नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको कम्युनिस्ट आन्दोलन दिशाहीन बनेको टिप्पणी गरेका छन् । बिहीबार कांग्रेस तनहुँको भिमाद नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले गत निर्वाचनमा कम्युनिस्ट पार्टीले ल्याएको दुईतिहाइ मत ‘रामछाया’ मात्रै भएको बताए ।
असत्यको जगमा उभिएका कारण कम्युनिस्ट पार्टीले प्राप्त गरेको सफलता असत्य सावित भएको उनले बताए ।
सिंगो कम्युनिस्ट आन्दोलनमा विकराल स्थिति सिर्जना भएको दाबी गर्दै पौडेलले भने, ‘त्यत्रो ठूलो बहुमत ल्याएको कम्युनिस्ट पार्टी आफैँमा चकनाचुर भएको छ । नेपालका कम्युनिस्टहरूको कुनै गन्तव्य छैन, कहाँ जाने हो ठेगान भएन ।’
जनता झुक्याएर शासनमा पुगेर केही समय सत्ताको झिलीमिली देखाए पनि त्यो त्यो रामछाया भएको उनको भनाइ छ ।
अधिनायकवादी शक्ति कम्युनिस्ट पार्टीहरु अस्तित्वविहीन हुँदै गइरहेको तर मख्ख हुने बेला नआएको भन्दै उनले सावधान बन्न कांग्रेसका नेता–कार्यकर्तालाई सुझाब दिए ।
आगामी निर्वाचनमा कांग्रेसले तनहुँमा मात्र नभई देशभर सर्वत्र विजयी प्राप्त गर्ने हैसियत बनाउनुपर्नेमा नेता पौडेलले जोड दिए ।
गत निर्वाचनमा तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले कतै पनि विजय प्राप्त गरेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।