चौबिस घण्टापछि बझाङ थलारामा पुग्यो औषधी सहित सेनाको उद्धार टोली

औषधी सहित नेपाली सेनाको उद्धार टोली हेलिकोप्टरबाट बझाङ थलारा पुगेको छ । थलारा गाउँपालिका–४ डिख्ला भन्ने स्थानमा पहिरो गएर २३ जना वेपत्ता भएको २४ घण्टापछि नेपाली सेनाको उद्धार टोली पुगेको हो । 

मंगलबार विहान भएको घटना दिउँसो मात्र थाह भएको थियो । घटनाबारे जानकारी भए पनि मौसम खराबीका कारण उद्धार टोली जान सकेको थिएन । 

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्दले नेपाली सेनाको हेलिकप्टर सुरक्षाकर्मी राहत र उद्धार सामग्री सहित डिख्ला पुगेको बताए ।

‘यताबाट केही राहत सामग्री, उद्धार सामग्री बिहानै पठाइएको छ । बझाङ सदरमुकामबाट सुरक्षाकर्मी सहितको टोली डिख्ला गएको छ’ एसएसपी चन्दले भने । 

थलारा गाँउपालिका–४ डिख्लामा सोमबार राति पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए । उनीहरुको अवस्था अहिले सम्म अज्ञात रहेको छ । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना छन् । 

गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल रहेको बताइएको छ ।  



तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसेका छन् । 

बझाङ जिल्लाभरी सेती नदी तथा सहायक नदी–खोलाहरुले एएटा काठको पुल र २ वटा झोलुङ्गे पुल बगाएको छ । जयपृथ्वी नगरपालिका–३ मा बग्ने डुङ्गीखोलाले डुङ्गी र मष्टा गाउँपालिका जोड्ने झोलुङ्गे पुल बगाएको हो । ​



थलारा गाउँपालिका–९ मा रहेको थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिका जोड्ने झोलुङ्गे पुल सेती नदीले बगाएको छ । तलकोट गाउँपालिका रातापानीमा रहेको काठको मोटरेबल पुल सेती नदीको बहाव बढेपछि बगेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १४:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया