सुदूरपश्चिममा अविरल वर्षापछि आएको बाढी–पहिरोले विद्युत र सञ्चार अवरुद्ध,  सात पहाडी जिल्ला सम्पर्कविहीन
फरकधार / २ कात्तिक, २०७८

सुदूरपश्चिम प्रदेशमा अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण विजुली र सञ्चार अवरुद्ध भएको छ । विद्युत र सञ्चार अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्ला सम्पर्कविहीन भएका छन् । 



टेलिफोन र बिजुली नहुँदा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला सम्पर्कविहीन भएका हुन् । 

ती जिल्लाको सम्पर्क टुट्दा सेती, महाकाली लगायतका साना ठूला नदी र पहिरोले पारेको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । 

डोटीको दिपायलमा सेती नदीले पुल छुन थालेको छ । यस्तै बाढीले बझाङमा समेत ठूलो जनधनको क्षति गरेको छ । 



सञ्चार सम्पर्क टुट्दा सेती नदीको प्रभाव बारे सरकारी निकायको भनाइ आउन सकेको छैन । नेपाल टेलिकमका सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियका प्रमुख नामाकर न्यौपानेले काठमाडौ र पहाडी क्षेत्रको ट्रंक लिंक टुटेकोले पहाडी क्षेत्रको फोन र इन्टरनेट सेवा मंगलबार बिहानैदेखि अवरुद्ध भएको जानकारी दिए ।

खानीडाँडामै विद्युत प्राधिकरणको पोल मार्फत लगिएको नेपाल टेलिकमको फाइवर लिंक पनि टुटेपछि पहाडी जिल्ला सञ्चार र विद्युतका दुईवटै सेवाबाट बञ्चित भएका हुन । 

यस्तै नेपाल विद्युत प्राधिकरण अत्तरियाका प्रादेशिक प्रमुख जंगबहादुर चन्दका अनुसार कैलालीको खानीडाँडामा रहेको नेपाल विद्युत्त प्राधिकरणको १३२ केभी ट्रान्समिसन लाइनमा सल्लाको रुख ढल्दा पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ ।

चन्दले १३२ केभी प्रसारण लाइन तत्काल नबन्ने भएकोले ३३ केभीबाट पहाडी क्षेत्रमा बिद्युत सेवा दिने प्रयासमा रहको बताए । १३२ केभी प्रसारण लाइनमा सोमबार साँझदेखि समस्या आएको हो । 

‘भासु भीरमा पहिरो गएकोले सो लिंक जोड्न सकेका छैनौं,’ न्यौपानेले भने, ‘लिंक जोड्न सकियो भने विद्युत सेवा सञ्चालनमा नआए पनि सञ्चार सेवा सञ्चालनमा ल्याउन सकिन्थ्यो ।’ सडक खुल्ने वित्तिकै फाइबर जोडिने उनले बताए ।

  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १४:३५:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया