\
प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै छन् । यसअघि स्थगित बैठकमा सभामुखले आज दिउँसो प्रदेश १ मा मत विभाजन हुने जानकारी दिएका थिए ।
तर, आचार्यले आज विश्वासको मत पाउने सम्भावना निकै कम छ ।
प्रदेशका बहुमत प्रदेश सभा सदस्य उनको विपक्षमा छन् ।
९३ सदस्यीय प्रदेश सभामा अहिले ९२ जना सांसद रहेका छन् । प्रदेशमा बहुमत ल्याउनका लागि ४७ जना प्रदेश सभा सदस्यको साथ चाहिन्छ । तर, अहिले सत्तारुढ नेकपा एमालेसँग ४१ जना मात्र सांसद छन् ।
यसअघि नेकपा एकीकृत समाजवादीका १० जना एमाले नै रहँदा उनीहरुको नामसमेत समावेश गरेर भीम आचार्यले ठूलो दलको नेता भएकाले मुख्यमन्त्री भएका थिए ।
१० जनाले एमाले छाडेपछि मुख्यमन्त्री आचार्यका लागि समर्थन गर्ने सांसदको संख्या ४१ मा सिमित भएको छ ।
सरकारको विपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक लिम्बुवान राष्ट्रिय मन्चले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने भएका छन् ।
उनीहरुले यो गठबन्धनबाट राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् ।
प्रदेश सभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र मन्चका एक जना सांसद छन् । राप्रपाका एक सांसदले अहिलेसम्म आफू कता लाग्ने भन्ने जनाकारी दिएकी छैनन् ।
विपक्षी गठबन्धनका यी मत संख्या जोड्दा ५० पुग्छ । त्यसैले विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई आज मुख्यमन्त्री बनाउँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।