प्रधानमन्त्रीको सुदूरपश्चिम भ्रमण : बाढीपहिरो पीडितलाई राहत प्याकेज ल्याउने आश्वासन

सुदूरपश्चिममा प्रदेशमा बाढीपहिरोले ठूलो मात्रामा धनजनको क्षति पुर्याएपछि प्रधानमन्त्री शेरबहादुर देउवालगायतको टोली निरीक्षण का लागि पहिरो प्रभावित क्षेत्रमा पुगेको छ । टोलीमा प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि सहभागी छन् । 

प्रधानमन्त्री देउवाले विभिन्न जिल्लामा पुगेर बाढीपहिरो पीडितका पक्षमा सरकारले प्याकेज ल्याउने बताएका छन् । बिहीबार बाढीपहिरो प्रभावित जिल्ला डोटी, बझाङ, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली पुगेर प्रधानमन्त्री देउवाले सबै ठाउँमा एउटै धारणा व्यक्त गरेका हुन् ।

गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने आश्वासन दिएका छन् । देउवाले अमरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो पीडितका बारेमा जानकारी लिएका थिए । 

बाढीपहिरो पीडितको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न पनि गृहजिल्लाका जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाले आग्रह गरे । प्रधानमन्त्री देउवाले पीडितहरूको व्यवस्थापन गर्न आवश्यक पर्ने बजेट संघीय सरकारले उपलब्ध गराउने आश्वासन पनि दिए । 

जनप्रतिनिधिसँग ब्रिफिङ लिएपछि उनी जिल्लाकै भित्री मधेसमा पर्ने जोगबुढाको अवस्था अवलोकन गर्न गएका थिए । 

बझाङमा उनले स्थानीय जनप्रतिनिधि र राजनीतिक दललाई पहिरोमा परेका नागरिकको उद्धार र राहतमा जोड दिन निर्देशन दिएका थिए । बझाङको बाढी प्रभावित क्षेत्र थलारा गाउँपालिका जाने कार्यतालिका भए पनि मौसमी खराबीले गर्दा प्रधानमन्त्री त्यहाँ जान सकेनन् ।



दिनभर पहाडी जिल्लाको निरीक्षणपछि साँझपख कञ्चनपुर पुगेका प्रधानमन्त्री देउवा नेतृत्वको टोलीले कञ्चनपुरका बाढी तथा डुबानबाट बढी प्रभावित क्षेत्रहरूको समेत स्थलगत निरीक्षण गर्यो । टोलीले कञ्चनपुरका ब्रह्मदेव, दोधाराचाँदनीलगायत स्थानको निरीक्षण गरेको हो ।

त्यस क्रममा प्रधानमन्त्री देउवाले बाढी तथा डुबानले पुर्याएको क्षति, उद्धार तथा राहत कार्य, पीडित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिए । प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणपछि काठमाडौँ फर्किएर यथाशीघ्र राहत तथा क्षतिपूर्तिको कार्य गरिने बताए ।
 
यस्तै, डोटी, बैतडी र कैलालीमा भएको भेटमा पनि प्रधानमन्त्री देउवाले राहत उद्धारमा लाग्न निर्देशन दिए । कञ्चनपुरपछि अहिले प्रदेशको अस्थायी मुकाम धनगढी पुगेका छन् । आज धनगढी नै प्रधानमन्त्री देउवा बस्नेछन् ।



आइतबारबाट परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा ३१ जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता छन् । यस्तै, बाढी–पहिरोमा परेर १६ जना घाइते भएको प्रहरी तथ्यांकमा उल्लेख छ । 

देउवाको भ्रमण टोलीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि छन् ।
 

  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १८:३७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया