अभिनेत्री करिश्मा मानन्धरले फेरि सक्रिय राजनीति गर्ने भएकी छिन् । यसका लागि उनले नेकपा एमाले रोजेकी छिन् । यसअघि नयाँ शक्ति पार्टीमा रहेकी करिश्माले केही अघि नै आफूले पार्टी छोडेको बताएकी थिइन् ।
त्यसपछि उनी अध्ययनमा केन्द्रित भएकी थिइन् ।
एमालेकी राष्ट्रिय सभा सदस्य कोमल वलीसहित जितु नेपालसँग बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेकी करिश्माले अब नेकपा एमालेबाट राजनीति गर्ने भएकी हुन् ।
ओलीसँगको भेटमा पनि यस विषयमा उनीहरुबीच छलफल भएको थियो ।
‘सुरुमा त त्यहाँ एक अर्काको इम्प्रेसनको कुरा भयो,’ छलफलमा सहभागी कोमल वलीले फरकधारसँग भनिन्, ‘राजनीतिका कुरा भए, नेपाली फिल्मी क्षेत्रका कुरा भए । अध्यक्षज्यूले विभिन्न फिल्म हेरेको कुरा गर्नुभयो, आफ्ना अनुभव सुनाउनु भयो ।’
करिश्माले पनि यो भेटमा पछिल्लो समय नेपाली फिल्मी क्षेत्रमा देखिएका विविध समस्या र अवसरका विषयमा कुराकानी गरेकी थिइन् ।
थोरै फिल्म र धेरै राजनीतिको विषयमा कुराकानीपछि यही भेटमा केपी ओलीले करिश्मालाई फेरि पनि पढाइको विषयमा केन्द्रित गराएको वलीले जानकारी दिइन् ।
‘उहाँले पढ्नुपर्छ, पढ्नुलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्नुभयो,’ वलीले भनिन्, ‘अध्यक्षज्यूले पढाइ भनेको सर्टिफिकेटको मात्र नभएर अनौपचारिक पढाइ पनि आवश्यक भएको बताउनु भएको थियो ।’
छलफलमा ओलीले आफूले अहिले पनि फुर्सद मिल्दा किताबहरु पढ्ने गरेकाले करिश्मालाई फुर्सदमा कोर्सबुक मात्र होइन, अन्य पुस्तकहरु पनि पढ्न सुझाएका थिए ।
छलफलमा त्यसपछि राजनीतिको कुरा भएको थियो ।
‘पहिले मैले जुन पार्टी रोजेँ, त्यो मेरालागि कम्फर्टेबल भएन, मैले सोचेको जस्तो पार्टी भएन, अनि मैले छोडेँ,’ करिश्माले यो छलफलमा भनेकी थिइन् । यही सिलसिलामा करिश्माले आफूले फेरि सक्रिय राजनीतिमा आउने बारे सोचेको बताएकी थिइन् ।
भेटघाटमा सहभागी अर्का कलाकार जितु नेपाल पहिले देखि नै एमालेसँग निकट भएकाले करिश्मा पनि अब एमाले प्रवेश गर्ने सम्भावना बढेको बताइएको छ । तर, ओलीसँगको भेटघाटमा उनले यसबारे खुलेर कुरा चाहिँ गरिनन् ।
अर्कोतिर ८ कार्तिकमा झापामा केपी ओलीको उपस्थितिमा केही मानिसहरु नेकपा एमालेमा प्रवेश गर्दैछन् ।
‘सायद करिश्माजी पनि त्यही दिन झापामा पार्टीमा प्रवेश गर्नुहुनेछ,’ ओलीनिकट एक नेताले भने । तर, यस विषयमा छलफल नभएको भेटघाटमा सहभागी कोमल वलीले बताइन् ।
‘उहाँलाई सबैभन्दा सुहाउने र चाहिने पार्टी भनेकै नेकपा एमाले हो,’ कोमल वलीले भनिन्, ‘उहाँ झापाबाट नै एमालेमा प्रवेश गर्नेबारे कुनै कुरा त भएन । तर, उहाँ आउने निश्चित भएपछि पक्कै पनि उहाँलाई पार्टीमा स्वागत गर्न हामीले काठमाडौंमा नै पनि एउटा विशेष कार्यक्रम गर्न सक्छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।