\
कांग्रेसले प्रदेश-१ मा पनि सरकारको नेतृत्व गर्न पाउनु पर्ने माग अघि सारेको छ ।
बागमती प्रदेशमा कांग्रेस र समाजवादीले आधाआधा कार्यकाल बाँडेर सरकारको नेतृत्व गर्ने सहमति भएको तर प्रदेश-१ मा भने एकलौटी समाजवादीलाई दिने भनिएपछि कांग्रेस प्रदेशले केन्द्रसँग प्रश्न गरेको छ ।
छलछाम गरेर प्रदेश-१ मा भने समाजवादीलाई मात्रै सरकारको नेतृत्व गर्न दिन खोजेको भन्दै विरोध भएको एक नेताले बताए ।
‘न औपचारिक पत्र आएको छ, न केही । मुखको भरमा नेतृत्व दिनुपर्छ भनेकाले हामीले मानेनौं’, एक नेताले भने ।
पार्टीभित्र नै कुरा नमिलेका कारण प्रदेशसभाको आजको बैठक स्थगित गर्न माग राख्दै कांग्रेसले संसद सचिवालयमा निवेदन दर्ता गराएको छ ।
एक दिनका लागि बैठक स्थगित गर्न माग गर्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले निवेदन दिएका हुन् ।
प्रदेश सचिवालयका सचिव गोपाल पराजुलीले बैठक एक दिनका लागि स्थागित गर्न माग राख्दै निवेदन परेको बताए ।
प्रदेश-१ मा कोइराला–पौडेल समूहका राजिव कोइराला संसदीय दलको नेता छन् । उनलाई कुनै पनि हालतमा मुख्यमन्त्री बन्नबाट रोक्न यसअघि नै कांग्रेसको संस्थापन पक्ष लागेको भन्दै विरोध भएको थियो ।
कांग्रेस प्रदेश-१ संसदीय दलका नेता राजिव कोइरालाले पनि केन्द्रको निर्देशनअनुसार आफू मुख्मन्त्रीको लाइनबाट पछि हटेको बताउँदै आएका थिए ।
तर, संसदीय दलको बैठकमा भने कांग्रेस सरकारको नेतृत्व लिनबाट पछि हट्न नहुने भन्दै सांसदहरूले दबाब दिएका थिए ।
‘बागमती प्रदेशमा आधाआधा सरकारको नेतृत्व गर्दा हुने तर प्रदेश-१ मा कांग्रेसले पूरै कार्यकाल किन समाजवादीलाई छाड्नुपर्ने ?’, एक नेताले भने, ‘हामी केन्द्रले गरेको छलछाम र धोकाको प्रतिकार गर्छौं ।’
उनले बाहिर आएजस्तो फ्लाेर क्रस गरेर भीम आचार्यलाई मतदान गर्नेभन्दा आफ्नै नेतृत्वमा सरकार बनाएको हेर्न चाहेकाे बताए ।
प्रदेश-१ मा संस्थापन इतरको प्रभाव बलियो रहेको छ । संसदीय दलका नेता र सचेतक संस्थापन इतरका छन् । उपनेता भने संस्थापन पक्षका छन् ।
यसअघि राजिव कोइरालालाई संसदीय दलको नेताबाट हटाएर हिमाल कार्कीलाई दलको नेता बनाउने आन्तरिक तयारी समेत भएको थियो । तर सम्भव नभएपछि संस्थापन पक्ष पछि हटेको थियो ।
मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।