राष्ट्र बैंकले बिहीबार १० अर्बबराबरको रिपो जारी गर्ने

नेपाल राष्ट्र बैंकले कात्तिक ४ गते बिहीबार १० अर्बबराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । 

केही समयअघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । 

राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनाअनुसार बैंकले आगामी कात्तिक ११ गते परिपक्व हुने १० अर्ब रुपैयाँबराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । 

बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

बजारमा तरलताको अभावले बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्न ब्याजदर बढाउन थालेका छन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अंकको ब्याजदर कायम गरेका थिए । 

त्यसरी बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर असाधारण रूपमा बढाएको भन्दै ब्याजदर व्यवस्थित गर्न राष्ट्र बैंकले मंगलबार तीनबुँदे निर्देशन जारी गरेको थियो ।



बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । गत असोज २० गते बैंकले २० अर्बबराबरको १४ दिन अवधिको रिपो जारी गरेको थियो । 

तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् । 



बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन ।

  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार २०:३९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया