कर्णालीका बाढी-पहिरोका कारणले ८ जनाको मृत्यु भएको छ । धानबाली, पशु चौपायामा समेत क्षति भएको छ ।
चार दिनको अवधिमा बाढी र पहिरोका कारण ८ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका– ४ खर्पेल गाउँका ६ जना, जुम्लामा एक र कालिकोटमा एकजना रहेका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोका कारण जोखिममा रहेका ३ सय बढी घरपरिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भएको छ । कालिकोटको राम्नि बस्तीका साढे २ सय परिवारहरुलाई स्थानान्तरण गरिएको छ ।
कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–४ झालाका ७९ जनालाई शिवालय माध्यमिक विद्यालय झालामा स्थानान्तरण गरिएको छ ।
यस्तै दैलेखको रामघाट बजार डुबानमा परेको छ । आठबिस नगरपालिका—१ मा रहेको उक्त बजारमा कर्णाली नदी पसेको छ । प्रहरी चौकी पाल्तडाबाट खटिएको प्रहरी टोलीले स्थानीय वासिन्दाहरुको सहयोगमा २०/२५ घर दुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम गरिरहेको छ ।
कालिकोट जिल्लाको महावै गाउँपालिका– ७ राम्नी कोटवाडा गाउँमा रहेका ३१० घरधुरी मध्ये २५० पहिरोले बगाएको छ । सबै घरका बासिन्दाहरु नजिकै रहेको राम माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका छन् ।
राम माध्यमिक विद्यालयको भवन पनि जीर्ण अवस्थामा रहेको र वर्षासँगै विद्यालयका छानाहरू चुहिने गरेको स्थानीय चित्रसिंह गाउँलेले जानकारी दिए ।
‘विद्यालयमा बालबालिका, महिला, किशोर किशोरी, जेष्ठ नागरिकलगायत अन्य नागरिकको चिसो भुईँमा बस्नु पर्ने बाध्यता रहेको छ,’ उनले भने, ‘जिल्ला प्रहरी कार्यालय कालिकोट र रेडक्रस कालिकोटबाट हाल २० वटा पाल र १० वटा कम्बल राहत स्वरुप प्रदान गरिएको छ ।’
लगातारको वर्षासँगै आएको पहिरोले सोमबार राम्नी कोटवाडा गाउँका विष्णुप्रसाद अधिकारीकी १८ वर्षिया छोरी स्मृती अधिकारीले ज्यान गुमाएकी थिइन् ।
विद्यालयमा बसेका नागरिकलाई खान बस्नको समस्या भएको स्थानीय बेदप्रसाद काफ्लेले जानकारी दिए । ‘अहिले सयौं नागरिक विद्यालयको खुल्लाचौरमा बस्न बाध्य भएका छौं । विद्यालय पनि पहिरोले बगाउने हो कि भन्ने अझै त्रास रहेको छ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।