२३ जना वेपत्ता भएको १७ घण्टा बित्दा पनि थाहा पाउँदैन सरकार, गरिव जनताले सरकारसँग के आशा गर्ने ?

आइतबारदेखि परिरहेको अविरल वर्षापछि आएको बाढी र पहिरोका घटना समेटेर गृह मन्त्रालयले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्यो ।  

गृहले विज्ञप्तिमा भनेको छ, ‘प्राप्त प्रारम्भिक विवरण अनुसार हालसम्म बाढी पहिरोबाट कालिकोटमा १, डडेलधुरामा १, डोटीमा २ र सुनसरीमा २ जना गरी ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन ्।’ 

गृहले तीन दिनदेखि परेको अविरल वर्षाको कारण कालिकोट, डडेलधुरा, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत लगायतका १९ जिल्लाहरु प्रभावित भएको जनाएको छ । 

यति विवरण समेटेको गृहले मुख्य विवरण भने विज्ञप्तिमा राखेन । अझ स्पष्ट भन्दा– गृह मन्त्रालयले थाहै पाएन । 

गृहले नसमेटेको मुख्य विषय हो– बझाङको थलारा गाउँपालिका–४ डिख्लामा मंगलबार बिहान पहिरो जाँदा २३ वेपत्ता भएको घटना । 

घटना भएको १२ घण्टा बित्दा पनि दुई परिवारका २३ जना वेपत्ता भएको घटनाबारे गृहले थाहा पाएनन् । 



पहिरोले २३ जनालाई सोहोरेर लगेपछि गाउँलेहरु बिहानैदेखि रोइ कराई र हारगुहार गरिरहेका छन् । उनीहरु कहिले स्थानीय प्रशासन त कहिले पत्रकारलाई गुहारिरहेका थिए । उनीहरुले जिल्ला प्रहरी कार्यालय देख जिल्ला प्रशासन कार्यालयलाई समेत गुहारे । तर गृह मन्त्रालयले थाहा नपाए झै गर्यो । 

स–सानो घटना त जिल्ल प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले थाहा पाउने वित्तिकै गृह मन्त्रालयलाई जानकारी गराउँछन् र गराउनुपर्छ । तर २३ जना जनता वेपत्ता भएको कुरा १२ घण्टा बित्दा पनि कसरी गृह मन्त्रालयसम्म पुगेन ?  



जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले मंगलबार दिउँसै फरकधारसँग भनेका थिए, ‘पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको छ । लगातार पानी परिरहेकोले बाटो अवरुद्ध छ । घटनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन ।’ 

जिल्लाको प्रहरीले थाहा पाउने तर गृह मन्त्रालयले थाहा नपाउने यो कस्तो घटना घट्यो ? गृहले थाहा नपाएको होइन थाहा नपाए झै गरेको स्पष्ट हुन्छ । 

राजधानी वरपर पहिरोका घटनाले जनधनको क्षति गर्दा मन्त्री, पार्टीका नेता लाइन लागेर घटनास्थलमा पुगेको पटक पटक देख्दै आएको हो । तर दुर्गम जिल्ला बझाङको दुर्गम गाउँमा २३ जना एउटै घटनामा परि वेपत्ता हुँदा न गृहले थाहा पाएको छ न नेताहरुले नै । उद्धार र राहतको लागि हेलिकप्टर लिएर घटनास्थल जाने त परको कुरा कसैले घटनाप्रति चासो पनि दिएका छैनन् । 

बझाङको थलारा गाउँपालिकाका स्थानीय शिक्षक मदनबहादुर साउँदले जानकारी मंगलबार मध्यान्ह नै फरकधारसँग भनेका थिए, ‘ बिहान ४ बजे सुतेकै समयमा पहिरो आएछ । आधीले भागेर ज्यान बचाए । आधी निदाएको अवस्थामा पहिरोसँगै बेपत्ता भएका छन् । प्रहरी चौकी मालुमेला, खोली र जिल्ला प्रशासन कार्यालयमा कुरा भइसकेको छ ।’ 

घटनाबारे स्थानीय प्रशासनलाई अपरान्ह नै थाहा भैसकेको थियो । घटना दुर्गम स्थानमा भएको भए खोज तथा उद्धारको लागि हेलिकोप्टरको प्रयोग गर्न सकिन्छ । यसैको लागि भनेर करोडौं रुपैयाँ खर्चेर सरकारले नेपाली सेनालाई हेलिकप्टर किनिदिएको छ । तर उद्धारको लागि हेलिकोप्टर माग गर्नुपर्ने गृहले नै घटना थाहा नपाएपछि हेलिकोप्टर पुगोस् कसरी । 

दुर्गममा गरिव जनता वेपत्ता हुँदा वा मर्दा के उनीहरुले सरकारबाट सहयोगको आश गर्न नहुने हो । यदि होइन, भने कहिलेसम्म दुर्गमका जनता राज्यबाट अपहेलित र अपमानित भएर बस्नुपर्ने हो ? के गरिव जनताले सरकारबाट सहयोग पाउनै नहुने हो ? होइन भने गृह यस्ता घटनामा किन मौन बस्छ ? किन थाहा नपाए झै गर्छ ? यसको जवाफ जनतालाई दिन नपर्ने हो ? 

  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार २१:२५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया