यी नेता जो एकतापछि छायामा परे

काठमाडौं– तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच ३ जेठमा भएको पार्टी एकता कतिपय नेताका लागि ‘बरदान‘ बन्यो त कतिपय नेताका लागि ‘अभिशाप’ । 

तत्कालीन नेकपा एमाले र माओवाादी केन्द्रका धेरै नेता पार्टी एकतापछि आफूले पाउने जिम्मेवारी, पार्टीभित्रको पदजस्ता विषयमा आन्तरिक रूपमा तयारी गरेका थिए । तर, पार्टी एकता भइसकेपछि कतिले सोचेभन्दा ठूलो जिम्मेवारी पाए भने कति सोच्दै नसोचेको परिणाम भोग्न बाध्य भए । 

००६ सालमा नेपा कम्युनिष्ट पार्टी स्थापना भएदेखिको इतिहासलाई हेर्ने हो भने पनि पार्टीमा विभाजनको राजनीति कुनै नौलो होइन । ००६ सालमा स्थापना भएको सो पार्टीमा २०१७ पछि विभाजनको शृंखला सुरु भएको थियो । जुन प्रक्रिया अहिलेसम्म पनि रोकिएको भने छैन ।

नेकपाका नेताहरूमा पछिल्लो समय देखिएको आन्तरिक विवादको प्रमुख कारण नै पार्टी एकतापछि नेताहरूले अपेक्षा गरेअनुरूपको जिम्मेवारी नपाउनु रहेको नेकपाका एक नेता बताउँछन् । त्यसो त, नेकपा गठन भएलगत्तै दुवैतर्फका नेताहरू असन्तुष्ट रहेको समाचार बाहिर आएका थिए । 

०२८ सालमा झापा विद्रोहबाट स्थापित भएको माले र ०५२ सालमा सशस्त्र जनयुद्धबाट स्थापित भएको माओवादी दुवै अन्ततः संसदीय व्यवस्थामा फर्किएका छन् ।  

०७४ असोज १७ गतेलाई पार्टी एकताको जग खनिएको दिनका रूपमा लिन सकिन्छ । तत्कालीन एमाले र माओवादी केन्द्रले उक्त दिन गरेको एकता घोषणापश्चात् प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि सम्पूर्ण नेता तथा कार्यकर्ता लागे । सोही जगमा बनेको वाम गठबन्धनले देशभरबाट अपेक्षित परिणाम पनि हात पा¥यो । लामो समय नेपालको राजनीतिमा सक्रिय भएको नेपाली कांग्रेस भने अप्रत्याशित हार ब्यहोर्न बाध्य भयो । 



यसैबीच, पूर्वएमाले र माओवादी केन्द्रमा रहँदा प्रभावशाली भूक्मिकामा रहेका कतिपय नेता भने पछिल्लो समय नेकपा गठनपछि छायामा परेका छन् । तीमध्ये केही नेताबारे फिचर गरिएको छः

झलनाथ खनाल 



पार्टी एकता हुँदा तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल देशबाहिर थिए । उनी स्वदेश नभएका वेलामा पार्टी एकता भयो । पार्टी एकता मात्र भएन, उनको बरीयता पनि खोसियो । तत्कालीन एमालेको दोस्रो बरीयतामा रहेका खनाल नेकपा गठन हुँदा चौथो बरीयतामा पुगे । उनका लागि अभिशाप बन्यो पार्टी एकता । 

आफू नभएको वेलामा पार्टी एकता गरेको र आफ्नो बरीयता खोसिएकोमा नेता खनालले खुलेरै विरोध पनि गरे । नेकपा एमालेमा दोस्रो बरीयतामा रहेका खनाललाई उछिन्दै तत्कालीन एमालेमा उनीभन्दा पछाडि (तेस्रो) बरीयतामा रहेका नेता माधवकुमार नेपाल तेस्रो बरीयतामा आए । यस सन्दर्भमा खनालले नेकपाका अध्यक्ष केपी शर्मा ओलीको विरोध गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भने प्रशंसा गरेका थिए ।

नारायणकाजी श्रेष्ठ

तत्कालीन नेकपा माओवादीले तत्कालीन एकता केन्द्रसँग २०६५ सालमा पार्टी एकता गरेको थियो । एकता केन्द्रमा महामन्त्रीको जिम्मेवारीमा रहेका नेता नारायणकाजी श्रेष्ठ माओवादीसँग एकता गरेपछि प्रचण्ड, मोहन वैद्य र बाबुराम भट्टराईपछिको चौथो बरीयतामा रहेका थिए । 

श्रेष्ठ नेतृत्वको पार्टीसँगको एकतालाई अस्वीकार गर्दै वैद्य माओवादीबाट विभाजित हुन पुगे । वैद्यपछि भट्टराई पनि सो पार्टीबाट अलग्गिए । उनी अलगिएपछि प्रचण्डपछिको बरीयतामा रहँदै आएका नेता श्रेष्ठ एमाले र माओवादी केन्द्र एकतापछि महासचिवभन्दा पछाडिको बरीयतामा पुगेका छन् ।

पार्टी एकतापछि महासचिव पदको आशामा बसेका श्रेष्ठ यतिवेला पार्टीको प्रवक्तामा चित्त बुझाएर बसेका छन् । त्यसकारण उनलाई पार्टी एकतापछि छायामा परेका नेताको सूचीमा छन् ।

ईश्वर पोखरेल 

पूर्वएमाले महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि पार्टी एकतापछि छायामा परेका नेताहरूको सूचीमा परेका छन् । पूर्वएमालेका निर्वाचित महासचिव पोखरेलको महासचिव पद एकतापछि खोसियो । 

पार्टी एकता भइसकेपछिको ठूलो पार्टीको महासचिव बन्ने आशामा ईश्वर पोखरेल रहेको उनीनिकट एक नेता बताउँछन् । पार्टी एकता हुनुपूर्व उनले अध्यक्ष केपी ओलीसँग त्यसबारे लबिङ पनि गरेका थिए । तर, उनी महासचिव हुँदा तत्कालीन एमालेको उपहमासचिव रहेका विष्णु पौडेल एकतापछि बनेको ठूलो पार्टीको महासचिवको रूपमा उदाए । पौडेललाई ओलीनिकट नेताका रूपमा लिने गरिएको छ । 

पोखरेलले आफूलाई एकतापछि महासचिव नबनाएको विषयलाई कुनै पनि रूपमा उजागर गरेनन् । किनभने, उनलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्थिर भनिएको सरकारको उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारी दिएर साइड लगाइसकेका थिए । तर, उनी सरकारको अर्थमन्त्रीको रूपमा मन्त्रिपरिषद्मा छिर्न चाहन्थे । यतिवेला अड्कलबाजी नै लगाउन थालिएको छ– ‘ईश्वर पोखरेलको राजनीतिक भविष्य किनाराकृत हुँदै गएको त होइन ?’

भीम रावल

पूर्वएमाले उपाध्यक्ष भीम रावल दुई पार्टी एकताअघि प्रभावशाली नेताका रूपमा परिचित थिए । तर, पार्टी एकतापछि बनेको नौ सदस्यीय हाइकमान्डमा नै अटाएनन् रावल । तत्कालीन नेकपा एमालेको ९आँै महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर विजयी भएका नेता भए पनि पार्टी एकतापछि उनलाई किनारा लगाइएको छ । 

नौजनाको हाइकमान्ड सचिवालयमा उनी नपर्नु पार्टीभित्रको राजनीतिमा चासो राख्ने नेताका लागि ‘सरप्राइज’ नै बन्यो । 

हाल उनी नेकपाको स्थायी कमिटी सदस्य मात्र रहेका छन् । उनी स्थायी समितिमा पर्नुको पनि रोचक यथार्थ रहेको छ । पूर्वएमालेमा रहेका २६ जना स्थायी समिति सदस्य स्वतः परेका कारणले उनी नेकपाको स्थायी समिति सदस्यमा परेका थिए । पछिल्लो समय आफू अन्यायमा परेको भनेर रावलले पार्टी नेतृत्वसँगको असन्तुष्टि बाहिर प्रस्तुत गरिरहेका छन् । 

घनश्याम भुसाल

पूर्वएमालेमा हुँदा प्रभावशाली युवानेताका रूपमा चिनिन्थे, नेता घनश्याम भुसाल । एमालेका उपहमासचिव समेत रहेका भुसाल पार्टी एकतापछि जिम्मेवारी र पार्टीको कार्यशैलीबाट सन्तुष्ट छैनन् । यतिवेला उनी पार्टीको स्थायी समिति सदस्य मात्रै छन् । 

पूर्वएमालेको ९औँ महाधिवेशनबाट उपमहासचिवमा विजयी भएका भुसाल पार्टी एकतापछि सचिवालय सदस्यको आशमा रहेका थिए । तर, उनको आशा पनि निराशामा नै परिणत भयो । 

योगेश भट्टराई

पूर्वएमालेका नेता योगेश भट्टराई पछिल्लो समय युवा पुस्तामा निकै चर्चित नेतामध्येका हुन् । पूर्वएमालेको ९आँै महाधिवेशनमा सचिव बनेका भट्टराई यतिवेला नेकपाको स्थायी समिति सदस्यमा चित्त बुझाएर बसेका छन् ।

१७ असोजमा पार्टी एकता घोषणा भएपछि उनको चुनावी क्षेत्रमा भाषण गर्ने क्रममा अध्यक्ष ओलीले उनलाई जनताको माझमा नै मन्त्री बनाउने आश्वासन दिएका थिए । 

प्रधानमन्त्रीले गरेको उक्त भाषण अहिले वेलावेलामा सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । मन्त्री बन्ने आश्वासन पाएका भट्टराई यतिवेला स्थायी समिति सदस्यमा चित्त बुझाएर बस्न बाध्य छन् । 

पार्टीभित्रका आन्तरिक विवादको विषयमा खुलेर टिप्पणी गरेका कारण पनि उनलाई ओलीले बाइपास गर्न खोजेको केही नेता तथा कार्यकर्ताको अनुमान रहेको छ । पार्टीभित्रका कुरा बैठकमा औपचारिक रूपमा खरो शैलीमा प्रस्तुत गर्ने नेतामध्येका एक हुन्, भट्टराई ।

जनार्दन शर्मा ‘प्रभाकर’

गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पूर्वमाओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’लाई पनि पार्टी एकतापछि छायामा परेका नेताको सूचीमा राख्न सकिन्छ । शर्मा एकताका लागि कसरत गर्ने नेतामध्येका एक नेता हुन् ।

गृहमन्त्रीको जिम्मेवारी लिइसकेका उनी पार्टीको सचिवालय सदस्यमा अटाउनुपर्ने भन्दै एकताको केही महिनासम्म पार्टीभित्र दबाब चलेको थियो । पार्टी एकताको समयमा महासचिव विष्णु पौडेलको जत्तिकै महत्वपूर्ण भूमिका उनले पनि निर्वाह गरेका थिए । 

अष्टलक्ष्मी शाक्य

पञ्चायती व्यवस्थाको समयदेखि नै राजनीतिमा लागेकी अष्टलक्ष्मी शाक्य पूर्वएमालेकी उपाध्यक्ष हुन् । स्थानीय चुनावको समयमा काठमाडौंको मेयर बन्न पार्टीबाट आएको प्रस्ताव अस्वीकार गरेर चर्चामा रहेकी शाक्य पार्टी एकतापछि पनि कुनै महत्वपूर्ण जिम्मेवारीमा जम्न सकिनन् । 

प्रदेश र प्रतिनिधिसभाको चुनावपछि उनी प्रदेश ३ को मुख्यमन्त्री पाउने आशामा रहेकी थिइन् । तर, संसदीय दलको नेताको रूपमा डोरमणि पौडेल चुनिएर मुख्यमन्त्री पनि भए । पार्टीभित्रको गुटबन्दीका कारण आफू मुख्यमन्त्री बन्न नसकेको आरोप उनले अहिले पनि लगाउन छाडेकी छैनन् । 

एकताअघि एमालेमा जुन रूपमा उनी उदाएकी थिइन्, पार्टी एकतापछि भने जम्न सकेकी छैनन् । यतिवेला अध्यक्ष ओलीसँग शाक्य रुष्ट रहेकी छिन् ।
 
जगन्नाथ खतिवडा

पूर्वएमालेमा विद्यार्थी राजनीतिबाट उदाएका नेतामध्ये एक नाम हो– जगन्नाथ खतिवडा । उनी तत्कालीन एमालेको भ्रातृ संगठन अनेरास्ववियुका महासचिव पनि भइसकेका छन् । त्यति मात्र होइन, दुईपटक एमालेको केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य भइसकेका खतिवडा पछिल्लो समय पार्टी नेतृत्वप्रति त्यति सन्तुष्ट छैनन् । 

लामो समय निरन्तर पार्टीको काममा खटिएका खतिवडाले पछिल्लो समय उदयपुर १ मा उम्मेदवारी दिएर पनि फिर्ता लिए । खतिवडालाई सांसद बन्न नदिने नियतबाट नै एमाले र माओवादीको तत्कालीन गठबन्धनले माओवादीका तर्फबाट अर्काे उम्मेद्वार खडा गर्यो । जसको सिकार बन्न पुगे खतिवडा । चुनावअघि खतिवडा उदयपुरबाट उम्मेद्वार बन्ने आकलन धेरैको थियो । तर, पार्टीले माओवादीको उम्मेदवार पठाएपछि उनको सपना तुहियो ।

सांसद बन्न नपाएपछि प्रदेश १ को अध्यक्षको दाबेदार मानिएका थिए, उनी । तर, पार्टीले उनलाई प्रदेश १ को अध्यक्ष पनि बन्न दिएन । पछिल्लो समय उनी पार्टीले बनाएको विधान नै गलत नियतको रहेको अरोप लगाउँदै आएका छन् । स्थायी समितिका सम्पूर्ण अधिकार केन्द्रीय सचिवालयले लिएकोमा उनी रुष्ट बनेका छन् ।
 

  • प्रकाशित मिति : कात्तिक १३, २०७५ मंगलबार १७:३७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया