स्थायी जागिरबाट हात धुनुपरेपछि देउडामा जमेका रेग्मी

वि.स. २०३५ सालमा कञ्चनपुर महेन्द्रनगर उल्टाखाम सरस्वती माविमा नरेन्द्रराज रेग्मीले शिक्षक पेसा सुरु गरे । उनले उक्त विद्यालयमा ६ वर्ष सेवा गरे । सोही विद्यालयमा कार्यरत हुँदा नै शिक्षक सेवा आयोगबाट उनी स्थायी भए । २०४२ सालमा कञ्चनपुरबाट सरुवा भएर रेग्मी बझाङ थलारा माविमा गए ।
बझाङमा रहेकै बेला उनलाई एउटा अवसर आयो । बझाङ सदरमुकाम चैनपुरको सत्यवादी माविमा विद्यालयस्तरीय सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । 

आफ्ना विद्यार्थी लिएर सांस्कृतिक कार्यक्रममा पुगेका रेग्मीले त्यो अवसर गुमाउन चाहेनन् । देउडाका पारखी रेग्मी सरले गाए– ‘चैरमुसी चैर...।’ 

उनको गीतले सांस्कृतिक कार्यक्रम हेर्न आएकाहरुको तालिमात्र पाएन, कार्यक्रमका प्रमुख अतिथि रहेका प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँ पुरस्कार नै दिए ।

विद्यालयको सांस्कृतिक कार्यक्रममा गाएको त्यही गीतले पछि भने उनको जीवनको बाटो नै मोडिदियो । सुदूरपश्चिमेली भाषाको यो गीतमा व्यक्त तत्कालीन प्रशासकबाट सर्वसाधारणले खेप्नु परेको पीडा र शासकमा रहेको मुसा प्रवृत्तिको प्रतीकात्मक व्यंग्य प्रमुख जिल्ला अधिकारीले सुरुमा त बुझेनन् । जब बुझे गीतका शब्दले राजाको अपमान गरेको अभियोगमा रेग्मीमाथि राजकाजको मुद्दा लगाए । 

प्रमुख जिल्ला अधिकारीले आफ्नो निवासमा दूध पुर्‍याउन आउने एक किशोरीमाथि यौन शोषण गरेको रेग्मीले थाहा पाएका थिए । त्यो बेला शासकविरुद्ध बोल्न सम्भव थिएन, विरोधमा रेग्मीले व्यंग्यात्मक गीत सिर्जना गरे ।

राजकाजको मुद्दा लागेपछि स्थायी जागिर छोडेर उनी बझाङबाट काठमाडौं हानिए । यो २०४४ साल फागुनतिरको घटना थियो । कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसबाट आइएस्सी गरेका उनले काठमाडौंमा पढाइलाई निरन्तरता मात्र दिएनन् । गायनलाई पनि संगै अघि बढाए ।



काठमाडौं सतुङ्गलमा रहेको विष्णुदय माविमा ६ वर्ष पढाए । काठमाडौंमा २०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि ‘क्या निको लागन्छ फूलजसो फुल्याको जिल्ला...’ भाकाको गीत रेकर्ड गराए । तर, त्यो गीत धेरै चलेन । जीवनमा उनले गायन क्षेत्रबाट आर्थिकमा धेरै फट्को नमारे पनि ६२ वर्षीय रेग्मीले परिवार यसैबाट धाने ।

२०५४ तिर उनले ‘खप्तडको सेरोफेरो’ एल्बम निकाले । जसमा चैर मुसी चैर....सहित छ वटा गीत थिए । त्यही चैर मुसी चैरले उनलाई चर्चाको शिखरमा पु¥यायो । जुन गीत अहिले पनि देउडाप्रेमीको मनमस्तिष्कमा छ । 



यो उनको पहिलो एल्बम थियो । त्यसपछि उनले पछाडि फर्कनु परेन, उनले गायका कयौँ देउडा गीत ‘हिट’ भए । त्यसैले त आफूलाई लोकप्रिय गायक बनाउने कारक बनेको त्यही घटनाले सरकारी जागिर गुमाउनु परेकोमा उनलाई पछुतो छैन । 

‘शासकप्रति व्यंग्य गर्दा जागिर गुमाउनु परे पनि त्यही घटनाले मेरो जीवन मोडियो’, रेग्मी भन्छन्, ‘जीवनभर गीतसंगीतको क्षेत्रमा रमाउने अवसर पाएँ । सबैभन्दा ठूलो कुरा स्रोताको माया र सम्मान पाएको छु ।’ 

झण्डै साढे तीन दशक लामो सांगीतिक यात्राका क्रममा उनले ७२ वटा एल्बम बजारमा ल्याएका छन् । ‘करिब आठ सय गीतमा स्वर दिए होला’, रेग्मीले सुनाए । ‘ढुकु रान्चडी...’, ‘दाडिम चौका ढोलपैरा...’, गैजाउँ कि धनगढीतिर...’, ‘बिजुली चम्कन लाग्यो बिना बादल सर्क...’ लगायत रेग्मीको स्वरवद्ध दर्जनौँ गीत कुनै समय निकै लोकप्रिय थिए । जुन गीतमा मायाप्रेम, विदेशिनु पर्दाको बाध्यताका विषयवस्तु छन् । यी गीत त्यतिबेला सुदूरका कुनाकन्दरामा घन्किएका हुन्थे । 

क्यासेटको जमाना थियो । रोजगारीका लागि भारत जाने परम्परा रहेको सुदूरपश्चिममा भारतबाट फर्कनेको हातहातमा टेप हुन्थे । भारतबाट फर्कनेलाई ‘लाहुरे’ भनिन्थ्यो । ‘लाहुरे’ फर्कने चाडपर्वका बेला बाटो र गाउँबस्तीमा तिनै टेपमा देउडा घन्किन्थे । प्रविधि फेरियो, मोबाइल आएपछि भने टेप र क्यासेट दुवै हराए । गायकले क्यासेट निकाल्न छाडे । २०६४/६५ पछि त क्यासेट निकाल्ने चलन हरायो । गीतहरु युट्यूबमा राख्न थाले, म्युजिक भिडियो अनिवार्यजस्तै भयो । 
 
चैरमुसीले रेग्मी देउडाका स्रोतामाझ गायकको रुपमा परिचित भइसकेका थिए । त्यसपछिका दुई वटा एल्बमका गीत औसत चले । २०४८ सालतिर चौथो एम्बल ढुकु रान्चडीको ढुकु रान्चडी बोल...को गीत निकै लोकप्रिय बन्यो । 

कामको खोजीमा मुम्बई गएका श्रीमान् र घरमा रहेकी श्रीमतीबीचको प्रेम र पारिवारिक विषयवस्तु प्रेमिल ढङ्गले यो गीतमा अभिव्यक्त छ । यो गीतमा पवित्र घर्ती र देवी घर्तीले उनलाई साथ दिएका छन् ।

त्यतिबेला बैतडीको खोड्पेबाट बझाङको चिरसम्ममात्र बस चल्थ्यो । रेग्मीले त्यही विषयमा भाका टिपे र गाए–‘खोड्पे है बस गयो चिर, गइजाउँ कि धनगढीतिर...।’ 

पहाडको विकटताका दुःख, मधेस बसाइ सर्ने र मायाप्रेमको प्रसंग यहाँ अभिव्यक्त छ । यसमा महिला आवाजमा इन्दिरा गुरुङले साथ दिएकी छन् । यो गीतले पनि त्यसबेला लोकप्रियताको शिखर चुम्यो ।  

रेग्मीले आफूले स्वर दिएका गीतमात्रै लोकप्रिय बनेनन्, उनको शब्द र लय सिर्जनामा अरुले गाएका गीत पनि उत्तीकै लोकप्रिय छन् । रामचन्द्र काफ्लेद्वारा स्वरवद्ध ‘खेलौला डेउडा चैतली...’ धेरैले रुचाएको गीत हो, जसको शब्द र लय रेग्मीको हो । अहिले युवा पुस्तामा निकै चर्चिक बनेको देउडा हो–भनसाली तेरी दिदी का छ...?’ चक्र मल्ल र लक्ष्मी आचार्यको स्वर रहेको यो गीतको लय पनि रेग्मीले सिर्जना गरेका हुन् । 

सुदूरपश्चिमका कलाकारलाई त्यतिबेला एल्बम निकाल्नु भनेको निकै कठिन थियो । सुदूरपश्चिममा रेकर्डिङ्ग स्टुडियो थिएनन् । काठमाडौं गएर गीत गाउनु पथ्र्यो । त्यहाँ पनि युगल स्वरका लागि गायिका पाइदैनथे । गायिका नपाउँदा सुरुका दुई दर्जन बढी गीत एकल स्वरमा निकालेको रेग्मी सम्झन्छन् । 

‘सुदूरपश्चिममा गायिका थिएनन्, काठमाडौंका गायिकाले सुदूरपश्चिमेली भाषा नबुझ्ने भनेर पन्छिन्थे । चार–पाँच वटा एल्बम आफ्नो एकल स्वरमा निकालेँ’, त्यतिबेला एल्बम निकाल्नु पर्दा भोगेको संघर्ष उनले सुनाए ।

५० को दशक आसपासपछि भने आफ्नो एल्बममा लोकगायिका बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, इन्दिरा गुरुङ, पवित्रा घर्ती, देवी घर्ती, पवित्रा थापालगायतले स्वर दिएका रेग्मी बताउँछन् । काठमाडौंका कलाकारले पनि स्वर दिन थालेपछि राष्ट्रिय स्तरमै देउडाको लोकप्रियता बढ्न थाल्यो । 

यसले सुदूरपश्चिम बाहिरका गायक÷गायिका देउडाप्रति आकर्षित भएका उनको बुझाइ छ । देउडाको लोकप्रियताकै कारण अहिले कतिपय चलचित्रमा पनि देउडा गीत राख्न थालिएको छ । 

‘२०५२/०५३ साततिर अत्तरियामा रिमा रेकर्डिङ्ग स्टुडियोको शाखा खुल्यो । त्यसले सुदूरपश्चिममै गीत रेकर्ड हुन थाले । गीत रेकर्डिङ्गको सहजतापछि भने गायिकाको संख्या बढ्यो’, उनी भन्छन् । यो सुदूरपश्चिमकै पहिलो रेकर्डिङ्ग स्टुडियो हो । काठमाडौंमा क्यासेट निकालेपछि झोलामा हालेर सुदूरपश्चिमका गाउँगाउँमा गएर बिक्री गरेको उनले बिर्सेका छैनन् ।  

देउडा भाकालाई सुदूरपश्चिम र देशका कुनाकन्दरामा पु¥याएका यी पाका गायक अहिले पनि संगीत साधनामै छन् । २०१६ सालमा बझाङको थालारामा जन्मेका उनको कर्मथलो हिजोआज धनगढी बनेको छ । बीचमा कुनै एल्बम ननिकालेका रेग्मी फेरि नयाँ गीतको तयारीमा रहेका छन् । 

पछिल्लो सयम रेग्मी मेला महोत्सवमा गीत गाउँछन् । देउडा प्रतिष्ठान गठन गरेर देउडा गीतको संरक्षण र प्रवद्र्धनमा उनी लागेका छन् । एल्बम ननिकालेको भने करिब १० वर्ष पुगेको छ । उनले धनगढीमा आफैंले लामो समय गीत रेकर्डिङ्ग स्टुडियो पनि चलाए । प्राविधिक जनशक्तिले त्यसलाई निरन्तरता भने दिन सकेनन् ।

त्यसबेला देउडा गायक औंलामा गनिने थिए । अहिले देउडा गाउने कयौं कलाकार छन् । सुदूरपश्चिममा रहेको देउडाप्रतिको आकर्षणले नै देउडामा गायकको संख्या वृद्धि हुँदै गएको उनको बुझाइ छ । यसरी देउडामा आकर्षण कायमै रहनु खुसीको कुरा हो । तर पछिल्लो समयका कतिपय युवा कलाकारले देउडामा पप र ¥याप मिसाउन थालेका छन् । 

देउडामा देखिएका यस्ता विकृतिप्रति रेग्मी चिन्तित छन् । पप र ¥याप गीतको प्रभावले यहाँको संस्कृतिमा बिचलन ल्याउने उनको चिन्ता छ । छाडापनले अहिलेका कतिपय देउडा गीतमा पनि घरपरिवारसँग बसेर सुन्नसक्ने खालका नरहेकोमा रेग्मीको चित्त दुखाइ छ । 

‘नयाँ पुस्तामा देउडाप्रतिको मोह छ तर उच्छृङ्खल र छाडा गीतप्रति युवाहरुको बढी आकर्षण देखिन्छ । देउडामा घरपरिवारसँग बसेर सुन्नै नसकिने शब्दहरु हुन्छन् । यसले देउडा गीत र ठेट संस्कृति ओझेलमा पर्न थालेको छ’, उनी चिन्ता प्रकट गर्छन्, ‘देउडाका नाममा देखिएको उत्ताउलोपना संस्कृतिप्रेमी सबैका लागि चिन्ताको विषय हो ।’ अझै पनि शक्ति रहुनजेलसम्म गायनमै बिताउने रेग्मी बताउछन् । 


 

  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १०:४९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया