पर्यटनमन्त्रीको निर्देशनपछि सुदूरपश्चिममा वायुसेवा निगमको उडान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडानको लागि निर्देशन दिएसँगै वायुसेवा निगमले उडान भर्ने भएको छ ।  

निगमको जहाजले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको हो । 

बेमौसमी वर्षासँगै आएको बाढी पहिरोले त्यहाँका पहाडि जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकलाई सहजरुपमा सेवा दिने उद्देश्यले वायुसेवा निगमका जहाज सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले मन्त्रीको निर्देशनपछि बझाङ, बाजुरा र डोटीमा निगमले कैलालीको धनगढीबाट नियमितरुपमा हवाइ सेवा सञ्चालन गर्ने तयारी गरेको बताए ।

उनका अनुसार बाजुरामा जहाज सञ्चालन थियो । अब मन्त्रीको निर्देशनपछि बझाङ, बाजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुनेछ ।

बाढी, पहिराले गरेको क्षतिका बारेमा निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुगेका मन्त्री आलेलाई त्यहाँका नागरिकले बाढी, पहिराले बाटाघाटा र सडक अवरुद्ध हुँदा समस्या भएको र जहाज सञ्चालनका लागि आग्रह गरेपछि उनले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका हुन् ।



मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि कैलालीको धनगढी विमानस्थलबाट जहाज चलाउनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सहुलियत भाडा दर कायम गरी हवाइ उडान गर्ने योजना रहेको वायुसेवा निगमको कार्यालयले जनाएको छ । मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले आइतबारदेखि धनगढी–काठमाडौं पनि उडान गर्ने भएको छ ।



यसैबीच मन्त्री आलेले आजै कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलकोसमेत निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ । विमानस्थलको निरीक्षण गर्दै मन्त्री आलेले गेटा विमानस्थललाई राष्ट्रियस्तरको विमानस्थलमा विस्तार गर्नुपर्ने बताएका थिए ।

कुल ८३ बिघा क्षेत्रफल रहेको विमानस्थललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन बजेट विनियोजन गर्नेसमेत मन्त्री आलेले प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १२:२६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया