उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा बागमती नगरपालिकाले लगातार दोस्रो जित दर्ता गरेको छ ।
बागमतीले एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको दोस्रो खेलमा गोदावरी नगरपालिकालाई ७–० ले पराजित गरेको हो । बागमतीको सहज जितमा रश्मीकुमारी घिसिङले ४, गिता राना, अनु राई र सदीपा भुलुङले एकएक गोल गरे ।
रश्मीले खेलको १०, १७, ३० र ६४औँ मिनेटमा गोल गर्दा गिताले ३८, अनुले ४१ र सदीपाले पेनाल्टीमर्फत ५२ औँ मिनेटमा गोल गरे ।
बागमतीको लगातार दोस्रो जित हात पार्दा गोदावरीले भने लगातार दोस्रो पराजय बेहोरेको छ । बागमतीले पहिलो खेलमा महालक्ष्मी नगरपालिकालाई ९–० ले हराउँदा गोदावरीले कन्काई नगरपालिकसँगको खेल १२–० ले गुमाएको थियो ।
छनोटअन्तर्गत शनिबार नै भएको पहिलो खेलमा कन्काइ नगरपालिकाले महलक्ष्मी नगरपालिकामाथि १९–० को शानदार जित हात पारेको छ ।
छनोट प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको फाइनल पुग्ने टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।