महोत्तरीको एक वडामा ४ वर्षपछि पुनः मतगणना हुँदै

महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि आज मतगणना हुन लागेको छ । 

जिल्लाको मनरा सिस्वा नगरपालिका–१० मा वडाध्यक्ष पदका लागि पुनः मतगणना गर्ने उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्षपश्चात् सदर गरेपछि मतगणना हुन लागेको हो । 

अदालतको ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोर्‍याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । 

०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा मनरा सिस्वा नगरपालिकामा ८ गते नतिजा प्रकाशित गरियो । राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीले समान २६७ मत ल्याए । दुवैजनाको मत बराबर भएपछि गोलाप्रथाबाट अरुण चौधरी निर्वाचित भए ।

निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिएका थिए । सोही मुद्दामा उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दियो ।

उच्च अदालतको यस्तो आदेशपछि चौधरी सर्वोच्चसम्म पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदियो । 



त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन । अन्ततः दोहोर्‍याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । 

मनरा सिस्वा नगरपालिका–१० को वडाध्यक्ष पदमा ९ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए ।



  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १२:१९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया