टि–२० विश्वकप : नामिबियाको पहिलो जित

आइसिसी टि–२० विश्वकप २०२१ मा नामिबियाले पहिलो जित दर्ता गरेको छ । 

पहिलो चरणको समूह ‘ए’अन्तर्गत बुधबार भएकोे आफ्नो दोस्रो खेलमा नेदरल्यान्डलाई ६ विकेटले पराजित गर्दै नामिबियाले सुपर १२ को सम्भावना जीवितै राखेको हो ।

१६५ रनको विजयी लक्ष्य नामिबियाले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । 

नामिबियाका लागि डेभिड विसेले उत्कृष्ट पारी खेले । ६६ रनमा अविजित रहेका उनले ४० बलमा ४ चौका र ५ छक्का प्रहार गरे । जेजे स्मिथले अविजित १४ बनाए । 

कप्तान गेरहार्ड इरास्मसले ३२, स्टेफन बार्डले १९ रनको योगदान दिए ।

नेदरल्यान्डका फ्रेड क्लासेन, कोलिन अक्रेरमन, टिम गुग्टेन र कप्तान पिटर सेलारले समान १ विकेट हात पारे । 



यसअघि युएईको अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६४ रन जोडेको थियो । 

नेदरल्यान्डका म्याक्स ओडोउडले उत्कृष्ट पारी खेले । १९.३ ओभरमा रन आउट हुनुअघि उनले ५६ बलमा ६ चौका र १ छक्काको मद्दतले ७० रन जोडेका थिए ।  



कोलिन अक्रेरमनले ३५ रनको योगदान दिँदा स्कट एड्वार्डस २१ रनमा अविजित रहे ।

नामिबियाका जान फ्राइलिन्कले २ र डेभिड विसेले १ विकेट हात पारे । १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।

जितसँगै नामिबिया २ खेलमा २ अंकका साथ समूह ‘ए’तेस्रो स्थान रहँदा लगातार दोस्रो हारसँगै अंकविहीन भएर अन्तिम स्थानको नेदरल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ ।  

पहिलो खेलमा नेदरल्यान्डले आयरल्यान्ड र नामिबियाले श्रीलंकासँग समान ७ विकेटको पराजय बेहोरेका थिए । 

पहिलो चरणको आफ्नो अन्तिम खेलमा नामिबियाले आयरल्यान्डको सामना गर्दा नेदरल्यान्डले श्रीलंकासँग खेल्नेछ । 
 

  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार २०:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया