कहिले खोल्छन् सभामुखले संसदको ताल्चा?

दोस्रोपटक पुनःस्थापित संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक आगामी असोज ११ गते दिउँसो २ बजेका लागि आह्वान भएको छ । तर, यतिबेलासम्म बैठक सहज रूपमा चल्ने कुनै संकेत देखिएको छैन ।

२८ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आठाैँ अधिवेशनको पहिलो बैठक (३ साउन) मा विश्वासको मत लिएका थिए । आठाैँ अधिवेशनमा १० वटा बैठक बसेर अन्त्य भयो । नवौँ अधिवेशनको १६ वटा बैठक दसैँ अघिसम्म बस्यो । 

नवौँ अधिवेशन सुरु भएका दिनदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरिरहेको छ । पछिल्लो पटक २५ असोजमा बसेको बैठकमा एमालेकै नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक आह्वान गरेका छन् । 

नवौँ अधिवेशनका १६ वटै बैठकमा एमालेको नाराबाजी र सभामुखमाथिको प्रश्न निरन्तर तेर्सिरहेको छ । यद्यपि अर्को बैठकको मिति नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी दलसँग कुनै छलफलको प्रयास भने देखिएको छैन । 

कस्तो होला आगामी बैठक?

वडादसैँको फूलपाती (सप्तमी) सुरु हुनुभन्दा अघिल्लो दिन बसेको बैठकमा दसैँ, तिहार तथा छठपर्वको शुभकामनासहित सभामुख सापकोटाले अर्को बैठकको मिति तोकेका थिए । 



उनका अनुसार अर्को बैठक आगामी ९ कात्तिकका लागि भय भएको थियो । तर, प्रतिपक्षी दल एमालेको अनुरोधपछि बैठक ११ गतेसम्मका लागि सारिएको हो ।

यसबीचमा सभामुख सापकोटाले केही विद्येयक प्रतिपक्षी एमालेको अवरोधकाबीच पारित भएको घोषणा गरेका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश, विनियोजन विद्येयक–२०७८ लगायत विद्येयक पारित भएका हुन् ।



एमालेले अवरोध कायमै राखिरहँदा अबको बैठक कस्तो हुने भन्ने यकिन अहिलेसम्म हुन सकेको छैन । संसद् सचिवालय भने सरकारका बाँकी विद्येयक पास गर्ने गरी तयारीमा थालेको छ । 

एमालेको भूमिकामा नजर

राजनीतिक दलको विभाजनलाई सहज बनाउने गरी ल्याइएको अध्यादेशपछि सरकार र सभामुखसँग असन्तुष्ट बनेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्मा कसरी प्रस्तुत हुन्छ भन्नेबारे धेरैको चासो रहेको छ ।

एमालेले आफ्ना पार्टीबाट कारबाही भएका सांसदहरूको सूचना टाँस नगरेको भन्दै गम्भीर आपत्ति जनाउँदै आएको छ । सर्वोच्च अदालतले गत असार २८ गते दोस्रोपटक विघटन गरिएको प्रतिनिधिसभा पुनः स्थापनाको फैसला गरेपछि २९ दिन मात्रै चलेर संसद् अधिवेशन अन्त्य गरिएको थियो ।

उक्त अवधिमा संसद्मा पेस भएका कुनै पनि अध्यादेश पारित भएनन् । अन्तिम चरणमा रहेका विधेयकहरूमा पनि संसदमा छलफल हुन सकेका थिएनन् । नवौँ अधिवेशनमा भने सभामुख सापकोटाले पेलेरै अन्य विद्येयकहरू पारित गरेका थिए ।

कहिले खोल्छन् सभामुखले ताल्चा? 

प्रमुख प्रतिपक्षी दलको एकोहोरो विरोधकाबीच सभामुखले संसद् बैठक अघि बढाइरहेका छन् । अब यो ताल्चा खोलेर सहज रूपमा कहिले संसद् चल्छ भन्ने आम मानिसको चासो छ । 

संसदमा भएको अवरोध हटाउन औपचारिक र अनौपचारिक रूपमा पहल भइरहेको सभामुख सापकोटाले बताएका छन् । केही दिनअघि सिन्धुपाल्चोकको कुभिण्डेमा अयोजित एक कार्यक्रममा बोल्दै उनले बैठक अगावै संसद् सञ्चालन गर्न आवश्यक छलफलका लागि पुनः बैठकको आयोजना गरिने बताएका थिए । 

प्रतिनिधिसभालाई प्रभावकारी, गतिशील र जनमुखी बनाउने एक मात्र लक्ष्य रहेको उल्लेख गर्दै सभामुख सापकोटाले आफू त्यसैमा केन्द्रीत भएर काम गर्ने दृढता व्यक्त गरेका थिए । तर, अहिलेसम्म कुनै पनि बैठक आयोजना भएको छैन ।

  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १६:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया