बागमती प्रदेश मुख्यमन्त्री : दुई महिनाअघिसम्मका सहयात्री एक 'आउट', अर्को 'इन'काे तयारीमा

बिहीबार सुरु भएको बागमती प्रदेशको प्रदेशसभा कात्तिक १० गते सम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्ने प्रस्तावको प्रक्रिया सुरु भइसकेको छ । यससम्बन्धी छलफल १० गतेको बैठकमा नै हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् ।  

बिहीबार बसेको प्रदेशसभाको बैठकको सुरुमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेकी थिइन् । लगत्तै दलका नेताहरुले आफ्नो पार्टीको धारणा राखेका थिए । प्रमुख पार्टीका नेताहरुको धारणा सुनेपछि सभामुख सानुकुमार श्रेष्ठले संसद १० गतेसम्मका लागि सारेका हुन् । बिहीबारको बैठकमा प्रतिपक्ष गठबन्धनका नेताहरुले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई व्यंग्य मात्रै गरेनन्, उनको राजीनामाको पनि माग गरे । 

डोरमणिको कार्यकालभरि विरोध, अहिले प्रशंसा

बिहीबार दिउँसो १ बजे सुरु हुने भनिएको प्रदेशसभाको बैठक ४ बजे पछि मात्रै सुरु भएको थियो । बिहीबारको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रदेशसभाको बैठकमा  मुख्यमन्त्री शाक्यले २ महिनामा गरेका काम सुनाउँदै आफूलाई विश्वासको मत दिन आग्रह गरेकी थिइन् । प्रदेशसभाको बैठकमा बोल्दै उनले प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको स्थापनाकालमा संरचना निर्माण, नीति निर्माणलगायतको काममा महत्वपूर्ण काम गरेको फेहरिस्त सुनाइन् । तत्कालीन मुख्यमन्त्रीको कार्यकालभरि आलोचना गर्दै आएकी वर्तमान मुख्यमन्त्री शाक्यले अहिले आएर उनको प्रशंसा गर्दै सांसदहरु मुखामुख गर्दै हाँसिरहेका देखिन्थे । 

मुख्यमन्त्री शाक्यले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्र, सुशासन र वित्तीय सुशासनमा महत्वपूर्ण काम गरेको दाबी गरिन् । १३ वटै जिल्लामा पिसिआर र अक्सिजन प्लान्ट स्थापाना गरेर कोभिड १९ सँग लडिरहेको उनले बताइन् ।  प्रदेशसभाको बैठकमा उनले बजेट कार्यान्वयनको विषय पनि प्रस्तुत गरेकी थिइन् । 



माओवादी नेताको प्रश्न : गहलत्याउनैपर्ने हो ? 

बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले संसदमा एमालेले दम्भ देखाएको भन्दै गहलत्याउनैपर्ने हो ? भन्दै प्रश्न गरेका थिए । प्रदेशसभामा पनि केपी ओली प्रवृत्ति देखिएको भन्दै उनले विधिअनुसार नचलेर दादागिरी देखाएको आरोप लगाए । 



सरकारले विश्वासको मत लिनुपर्ने ठाउँ संसद नै छाड्ने धम्की दिनु कस्तो हो ? भन्दै उनले आगामी प्रदेश सरकारको नेतृत्व राजेन्द्र पाण्डेले गर्ने बताए । उनले गठबन्धनबाट मुख्यमन्त्री पाण्डे बन्ने औपचारिक जानकारी संसदलाई गराएका हुन् । 

नेकपा एमालेका मुख्य सचेतक दीपक निरौलाले प्रदेशसभाको बैठक सार्न दिएको पत्रबारे उनले चर्को विरोध गरे । नेकपा एमालेले प्रदेशसभाको अपमान गरेको उललेख गर्दै जम्कट्टेलले टसल र मुठभेडतर्फ नलगी मुख्यमन्त्री शाक्यले सहज ढंगले राजीनामा दिनुपर्ने बताए ।  राजीनामा नदिए जर्बजस्ती प्रदेश प्रमुखकोमा गएर बहुमत पुर्याइने उनले बताए ।  

ओलीले ल्याएको अध्यादेश गलत, हामीले ल्याएको सही : कांग्रेस

नेपाली कांग्रेसले केपी ओली प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश गलत भएको, तर कांग्रेस सरकारले ल्याएको अध्यादेश सही भएको दाबी गरेको छ । बागमती प्रदेश सभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले अहिलेको सरकारले ल्याएको गठबन्धन अनिवार्य र सही भएको बताए । उनले कांग्रेस गठबन्धनको संस्कारभित्र रहेको बताउँदै अब आउने निर्वाचनसम्म गठबन्धन रहने बताए । गठबन्धन सरकार बनाउन तयारी अवस्थामा रहेकोले मार्गप्रशस्त गरिदिन उनले मुख्यमन्त्रीलाई आग्रह गरेका छन् । कम्युनिस्टको दम्भ र हुइयाँ नटिकेको भन्दै उनले गठबन्धन सरकारले चुनाव गराएपछि मात्रै होस खुल्ने बताए । 

अष्टलक्ष्मी र मलाई भिडाउने केपी ओली हुन् : राजेन्द्र पाण्डे 

नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशमा गठबन्धनबाट आफू मुख्यमन्त्रीको एक्लो उम्मेद्वार भएको बताए । उनले आफूलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्ने नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपालाई धन्यवादसमेत दिए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई दुई महिनाअघि बोलेको प्रसंग स्मरण गराउँदै उनले भने, ‘आजको अवस्थामा म राजेन्द्र पाण्डे मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध उभिनुपर्ने दिन केपी ओलीकै कारणले आएको हो ।’ उनले थपे, ‘हिजो डोरमणि पौडेल र केपी ओलीविरुद्ध सँगै लड्यौँ, अहिले डोरमणि पौडेलले गरेको कामको फेहरिस्त सुनाउँदा अनौठो लागेको छ ।’   

बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी अष्टलक्ष्मी शाक्यको सत्ता एक साता थप लम्बिए पनि गठबन्धनबाट मुख्यमन्त्रीको टुंगो लागिसकेकाले शाक्य अब अर्को साता सरकारबाट बाहिरिने पक्का देखिएको छ । 

प्रदेश सरकारकी आर्थिक मामिला तथा योजनामन्त्री रचना खड्काले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा गइसकेकोले राजीनामा नदिई विश्वासको मत माग्ने बताएकी छिन् ।  

मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।  

प्रदेशसभाको समीकरणअनुसार शाक्य अल्पमतमा छिन् ।  हाल रहेका १ सय ९ प्रदेश सभा सदस्यमध्ये शाक्यलाई ४३ जना नेकपा एमालेका सांसदको मात्रै साथ छ । यता, गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका राजेन्द्र पाण्डेसँग भने नेकपा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, नेकपा (एकीकृत समाजवादी)को १३ र स्वतन्त्र (हाल जसपा)को १ जना प्रदेशसभा सदस्यको साथ रहेको छ । 

पाण्डे मुख्यमन्त्रीमा पक्का 

विपक्षी गठबन्धनको बिहीबार हेटौँडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको छ । मुख्यमन्त्रीमा गठबन्धनबाट कांग्रेस नेता इन्द्रबहादुर बानियाँ र पाण्डेबीच प्रतिस्पर्धा थियो । मुख्यमन्त्रीको विषयमा सहमतिका लागि कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत हेटौँडा आएका थिए ।  उनको उपस्थितिमा गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस)ले नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई समर्थनसहित हस्ताक्षर संकलनसमेत गरिसकेका छन् । 
सो प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ । 

  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार २०:५७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया