युएई र ओमानमा जारी आइसिसी पुरुष टि-२० विश्वकपमा स्कटल्यान्डले लगातार तेस्रो जित निकालेको छ ।
स्कटल्यान्डले पहिलो चरणको समूह ‘बी’अन्तर्गत बिहीबार भएकोे आफ्नो अन्तिम खेलमा आयोजक ओमानलाई ८ विकेटले पराजित गरेको हो ।
१२३ रनको सामान्य विजयी लक्ष्य स्कटल्यान्डले १७ ओभरमा २ विकेटको गुमाउँदै पूरा गर्याे ।
स्कटल्यान्डको जितमा कप्तान काइल कोट्जरले २८ बलमा २ चौका र ३ छक्कासहित ४१ रनकोे योगदान दिए । अविजित रहेका रिची बेरिंगटनले ३१ र म्याथ्यु क्रसले २६ रन बनाए । जर्ज मुन्सेले २० रन जोडे ।
ओमानका फैयाज बट र खवार अलीले १-१ विकेट लिए ।
त्यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले २० ओभरमा सबै विकेट गुमाउँदै १२२ बनाएको थियो ।
ओमानका ओपनर अकिब इलीयासले ३५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । कप्तान जिशान मक्सुदले ३४ र मोहम्मद नदीमले २५ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
स्कटल्यान्डका जोश डेभीले ३, सफ्यान शरिफ र माइकल लेस्कले २-२ विकेट लिए । मार्क वाटले १ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यो नतिजासँगै पहिलो चरणको समूह ‘बी’बाट स्कटल्यान्डले शतप्रतिशत जितका साथ ३ खेलमा ६ अंकका साथ शीर्ष स्थान तथा बंगलादेशले ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक जेडेर दोस्रो स्थानमा रहँदै सुपर १२ को यात्रा तय गरेका छन् ।
स्कटल्यान्ड सुपर १२ को समूह ‘बी’ तथा बंगलादेश समूह ‘ए’मा रहनेछन् ।
सुपर १२ को समूह ‘ए’मा अस्ट्रेलिया, इंग्ल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, बंगलादेश र पहिलो चरणको समूह ‘ए’को विजेता रहनेछन् ।
समूह ‘बी’मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड र पहिलो चरणको समूह ‘ए’को उपविजेता रहनेछन् ।
यो समूहबाट ओमान ३ खेलमा २ हार र १ जितसहित २ अंक जाेडेर तेस्रो स्थानमा तथा पहिलो पटक टि-२० विश्वकप खेलेको पपुवा न्युगिनी तीनै खेलमा पराजय बेहोर्दै अंकविहीन हुँदै पुछारमा रहेर बाहिरिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।