बझाङ पहिरो अपडेट : २३ जना वेपत्ता भएको १२ घण्टा बित्यो, उद्धारमा कोही पुगेन (बेपत्ताको सूचीसहित)

बझाङ थलारा गाउँपालिका–४ डिख्लामा मंगलबार बिहान पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् ।  एकै घर परिवारका १८ जनासहित २३ जना बेपत्ता भएका हुन् । 

स्थानीय र विभिन्न सञ्चार माध्याममा वेपत्ता भएका समाचार आए पनि प्रशासन भने घट्ना भएको १२ घण्टा बित्दा पनि घटनास्थलमा पुग्न सकेको छैन ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीको घरका ५ जना रहेको स्थानीयले बताएका छन् । गगने भने रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले मात्र सकुशल रहेको र अरु बेपत्ता भएको स्थानीयबासिन्दाको भनाइ छ । 

पहिरोले सात घर पुरिएका छन् कयौं विस्थापित भएका छन् । विस्थापितहरु त्रिभुवन माध्यमिक विद्यालय महेन्द्रधारमा बसिरहेका छन् । 

बेपत्ता हुनेमा गगने शार्कीको घरका हर्कु शार्की, धनगिरी शार्की, सिता शार्की, प्रवाश शार्की, भूमिका शार्की, चिरञ्जीवी शार्की, इश्वरा शार्की, संजीव शार्की, सविता शार्की, सरोज शार्की, शर्मिला शार्की, पम्मा शार्की, सुवाश शार्की, विकास शार्की छन् भने एक जना नाम खुल्न सकेको छैन । यस्तै मदन शार्की, कलुदेवी शार्की र एलिसा शार्की गरेर १८ जना रहेका छन् । 

यस्तै नरे पार्कीको घरबाट वेपत्ता भएकामा उजली पार्की, आयुष पार्की, हिमा पार्की, सिमा पार्की गरी ५ जना रहेको स्थानीय शिक्षक मदनबहादुर साउँदले जानकारी दिएका छन् । 



उनले  भने ,‘बिहानैदेखि हामीले प्रहरी फोन गर्न धेरै प्रयास ग¥यौं तर नेटवर्कले काम गरेन । बिहान ४ बजे सुतेकै समयमा पहिरो आएछ । आधीले भागेर ज्यान बचाए । आधी निदाएको अवस्थामा पहिरोसँगै बेपत्ता भएका छन् । अहिले पानी रोकिएको छैन । प्रहरी चौकी मालुमेला, खोली र जिप्रकामा कुरा भइसकेको छ । तर घटनास्थलसम्म पुग्ने बाटो असहज भएको र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका कारण यहाँ पुग्न सकेका छैनन् ।’ 

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको छ । लगातार पानी परिरहेकोले बाटो अवरुद्ध छ । घटनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन ।’
 



  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १९:५१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया