कैलाली र कञ्चनपुर जिल्लामा १५ प्रतिशत बढी धानबालीमा क्षति पुगेको छ । मनसुन सकिएपछि भएको वर्षाले धान बालीमा ठूलो नोक्सान भएको हो ।
आइतबारदेखि लगातार भइरहेको वर्षा भइरहेको छ । कैलालीमा ४० प्रतिशत धान अझै खेतमा रहेको छ भने कञ्चनपुरमा ३० प्रतिशत धान काट्न बाँकी रहेको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले जानकारी दिए ।
कैलालीमा क्षतिको एकिन हुन नसकेको भए पनि कञ्चनपुरमा १० देखि १५ प्रतिशत धानमा क्षति पुगेको अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका तराइका जिल्ला कैलाली, कञ्चनपुर मात्र होइन पहाडी सात जिल्लामा समेत पानी परिरहेकोले धानबालीमा क्षति हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा देशभरमै सबैभन्दा बढी सुदूरपश्चिमको डडेल्धुरामा १६६.२ मिलिमिटर पानी परेको छ ।
कृषि विकास निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिममा एक लाख ८१ हजार हेक्टरमा धान खेती गरिन्छ । त्यसमध्ये कैलालीमा ७२ हजार हेक्टर कञ्चनपुरमा ४८ हजार ४७५ हेक्टरमा धान खेती गर्ने गरिएको छ ।
सुदूरपश्चिमममा गत वर्ष ६ लाख ७० हजार ५०३ मेट्रिक टन धान उत्पादन भएको थियो । सो उत्पादनको आधा भन्दा बढी तीन लाख ४० हजार मेट्रिक टन धान कैलालीमा फलेको थियो ।
उनले कैलालीमा ६० र कञ्चनपुरमा ७० प्रतिशत धान सुरक्षितरुपमा घरमा राखिसकेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।