माैसम बदलावका कारण कृषि बालीनालीमा परेकाे प्रभावबारे विवरण संकलन हुँदै

प्रदेश-२ सरकारले अविरल वर्षा तथा हावाको प्रभावबाट कृषि बालीनालीमा परेको प्रभावबारे विवरण संकलन भइरहेको जनाएको छ । 

बिहीबार प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्तिक १ र २ गते मौसममा भएको बदलावका कारण कृषि बालीनालीमा परेको नकारात्मक प्रभावप्रति मन्त्रालयको गम्भीर  ध्यानाकर्षण भएको जनाउँदै विवरण संकलनको कार्य भइरहेको जनाएको हो । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवले विवरण संकलन भएपश्चात प्रदेश सरकारले राहत घोषणा गर्ने जनाए । उनले भने,‘डाटा नै संकलन नगरी राहत घोषणा गर्न सकिँदैन । हामी क्षतिको यकिन विवरण संकलन गरिरहेका छौं । त्यसपछि सरकारले राहत घोषणा गर्छ ।’

उनले अविरल वर्षा तथा हावाको प्रभावबाट सम्पूर्ण प्रदेशवासीहरूमा आर्थिक तथा मानसिक तनावको अवस्था आएको बताउँदै सरकारले किसानहरूका लागि राहतको घोषणा चाँडै गर्ने विश्वास समेत दिलाए ।  

‘यस प्रदेशमा यो वर्ष करिव ४ लाख ३ हजार हेक्टरमा धान रोपाइँ भएको थियो । धानबाली भित्राउने बेलामा आएको अविरल वर्षाले किसानको मिहिनेत तथा लगानी खेर जाने हो कि डर आउनु स्वभाविक नै हो’, उनले भने, ‘हालसम्म प्राप्त सूचना अनुसार फाटफुट रूपमा कटानी भएको पाजा (पसही) खेतमा नै डुबेको, हावाको वेगका कारण लामो उचाइँ भएका जातहरू ढलेको बारे सूचनाहरू प्राप्त भइरहेको छ ।’

खेतमा फलेको तरकारीबालीमा नोक्सानको साथै दलहन र तेलहन बाली लगाउन बाधा पर्न सक्ने र अहिले विभिन्न तरकारीका बेर्नाहरू नर्सरीमा हुर्काउने समय भएकाले उक्त बेर्नाको ब्याडहरूमा पानी जमेको जानकारीमा आइरहेको मन्त्रालयले जनाएको छ । 



त्यसैगरी पशुपन्छीको सन्दर्भमा हालसम्म क्षतिको जानकारी प्राप्त नभएको तर मत्स्य पोखरीका डिलहरूमा फाटफुट क्षति पुगेको मन्त्री यादवले बताए । क्षतिको यथार्थ विवरण यकिन गर्न स्थानीय तहको ठूलो भूमिका रहेकाले उक्त कार्यमा प्रदेश सरकारलाई सहकार्य तथा सहयोग गर्न समेत मन्त्री यादवले अनुरोध गरे । 

यस विषयमा मन्त्रालयले मातहतका निकायहरूमा पत्राचार गरी क्षतिको अवस्था यकिन गर्ने कार्य भइरहेको जानकारी दिएको छ ।
 



  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १३:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया