नेकपा (एमाले) ले आज देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बाढी, पहिरोका कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन आज गर्न थालिएको हो ।
‘करिब ६ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ,’ उनले भने, ‘हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।’
वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।
कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि ६ हजार ७४३ वडा रहेका छन् । उनले बाढी, पहिराका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने बताए ।
देशैभरिका वडा अधिवेशनको उद्घाटनको मन्तव्य पार्टी मुख्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप आज पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।