहिलो कारण भने पूर्वाधारको विकास नै हो । नेपालमा राम्रो फुटबल मैदान कम छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान दशरथ रंंगशाला र पोखरामा निमार्णाधीन पोखरा रंगशाला मात्रै हुन् । 

यसका बारेमा एन्फा लिग कमिटी संयोजक तथा फुटबल विश्लेषक सञ्जीव मिश्र पनि नेपाल र भारतमा भएको फुटबल विकासको स्तरका कारण नेपालले भारतसँग हार बेहोर्ने गरेको बताउँछन् । 

उनी भन्छन्, ‘नेपालले भारतसँग खेल्छ, अनि हार्छ । यसको मुख्य कारण नेपाल र भारतमा भएको फुटबल विकास क्रम हो ।’ 

नेपाल र भारतको फुटबल विकासक्रम हेर्ने हो नेपालको विकासक्रम निकै सुस्त देखिन्छ । यसको मतबल नेपालमा फुटबलको विकास नै नभएको भने होइन । नेपालको फुटबल विकासक्रम भारतको हेरी ढिला भने पक्कै भएको हो । 

फुटबललाई लामो समयदेखि नियाल्दै आएका मिश्र भन्छन्, ‘फुटबल विकासका लागि ‘फुटबलिङ कल्चर’ हुनु एकदमै जरुरी छ ।’ 

फुटबलमा पूर्वाधार विकास, खेलाडी उत्पादनमा घरेलु लिग जस्ता कुराहरुले पनि नेपाली फुटबललाई पछाडि पारेको उनको बुझाइ छ । नेपालमा हुने लिगहरु ३ महिनाको हुन्छ । 

नेपालका खेलाडी केही महिना खेल्छन्, अनि घरमा थन्किन्छन् । रोहित चन्द, किरण चेम्जोङजस्ता विदेशी लिग खेल्ने खेलाडीको मैदानमा प्रस्तुति र अन्य खेलाडीको प्रस्तुति निकै फरक हुने गरेको मिश्रले बताए । नेपालमा खेलाडी उत्पादनका लागि काठमाडौैंमा मात्र फुटबल क्लबहरु हुनु पनि अर्को पाटो हो । 

भारतको राष्ट्रिय टोली कहिले कुन देश कहिले कुन देश गर्दै विभिन्न देशहरुमा गएर फुटबल खेल्छन् । यसले उनीहरुको खेल्ने शैलीमा निकै परिवर्तन आएको छ । 

यही कुरा जोड्दै मिश्र भन्छन्, ‘युरोपदेखि अफ्रिकासम्म एक्पोजर पाइरहेको हुन्छ । यही स्थानमा हाम्रो राष्ट्रिय टोली सन् १९८९ मा अर्थात आज भन्दा ३१ वर्षअघि जर्मनी र रसिया गएको थियो । त्यसयता कुनै पनि युरोपियन देशहरुमा नेपाली टोलीले खेल्न जान पाएको छैन ।’ 

नेपाली फुटबलको विकास गर्ने हो भने र बलिया प्रतिस्पर्धीलाई चुनौती दिने हो भने बढी भन्दा बढी एक्सपोजरको व्यवस्था एन्फा लगायतका सरकारी निकायबाट हुनु पर्ने उनको भनाइ छ । 

नेपाली फुटबलको उत्थान र विकासका लागि नभई नहुने भने अर्को महत्वपूर्ण पक्ष भनेको स्थानीय तह र देशको कुना काप्चाबाट फुटबलको विकास हुनुपर्छ । फुटबलको विकासका लागि काठमाडौंमा आधारित फुटबल क्लबले मात्रै पुग्दैन । 

देशका हरेक कुना काप्चाबाट फुटबल खेलाडी उत्पादन हुनुपर्छ । नेपालको फुटबल विकासका लागि खेलाडी उत्पादन, उनीहरुलाई उचित व्यवस्थापन तथा बढी भन्दा बढी प्रतियोगितामा सहभागी हुने अवसर भएमा मात्र नेपाली फुटबलको विकास सम्भव छ । 

नेपालमा आशलाग्दा युवा खेलाडी उत्पादन भएका छन् । फरवार्डमा भर्खर भर्खर राष्ट्रिय टोलीबाट डेब्यु गरेका मनिष डाँगी जस्ता खेलाडी नेपाली क्लबले उत्पादन गर्न सक्नुपर्छ । 

उनी दक्षिण कोरियाको क्लबका उत्पादन हुन् । यस्ता खेलाडी हाम्रा देशका क्लबहरुले उत्पादन गर्न सक्ने हो भने नेपाली फुटबलको विकास हुन र भारत तथा भारत भन्दा बलिया प्रतिस्पर्धीसँग मैदानमा जितको गित गाउन पक्कै सम्भव हुनेछ । 

मिश्र भन्छन्, ‘जब खेल हुन लाग्यो तब मात्र नेपालका फुटबल क्लबहरुले खेलाडी अनुबन्ध गर्छन् । त्यो कल्चर ठीक होइन । फुटबल विकास गर्ने हो भने १२ महिना खेलाडी पाल्न सक्ने क्लबहरु हुन जरुरी छ ।’ 

उनका अनुसार खेलाडीलाई सदाबहार प्रशिक्षण दिन सक्ने क्षमता हुनुपर्छ । हरेक क्लबमा २ देखि ४ सयसम्म खेलाडी हुनुपर्छ । मेची देखि महाकालीसम्म क्लबका फ्यान हुनुपर्छ । 

नेपालमा विदेशी क्लबका फ्यान कति छन् कति । तर धेरै फुटबल प्रेमीलाई नेपाली फुटबल क्लब कति छन् भन्नेसम्म ज्ञान छैन । 

नेपालमा फुटबल क्लबको विस्तार किन भएन भन्ने प्रश्नमा मिश्र भन्छन्, ‘नेपालमा फुटबल कल्चरको विकास भएको छैन । फुटबललाई अझै व्यावसायिक ढंगबाट अंंगाल्न सक्ने वातावरण नेपालमा भएको छैन ।’ 

नेपालमा रहेका क्लबको आम्दानी भनेको उनीहरुको समर्थक हुनु जरुरी छ । क्लबको आम्दानी नै छैन नेपालमा क्लबको आम्दानी बढेको खण्डमा मात्र क्लबले खेलाडी पाल्न सक्छ । यही विषयमा नेपाली क्लबले ध्यान दिने हो भने मात्र नेपाल बलियो रुपमा फुटबलिङ राष्ट्र बन्न सक्नेछ । 

नेपालमा विस्तारै वामे सार्दै गरेको फ्रेन्चाइज फुटबल फुटाएको अवस्थामा विदेशी खेलाडीको आगमन तथा उनीहरुको खेल्ने तरिकासँग नेपाली खेलाडीले सिक्ने मौका मिल्थ्यो ।

भारतीय मैदानमा, बंगलादेशको मैदानमा आएर अर्जेन्टिनाले फुटबल खेल्न सक्छ भने नेपाली मैदानमा विश्वका बलिया टोली आएर किन खेल्न सक्दैनन् ! यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । 

मिश्र भन्छन्, ‘हाम्रो देशमा पनि सुविधासम्पन्न रंगशाला निर्माण हुन जरुरी छ । राज्यका तर्फबाट यसको पहल हुन जरुरी छ । यसबाट नेपाली खेलाडीलाई उत्प्रेरित गर्न सक्छ ।’

उनी थप्छन्, ‘नेपालको भौगोलिक विविधताका कारण संसारका विभिन्न देशका खेलाडी तथा टोलीहरु नेपाल आएर खेल्न सक्छन् । यसले उनीहरुको खेल्नेशैली नेपाली खेलाडीका लागि पनि सिक्ने अवसर हुनेछ ।’ 

बलिया फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न सक्ने वातावरण एन्फा लगायतका सम्बन्धित पक्षले मिलाउनु पर्नेमा मिश्रले जोड दिए । मैत्रीपूर्ण फुटबलमा जोड दिने हो भने, आम्दानीको स्रोत जर्गेना गर्न सकिन्छ । यसबाट नै पूर्वाधार विकास पनि गर्न सकिने कुरामा ध्यान दिनुपर्दछ । 

भौतिक पूर्वाधार नेपालमा कमी छन् । खेल्ने मैदान छैनन् । प्रदेश १ देखि सुदूरपश्चिम प्रदेशसम्म फुटबल खेल्ने मैदान छैन । पूर्वाधारको कमी छ । नेपालमा भएको दशरथ रंगशालामा पनि विभिन्न किसिमका कमी कमजोरी देखिदै आएका छन् । यस्ता पक्षमा ध्यान दिँदै दुरगामी सोचबाट काम गर्ने हो भने पक्कै नेपाली फुटबलको विकास सम्भव हुनेछ । 

  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार ११:१३:१६,   अन्तिम अपडेट : कात्तिक २, २०७८ मंगलबार १४:४०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया