बेमौसमी झरीले कैलाली, कञ्चनपुरसहितका जिल्लामा धानबालीमा ठूलो क्षति पुगेको छ ।
काटेर भित्र्याउन लागिएको धान बाढीपहिरोका कारण खेतमै उम्रिएपछि किसानहरुलाई बीउ जोगाउन पनि मुस्किल परेको छ । किसानहरु भिजेको धानलाई जसोतसो भित्र्याईरहेका छन् ।
भित्र्याउन ठिक्क पारेको धान सखाप पारेपछि प्रकोपले अनिकालकै रूपलिने सम्भावना देखिएको छ । काटेको धान त अझ तहनहस भएको छ ।
असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्मको बेमौसमी वर्षाले अन्नबाली डुबाएको थियो । किसानका लागि ‘महामारीमा जिउ जोगाउनू, अनिकालमा बिउ जोगाउनू’ भन्ने भनाइ शिक्षाप्रद भएको छ ।
यसवर्ष किसानलाई बाढीमा डुबेको धानलाई बिउको रूपमा प्रयोग योग्य बनाउन कम चुनौती छैन । खेतमा पाँध हालेको धानलाई काम नलाग्ने गरी भिजाएपछि किसानहरु हरपल आकाशतिरै नजर लगाउँछन् ।
कृषि विज्ञका अनुसार भिजेको धान प्रयोगयोग्य बनाउन एक मात्रै अचुक विधि हो घाममा सुकाउनु ।
धान भिजिसकेपछि त्यसको गुणस्तर घट्न नदिनका लागि अहिले देखि नै अग्रसर हुनपर्ने सुदूरपश्चिम प्रदेश दिपायलका कृषि निर्देशक यज्ञराज जोशी बताउँछन् ।
निर्देशक जोशीले भिजेको धानको चामल टुट्ने, स्वाद नहुने हुँदा अहिलेदेखि नै धानको व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्नेमा सुुझाव दिए ।
सबैभन्दा पहिला खेतमा जमेको पानीलाई सम्भव भएसम्म निकास गर्नुपर्ने उनले सुझाए । त्यसपछि भिजेको धानलाई सुक्खा ठाउँमा लैजानुपर्ने उनले बताएका छन् ।
‘धानलाई धेरै तातो वा धेरै चिसो हुन नदिने, नत्र उम्रन सक्छ र बढी नोक्सान हुन जान्छ’, जोशीले भने, ‘सामान्य तापक्रम बनाइराख्नका लागि चलाइरहने, नकाटेको तर ढलेर डुबेको भए खेतबाट पानी तर्काउने । पानी तर्काउन ठाउँठाउँमा कुलेसो बनाउने र कुनै एक ठाउँमा खाडल खनी पानी जम्मा गराउने गर्नुपर्छ ।’
बीउको लागि लगाइएको धान भिजेको छ भने राम्रोसँग सुकाएर बीउबिजन प्रयोगशालामा उमारशक्ति परीक्षणको लागि पठाई बीउको लागि योग्य छ/छैन यकिन गर्नुपर्ने सुझाव दिएका छन् ।
खेतीपातीमा लामो अनुभव बटुलेका बुढापाकाहरूले यसपालीको बेमौसमी वर्षाले धान बालीलाई थ्रेसिङ गरिसकेपछि भण्डारण गर्ने बेला विशेष सावधानी अपनाउन सुझाव दिएका छन् ।
कैलारी गाउँपालिका–६ बेनौलीका ६० वर्षीय तेजराम डंगौरा थारुले भण्डारण गर्नुअघि कम्तिमा ३ घाम सुकाउनुपर्ने सुझाएका छन् ।
‘यसपाली पानीले प्रभावित धानलाई घाममा राम्रोसँग सुकाउनुस्, ताकि मुठीमा लिएर माथिबाट जमिनमा खसाल्दा खनखन आवाज आओस् । नसुकेसम्म भण्डारण नगर्नुस्’, उनले भने ।
सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुर जिल्ला अन्न उत्पादनको भण्डार हुन् । यहाँ १ लाख ८१ हजार हेक्टर जमिनमा धानखेती हुन्छ । कैलाली–कञ्चनपुर जिल्लामा मात्रै ६५ प्रतिशत बढी धान खेती हुन्छ ।
कैलालीमा ७० हजार हेक्टर र कञ्चनपुर जिल्लामा ४८ हेक्टरमा धान खेती हुँदै आएको सुदूरपश्चिम कृषि निर्देशनालयले जनाएको छ ।
कैलाली–कञ्चनपुर जिल्लामा मात्रै वार्षिक ४० लाख मेट्रिक टन धान उत्पादन हुन्छ । असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको परेको पानीले धानबालीमा यस पटक ५० प्रतिशत बढी क्षति भएको छ ।
दसैं सम्पन्न नहुँदै आएको बेमौसमी वर्षाले गर्दा पनि किसानको धानमा अझ बढी क्षति भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।