डब्लुडब्लुएफको लिभिङ प्लानेट रिपोर्ट : डरलाग्दो दरमा जैविक विविधता गुमाउँदै पृथ्वी

पछिल्ला दशकमा विश्वभर वन्यजन्तुको संख्यामा भारी गिरावट आएको विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले जनाएको छ । 

‘विस्फोटक मानवीय उपभोग’ले प्राकृतिक सन्तुलन नै खतरामा पार्न सक्ने डब्लुडब्लुएफको चिन्ता छ । 

डब्लुडब्लुएफको एक प्रतिवेदनले सन् १९७० देखि २०१४ सम्ममा ढाड भएका जनावरहरूको संख्या ६० प्रतिशतले घटेको देखाएको छ । 

‘पृथ्वीले मास एक्स्टिंसनका वेला मात्र देखिने दरमा जैविक विविधता गुमाइरहेको छ,’ डब्लुडब्लुएफको लिभिङ प्लानेट रिपोर्टमा उल्लेख छ । 

विश्वका नीति निर्माताहरूलाई दिगो विकासका नयाँ लक्षहरू निर्धारण गर्नसमेत रिपोर्टले आह्वान गरेको छ । 

दुई–दुई वर्षमा प्रकाशन हुने डब्लुडब्लुएफको लिभिङ प्लानेट रिपोर्टले विश्वभरको वन्यजन्तुको अवस्था प्रस्तुत गर्दछ । 



सन् २०१८ को रिपोर्टले विश्वको एकचौथाइ भू–भाग मात्र मानवीय क्रियाकलापको प्रभावबाट मुक्त रहेको देखाउँछ । र, यो अनुपात सन् २०५० सम्म दशांशमा झर्ने प्रक्षेपण गर्दछ । 

यसरी मानवीय अतिक्रमण बढ्नुमा मूलतः बढ्दै गएको खाद्यान्नको उत्पादन तथा ऊर्जा, जमिन र पानीको मागलाई कारणका रूपमा देखाइएको छ ।



रिपोर्टका अनुसार पछिल्लो दशकमा रिफरेस्टेसन कार्यक्रमको व्यापकतासँगै केही क्षेत्रमा वनजंगलको विनाशमा कमी आएको छ । तथापि, विश्वमै सबैभन्दा धेरै जैविक विविधता बोकेको ‘ट्रोपिकल फरेस्ट’को विनाश भने बढ्दो छ । 

दक्षिण तथा मध्य अमेरिका जनावरहरूको विनाशमा सबैभन्दा अगाडि छन् । यी क्षेत्रमा १९७० को तुलनामा ढाड भएका जनावरको संख्यामा ८९ प्रतिशतले कमी आएको छ । 

समुद्री जीवहरूप्रतिको खतरा बढ्दै गएको छ । प्लाास्टिकजन्य प्रदूषणले समुद्रका भित्री भागहरूलाई समेत गाँजेको छ । विश्वकै सबैभन्दा गहिरो भाग मानिने प्रशान्त महासागरको भित्री विन्दु ‘मेरियाना ट्रेन्च’समेत प्लास्टिकजन्य प्रदूषणको सिकार भइसकेको छ । 

ताल, पोखरी, नदी तथा सिमसारमा रहने फ्रेसवाटर स्पेसिसको संख्या १९७० यता ८३ प्रतिशतले घटेको छ । 

यो भयावह स्थितिलाई नियन्त्रणमा लिन डब्लुडब्लुएफले ‘प्रकृति र मानिसका लागि नयाँ विश्वव्यापी सम्झौता’को आह्वान गरेको छ । 

मानव र प्रकृतिलाई सँगसँगै अघि बढाउन हरेक तहका निर्णयकर्ताहरूले सही राजनीतिक, आर्थिक र उपभोग्य नीतिको छनोट गर्नुपर्नेमा रिपोर्टले जोड दिएको छ ।
 

  • प्रकाशित मिति : कात्तिक १४, २०७५ बुधबार १९:१३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया