सुदूरपश्चिममा बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । बाढी–पहिरोले डोटीमा १३ जना, बझाङमा ५, बैतडीमा ४ जना डडेल्धुरा २ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक विक्रम चन्दले बताए ।
डोटी सायल गाउँपालिका ६ मेल्लेखमा सोमबार राति घर भत्किँदा १४ वर्षीय सागर कुन्जेडा र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको छ । यसैगरी डोटी जोरायल ४ नवलपुर बस्ने ६३ वर्षीय जोगी सार्कीको घरमाथि पहिरो खस्दा उनी र उनकी ५५ वर्षीय पत्नी झुपरी सार्कीको मृत्यु भएको छ ।
यसैगरी जोरायल ४ सयलगडामा एकै घरमा ४ जनाको मृत्यु भएको छ । ४३ वर्षीय शेरबहादुर विक, उनका छोरा मोहन र छोरी १३ वर्षीय पवित्राको मृत्यु भएको हो । मामाघर आएका १६ वर्षीय रविन विकको पनि उक्त घरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, शिखर नगरपालिका ११ मा गोपघाटबाट घर जाने क्रममा पहिरोसँगै माथिबाट आएको ढुंगाले लागेर गम्भीर घाइते भएकी ३६ वर्षीय मन्धरा बलायरको मृत्यु भएको छ । सुजन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यस्तै, पहिरोमा परेर सायल गाउँपालिका ५ गुरेना डमरीका ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव डुंगेलको मृत्यु भएको छ । सोही ठाउँका सायल गाउँपालिका १ का ७४ वर्षीय बिरे रोकायको छत्रेश्वर खोलाले बगाउँदा मृत्यु भएको छ ।
बोगटान फुडसिल गाउँपालिका ५ उपल्ला गाउँमा आएको पहिरोमा परेर चन्द्रा नेपालीको मृत्यु भएको छ ।
यस्तै, बझाङमा पहिरोमा परेर पाँचजनाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा रोकाया र उनकी श्रीमती जयसरा रोकायाको ज्यान गएको छ ।
यस्तै, खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा बिरु गिरीको ज्यान गएको छ । उनकी श्रीमती चन्द्रा गिरी बेपत्ता भएकी छिन् ।
यस्तै, जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा बेपत्ता भएका २३ जनामध्ये दुईजनाको शव फेला परेको छ ।
यसैगरी, बैतडी शिवनाथ गाउँपालिका, ६ वसेडीमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ । १८ वर्षीय पवित्रा पार्की, २४ वर्षीय भानु पार्की र ३ वर्षीय सोम पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बैतडी सुर्नैया ५ मा घर भत्कँदा ७१ वर्षीय परुदेवी महराको मृत्यु भएको छ ।
माथिबाट सोमबार राति आएको पहिरोले घर पुरिँदा डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको छ भने डडेल्धुरा गन्यापधुरा गाउँपालिका, ३ का ६५ वर्षीय नरपता शाहीको खोलाले बगाएर मृत्यु भएको छ ।
बझाङमा पहिरोमा परेर ७३ वर्षीय धनराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी ११ जना घाइते भएका छन् ।
डोटीमा वीरबहादुर कुन्जेडा, वासुदेवी कुन्जेडा र विन्दु कुन्जेडा, रमेश लुहार, भीम लुहार, करी डुंगेल घाइते भएका छन् भने डडेल्धुरामा देवकी रावल र ग्रिस रावल घाइते भएका छन् ।
बैतडीमा सरस्वती विष्ट र माया विष्ट घाइते भएका छन् । बझाङमा पदमा जोशी घाइते भएकी छन् । बझाङ बेपत्ता २३ मध्ये २१ जनाको अवस्था अझै अज्ञात छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।