सुनसरी–मोरङ औद्योगिक करिडोरका अधिकांश उद्योग डुबानमा, करोडौंको क्षति

बेमौसमी वर्षाका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा ठूलो क्षति भएको छ ।

करिडोरका उद्योगहरुमा पानी पस्दा करोडौको क्षति पुगेको छ । उद्योगलाई चाहिने कच्चा पदार्थ राखिएका गोदाममा पानी पस्दा कच्चा पादार्थ नस्ट भएको छ । यस्तै उत्पादित सामाग्रीमा समेत क्षति पुगेको छ । 

डुबान र बाढीका कारण उद्योगका मिल र मेसिनरीमा समेत क्षति पुगेको उद्योगीहरुले जनाएका छन् । 

बेमौसममा बाढी आएका कारण धेरै जसो उद्योगहरुले कच्चा पदार्थ बाहिरै राखेका थिए । यसले गर्दा पनि ठूलो क्षति पुगेको छ । 

दसैंका बेला भएकाले उत्पादन भएका सामाग्रीसमेत उचित तवरले भण्डारण नगरेका कारण समस्या भएको उद्योगहरुले बताएका छन् । 

सुनसरीको दुहबीस्थित अरिहन्त मल्टिफाइबर्समा २० देखि ३० करोड क्षति पुगेको कार्यकारी अधिकृत गोविन्द बजगाँईले बताए । 



उनका अनुसार उद्योगको गोदाम र मूल प्लान्टहरुमा स्थानीय टेङ्ग्रा खोलाको बाढी पसेको छ । 

बाढीका कारण प्लान्टमा रहेका मोटरहरु चेक गर्न र लेदो फाल्न अझै केही दिन लाग्ने बजगाँइले जानकारी दिए । 



क्लिनिङ र चेकिङ गर्न अझै एक साता लाग्ने भएकाले उद्योग सञ्चालन गर्न अझै एक साता लाग्ने उनको भनाई छ । 

करिडोरमा रहेको जस्तापाता उत्पादन गर्ने ठूलो उद्योग आरती स्ट्रिप्सको मूल प्लान्टमा बिहीबारसम्म पनि पानी जमेको छ । 

सबै मेसिनरीहरु हिलोमा डुबेका कारण करोडौं क्षति पुगेको उद्योग प्रशासनले जनाएको छ । 

देशकै ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्समासमेत बेमौसमी बाढीले ठूलो नोक्सानी पुर्‍याएको छ । उद्योगको गोदाममा बाढी पसेको छ । धागो उत्पादन गर्ने प्लान्टहरुमा समेत बाढी पस्दा मेसिनहरु हिलोमा डुबेका छन् । 

डुबान हुँदा मेसिनहरु सर्ट भएको हुनसक्ने भएकाले चेकिङ भइरहेको उद्योगका प्रबन्ध निर्देशक महेश पोखरेलले बताए । उनले क्षतिको आंकलन नै भइनसकेको बताए । 

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदिप मुररकाले सुनसरी मोरङ औद्योगिक करिडोरका अधिकांश उद्योगहरु डुबानमा परेको बताए ।

उनले उद्योग डुबेकाले सञ्चालन हुन अझै केही दिन लाग्ने बताए । 
 
ठूला र व्यवस्थित भनिएका उद्योगहरु अरिहन्त, रिलायन्स, आरती स्ट्रिप्स, हुलास वायर जस्ता ठूला उद्योग त डुबानमा परेको मुररकाले बताए ।

साना र मझौला उद्योगको त झन् समस्या भएको उद्योग संगठन मोरङले जनाएको छ ।
 
करिडोरमा साना ठूला र मझौला गरी १२ सय भन्दा बढी उद्योगहरु छन् । ती उद्योगमा पानी रोकिएको २४ घण्टा भन्दा बढी भएपनि सञ्चालन गर्न सक्ने अवस्था छैन । 

डुबानका कारण नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिड डुबान हुँदा करिडोरमा २ दिनदेखि विद्युत अवरुद्ध छ ।

  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १२:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया