कर्मचारीलाई गरिएको दुर्व्यवहारप्रति इन्जिनियर्स एसोसिएसनको भर्त्सना

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुख राजेश कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले भर्त्सना गरेको छ । 

राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कार्यालयमै गएर कुशवाहाको लुगा च्यात्ने, हातपात गर्ने, नगर परिक्रमा गराई दुर्व्यवहार गरेको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश २ ले भर्त्सना गरेको हो । 

देशमा कानुनी राज्य हुँदाहुँदै कानुन तथा वार्ताको माध्यमबाट कुनै समस्याको समाधान खोज्नुपर्नेमा उदण्डता र अराजकताको पराकाष्ठा नाघ्दै कानुन हातमा लिएर उच्छृंखल गतिविधि गरी राष्ट्रसेवक कर्मचारीमाथि गरिएको दुर्व्यवहारपूर्ण घटना कुनै पनि हालतमा क्षम्य हुन नसक्ने एसोसिएसनले जनाएको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष सिके राउतसहित घटनामा संलग्न व्यक्तिलाई तत्काल गिरफ्तार गरी कडाभन्दा कडा कारबाही गर्न एसोसिएसनले माग गरेको छ। 

पेसागत रूपमा इन्जिनियरसमेत रहेका जनमत पार्टीका प्रमुख राउतको अगुवाइम भएको यस कदमले इन्जिनिरिङ पेसाको गरिमा र मर्यादा हनन गरेकोले उनको दर्ता प्रमाणपत्रसमेत तत्काल खारेज गर्न नेपाल इन्जिनियरिङ परिषदसँग माग गरिएको छ। 

विभिन्न समय समयमा इन्जिनियरहरुमाथि हुने हातपात तथा दुर्व्यवहारका घटनाका दोषीमाथि कारबाही नभएकै कारण पटक–पटक यस्ता घटना दोहोरिने गरेको भन्दै यस घटनाको विरोधमा एेक्यबद्धता प्रकट गर्न सम्पूर्ण इन्जिनियर वर्गमा अपिल गरिएको छ । 



एसोसिएसनले उक्त घटनाको विरोधमा शुक्रबार बिहान १० बजेका लागि  संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय परिसर चापाचौक जनकपुरमा उपस्थितिका लागि आग्रहसमेत गरिएको छ । 

आफूहरूको मागलाई बेवास्ता गरिए क्रमबद्ध आन्दोलनका विभिन्न कदम चाल्न बाध्य हुने चेतावनी समेत एसोसिएसनले दिएको छ ।



  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार २०:८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया