हुण्डी कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै वीरगन्ज

नेपाली मुद्राको अवैध ओसारपसार (हुण्डी कारोबार) नियन्त्रणको प्रयास प्रभावकारी हुन नसक्दा वीरगञ्ज हुण्डी कारोबारको लागि ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ ।  
देशका विभिन्न ठाउँबाट दैनिकजसो नेपाली तथा भारतीय मुद्रा अवैध ओसारपसार गर्न वीरगञ्ज आउने गर्दछन् । 

पर्सा जिल्लामा हुण्डी, अवैध भारतीय नोट र नेपाली रुपैया कारोबारीलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि नतिजा सन्तोषजनक आउन सकेको छैन ।

पैसाको स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पठाउन सकिने भएकाले हुण्डी कारोबारमा आर्कषण बढेको जानकारहरु बताउँछन् । 

भारतसँगको खुल्ला सिमानाका कारण पर्सामा हुण्डी कारोवार नियन्त्रण गर्न चुनौति देखिएको पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनाल बताउँछन् ।

‘कतिपय व्यक्ति जानेर तथा कतिपय व्यक्ति नजानेर यसमा फस्ने गरेका छन् । अघिल्लो आर्थिक बर्षको तथ्याङ्कले हुण्डी कारोबारमा खासै कमी नआएको देखाउँछ । तथ्यांकले सिमावर्ती क्षेत्रमा हुण्डी कारोबारीहरूको सक्रियता बढेको देखाएको छ । सरकारी प्रतिवेदनले पछिल्ला केही वर्षहरुमा नेपालमा हुण्डी, अवैध भारतीय नोट र नेपाली रुपैया प्रयोगकर्ताहरूको संख्या डरलाग्दो तरिकाले बढिरहेको देखाएका छ,’ उनले भने । 

पर्साको अवस्था 



आर्थिक वर्ष (आव) २०७६/७७ मा पर्सा प्रहरीले हुण्डी कारोबार सम्बन्धि १६ वटा मुद्दा दर्ता गरेको थियो । हुण्डी कारोबारको आरोपमा २५ जनालाई पक्राउ गरेको थियो, जसमा १२ जना नेपाली र १३ जना भारतीय रहेका छन् । 

पक्राउ परेका हुण्डी कारोबारबाट २ करोड १७ लाख ९९ हजार पाँच सय बिस रुपैया प्रहरीले बरामद गरेको थियो । 



पर्सा प्रहरीले आव २०७७/०७८ को साउनमा एक नेपाली र एक भारतीय सहित दुईजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो । उनीहरुबाट ६ लाख १६ हजार ८५० रुपैयाँ प्रहरीले बरामद गरेको थियो । 

सोही वर्षको कात्तिकमा दुई नेपाली र एक भारतीयसहित तिन जनालाई पक्राउ गरी प्रहरीले मुद्दा दर्ता गरेको थियो । उनीहरुबाट प्रहरीले १९ लाख ९१ हजार रुपैयाँ नगद बरामद गरिएको थियो । 

मंसिरमा पक्राउ परेका एक जना नेपालीबाट प्रहरीले चार लाख रुपैया बरामद गरेको थियो । पुसमा दुई भारतीय लाई पक्राउ गरी प्रहरीले मुद्दा दर्ता गरेको थियो । उनीहरुको साथबाट प्रहरीले चार लाख रुपैयाँ बरामद गरेको थियो । 

माघमा पनि दुई भारतीय पक्राउ परेका थिए, जसबाट २ लाख ७४ हजार दुई सय बरामद गरेको थियो । फागुनमा प्रहरीले ४ भारतीयलाई पक्राउ गरी १७ लाख ८७ हजार ४४० रुपैयाँ बरामद गरी मुद्दा दर्ता गरेको थियो । 

चैत्र महिनामा ३ नेपाली हुण्डी कारोबारको आरोपमा पक्राउ परेका थिए । उनीहरुको साथबाट १६ लाख रुपैयाँ बरामद गरिएको थियो । बैशाख महिनामा दुई नेपाली र तीन भारतीय गरी पाँच जना हुण्डी कारोबारको आरोपमा पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले ९० लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो । 

जेठ महिनामा तिन नेपाली हुण्डी कारोवार गरेको आरोपमा पक्राउ परेका थिए । उनीहरुको साथबाट ५६ लाख ८० हजार रुपैयाँ प्रहरीले बरामद गरेको थियो । 

यस्तै आव २०७८÷७९ को भदौमा प्रहरीले हुण्डी कारोबारको आरोपमा ५ वटा मुद्दा दर्ता गरेको छ । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ६ नेपाली र एक भारतीय सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका हुण्डी कारोबारीबाट ६३ लाख १४ हजार ७२० रुपैयाँ बरामद गरेको छ । 

खुला सिमानाका कारण पर्सामा हुण्डी कारोबार नियन्त्रण गर्न चुनौतीपूर्ण भए पनि गोप्य सूचनाको आधारमा छापामारी महत्वपूर्ण सफलता हासिल गरेको पर्सा प्रहरीका प्रवक्ता समेत रहेका खनालले बताए । 

पर्सा जिल्लामा अझ वीरगन्जमा हुण्डी कारोबार फस्टाउँदै गएपछि यस्तो धन्दालाई निरुत्साहित गर्न प्रहरीले सादा पोशाकमा प्रहरीहरु परिचालन गर्दै आएको छ ।
हुण्डीको कारोवार गर्ने व्यक्तिहरु चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्दामा लागेको बुझाई प्रवक्ता खनालको छ । 

नेपालको खुल्ला सिमावर्ती क्षेत्र र भारतको विहार, रक्सौलमा खुलेआम भारतीय नोट र नेपाली रुपैयाँ साटासाट हुँदा त्यसको असर नेपाली बैंक तथा वित्तीय संस्थाहरुमा समेत परेको छ । 

अहिले हुण्डीको माध्यमबाट नेपालमा ठूलो रकम भित्रने गरेको छ । अझै पनि अनौपचारिक च्यानलबाट विदेशी मुद्रा अपचलन भइरहेको छ । हुण्डीबाट ठूलो परिमाणमा विदेशी मुद्रा बाहिर नै बस्दा देशलाई प्राप्त हुने विदेशी मुद्रा प्राप्त हुन सकेको छैन । 

हुण्डीलाई नियन्त्रण गर्न भन्सार मुल्याङ्कन ठिक गर्नुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता बताउँछन् । वास्तविक भन्सार मुल्याङ्कन नभएसम्म हुण्डीलाई नियन्त्रण गर्न समस्या हुने उनले जनाए । 

‘दैनिक पसलको कमाई पनि घर र बैंकसम्म लैजान समस्या भएको छ । खुल्ला सिमाका कारण हजारौ नेपालीहरु सिमावर्ती सहर रक्सौल, सिक्टा, भेलाही, आदापुरमा गई लाखौको समान खरिद गर्ने गरेका छन् । उनीहरुले प्राय नेपाली रुपैयाँले नै किनमेल गर्ने गरेका छन् । सिमावर्ती शहरमा जम्मा हुने लाखौ नेपाली रुपैयाँ भारतमा नचल्ने भएपछि पुनः त्यो रुपैया नेपालमै फर्केर आउने र त्यो बराबरको भारतीय रुपैयाँ बाहिर जाने गरेका छ,’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताले बताए ।  

भारतीय व्यापारीहरुले नेपाली ग्राहकबाट जम्मा भएको नेपाली रुपैयाँ नेपालमा ल्याउँदा त्यसलाई हुण्डी भन्ने गरिएको र कतिपय व्यापारी पक्राउ समेत परेको गुप्ताले सुनाए । 

उनी भन्छन्, ‘कि त नेपाल सरकारले नेपाली रुपैया भारतमा प्रतिबन्ध गर्नुपर्छ अन्यथा बोर्डरलाई सिल गर्नुपर्छ । दस हजार सम्मको किनबेचमा भन्सार छुटको अधिकार दिएको नेपाल सरकारले सिमावर्ती शहरका भारतीय व्यापारीले ल्याएको नेपाली रुपैयाँलाई हुण्डी भनी पक्राउ गर्न हुन्न ।’ 

सरकारले ऐन कानून संशोधन गरी भन्सारको मूल्याङ्कनमा सुधार ल्याए हुण्डी कारोवार स्वत नियन्त्रण हुने दावी उनको छ । पछिल्ला दिनहरुमा प्रहरीले व्यपार गर्न खल्तीमा राखिएको दुई चार लाख रूपैयाँलाई पनि हुण्डीको रकम हो भन्नी दुःख दिने गरेको उनले सुनाए । बिषय बस्तु नै नबुझि व्यापारीलाई हुण्डीको नाममा दुख दिने काम बढेको प्रति उनले चिन्ता व्यक्त गरे । 

  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १४:४७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया