आईसीसी टि–२० विश्वकप
लगातार दोस्रो जितसँगै श्रीलंका सुपर १२ मा पुग्ने पहिलो टोली

युएई र ओमानमा जारी आईसीसी टि–२० विश्वकपमा श्रीलंकाले लगातार दोस्रो जित निकालेको छ ।

श्रीलंकाले पहिलो चरणको समूह ‘ए’अन्तर्गत बुधबार भएकोे आफ्नो दोस्रो खेलमा आयरल्याण्डलाई ७० रनले पराजित गरेको हो ।

१७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो ।

आयरल्यान्डका लागि कप्तान एन्डी बलब्रिनीले सर्वाधिक ४१ रन बनाए । कर्टिस क्याम्फरले २४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलंकाका महेश थिक्सानाले ३, लाहिरु कुमारा र चामिका करुनारत्नेले २÷२ तथा दुस्मान्था चामिरा र विनान्दु हसरंगाले १÷१ विकेट लिए । १ विकेट रन आउटका रुपमा प्राप्त भयो । 

यसअघि युएइको अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।



श्रीलंकाका बानिन्दु हसरंगाले सर्वाधिक ७१ रनको उत्कृष्ट पारी खेले । १५.२ ओभरमा मार्क अदिरले क्रेइग योङ्गबाट क्याच गराउनुअघि उनले ४७ बलमा १० चौका र १ छक्का प्रहार गरे । 

पाथुम निसान्काले ४७ बलमा ६ चौका र १ छक्कासहित ६१ रन बनाए । कप्तान दासुन शनकाले अविजित २१ रन जोडे ।



आयरल्यान्डका जोस लिटलले ४, मार्क अदिरले २ तथा पल स्ट्रर्लिङले १ विकेट लिए ।

यो जितसँगै सुपर १२ स्थान पक्का गरेको श्रीलंका २ खेलमा ४ अंक जोडेर समूह ‘ए’को शीर्ष स्थानमा कायम छ ।

२ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको आयरल्यान्ड पनि सुपर १२ मा पुग्ने सम्भावना जिवितै छ ।

यसअघि पहिलो खेलमा श्रीलंकाले नामिबिया तथा आयरल्यान्डले नेदरल्यान्डलाई समान ७ विकेटले पराजित गरेका थिए ।

पहिलो चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाले नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दा आयरल्यान्डले नामिबियाको सामना गर्नेछ ।  


 
 

  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार ७:२९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया