ओलीले भनेजस्तै एमालेले चाहेर देउवा सरकार ढल्छ ?
संविधानका जानकार भन्छन् - कुनै कानुनी आधार देखिँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार (हिजो) सार्वजनिक कार्यक्रमबाट आफूहरूले चाहे एक हप्तामै सरकार ढालिदिन सक्ने उद्घोष गरे । पाँच वर्षे कार्यकाल पूरा नगरी कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको बागडोर जिम्मा लगाएर बालकोट गएका ओलीले ‘साँठगाँठ र गठबन्धन गर्ने हो भने हप्ता दिनमै सरकार ढालिदिनसक्ने’ स्पष्ट बताएका थिए । 

गत २८ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री भएका देउवाले संसदबाट विश्वासको मत लिइसकेका छन् । पाँच दलीय गठबन्धन गर्दै मन्त्रालय भागवण्डा समेत भइसकेको अवस्थामा ओलीले भनेजस्तै यो सरकार ढलिहाल्ने अवस्था छ त ? 

संविधानका जानकारहरू भने अहिले नै संवैधानिक र कानुनी रूपमा देउवा सरकार ढल्नसक्ने कुनै आधार नभएको दाबी गर्छन् । 

के भनेका थिए ओलीले ?  

बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्न पुगेका ओलीले बुधबार भनेका थिए, ‘अहिले पनि यो सरकार ढाल्दिऊ भन्ने हो भने धेरै त नभनौं, एक हप्ताभित्र यो सरकार जान्छ । एमालेले ढाल्दिऊ भन्ने हो भने । यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाल्दिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र । दिए सिद्धिने कुरा छ त्यहाँ । अरुले भन्दा हामी दिन सक्छौ नि ।’ 

सत्ता गठबन्धनमा लोभीपापीहरू रहेको भन्दै केही दिनेबित्तिकै ढल्ने ओलीको आशय थियो । 



आफूहरूको उद्देश्य सरकार बनाउने मात्र नभएको भन्दै ओलीले देश बनाउन सक्ने निश्चित भएपछि मात्र सरकारमा जाने ओलीको दाबी थियो । उनले भनेका छन्, ‘हामी सरकार बनाउने कुरा गरिराखेका छौं भन्दा देश बनाउनका लागि । देश बन्ने निश्चित गरेर मात्रै हामी सरकार बनाउँछौं ।’ 

एक घन्टाभन्दा बढी सम्बोधन गरेका ओलीले पार्टीभित्र माधव नेपाललाई ‘नो इन्ट्रि’देखि १० बुँदे कार्यान्वयन गर्न ट्याउँट्याउँ नगर्नसमेतका कडा अभिव्यक्ति दिएका थिए।  



बलिया छन् देउवा 

२८ असारमा सर्वोच्च अदालतबाट देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी भयो । सँगसँगै ओलीले दोस्रोपटक विघटन गरेको संसद पुर्नस्थापना भयो । ३ साउनमा बसेको संसदको पहिलो बैठकबाटै देउवाले विश्वासको मत लिने घोषणा गरे । 

जसमा नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएका थिए । प्रमुख विपक्षी एमालेका पनि २२ सांसदले पनि उनलाई नै मत दिए । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । देउवाको विपक्षमा ८३ मत खसको थियो भने पक्षमा १६५ जनाको मत खसेको थियो । राप्रपा तटस्थ बस्यो भने नेपाल मजदुर किसान पार्टी  मतदानमा सहभागी भएको थिएन । 

७ असारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि शेरबहादुर देउवा र केपी शर्मा ओलीले गरेको दाबी नपुगेको ठहर गरेपछि संसद भंग भएको थियो । तर देउवाले १४६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका देउवा सर्वोच्च अदालत गएका थिए । र, २८ असारमा अदालतले परमादेश जारी गर्दै देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो । 

७६(५) अनुसार प्रधानमन्त्री बनेका देउवाले विश्वासको मत नपाएको भए संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग हुन्थ्यो र मुलुक चुनावमा जान्थ्यो । तर, ओलीका सांसदहरूसहितकाले देउवालाई विश्वासको मत दिएपछि भने देउवा बलियो बनेर संसदको आगामी कार्यकालका लागि उभिएका छन् ।

एमालेले चाहे ढल्न सक्छ ? 

संविधानका जानकारहरू भने अहिले नै देउवा सरकार ढल्ने कुनै कानुनी र संवैधानिक आधार नभएको दाबी गर्छन् । अधिवक्ता टिकाराम भट्टराईका अनुसार कुनै पनि हालतमा अहिले देउवा सरकार ढल्न सक्ने अवस्था छैन । उनले फरकधारसँग भने, ‘अहिले नै देउवा सरकार ढल्नका लागि कुनै कानुनी र संवैधानिक आधार देखिँदैन ।’ 

साथै, उनले ओलीले बोलेको सार्वजनिक अभिव्यक्तिमाथि कुनै टिप्पणी नगर्ने बताए । 

उता, अर्का अधिवक्ता दिनेश त्रिपाठी पनि उही तर्क गर्छन् । अहिले कुनै आधारमा देउवा सरकार एमालेले ढाल्न नसक्ने विश्वास त्रिपाठीको छ ।  

फरकधारसँगको संक्षिप्त कुराकानीका क्रममा त्रिपाठी भन्छन्, ‘त्यो विलकुल बकवास कुरा हो । त्यसको संवैधानिक र कानुनी आधार केही पनि छैन । पहिलो कुरा त अहिले सरकार १६५ जनामा केही कमी आएको देखिँदैन । सरकार ढाल्नका लागि संख्या पनि पुग्दैन ।’ 

ओलीले सामान्य हेक्का पनि नराखी हाँस्यास्पद अभिव्यक्ति दिएको त्रिपाठीको बुझाइ छ । ‘सामान्य हेक्का पनि नराखि बोलेको जस्तो देखियो । यसको पछाडि कुनै कानुनी र संवैधानिक तर्क पनि छैन । राजनीतिक तर्क पनि छैन । यो विल्कुल हाँस्यास्पद अभिव्यक्ति हो’, उनले अगाडि भने, ‘यस्तो खालको अभिव्यक्तिले राजनीतिज्ञको विश्वसनीयता नै खतरामा पर्छ । उहाँलाई सामान्य कुराको हेक्का पनि छैन । आफूले बोलेको पछाडि कुनै आधार नै नखोजी ओलीले बोलेको जस्तो देखिन्छ ।’ 

ओलीको हावादारी गफ हो, उनले चाहेर सरकार ढल्दैन : डिला संग्रौला 

नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला ओलीको यो अभिव्यक्तिलाई ‘हावादारी गफ’ को संज्ञा दिन्छिन् । उनले फरकधारसँग भनिन्, ‘यो हावादारी गफ हो । उहाँ(ओली) को बानी नै छ नि त, फुकेर ढालिदिन्छु, अब सक्किसक्यो, लगायतका कुराहरु भनिरहनुहुन्छ नि उहाँ त !’ 

कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हो भनेर पहिल्यै भनिसकेको स्मरण गर्दै संग्रौलाले भनिन्, ‘कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भन्नुभएको थियो, यो हावादारी कुरा हो ।’ 

ओलीले ढालेर ढल्ने अवस्थामा सरकार नभएको उनको तर्क छ । उनले भनिन्, ‘ओलीले ढालेर ढल्ने स्थितिमा हाम्रो सरकार छैन ।’ 

यस्ता अभिव्यक्तिले कांग्रेसलाई भन्दापनि ओलीको विश्वसनीयता कमजोर हुने उनको भनाई छ । ‘आफूलाई भिड केन्द्रीत बनाउन बोल्ने उहाँको पहिलादेखिकै प्रवृत्ति हो । त्यसैको झल्कोस्वरूप यस्तो भनाइ आएको हुनसक्छ । कुनै तर्क छैन्’, उनले अन्तिममा भनिन् । 

  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १५:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया