लोकसेवा आयोगका अध्यक्ष भन्छन् – जुनसुकै हालतमा विज्ञापन खोल्छौँ

काठमाडौं– लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जुनसुकै अवस्थामा एक महिनाभित्र लाेकसेवाकाे विज्ञापन खुलाउने बताएका छन् । दसैँअघि सरकारले दुई महिनाका लागि कर्मचारीको विज्ञापन प्रक्रिया रोक्ने निर्णय गरेको थियो ।

‘अहिलेसम्म लोकसेवा आयोगको जनविश्वास बलियो छ। युवाको आशाको केन्द्र लोकसेवा हुँदै आएको छ र यो कायम रहनेछ,’ बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मैनालीले भने, ‘हामीले विज्ञापन नरोक्न धेरै कोसिस गरेका हौँ। तर, सरकारले नमानेपछि दुई महिना पछि सारेका छौँ । यो सधैँ रोक्न सकिँदैन। त्यसलाई ख्याल गर्न जरुरी छ।’ 

लोकसेवा आयोग परीक्षा र निष्पक्षतामा दक्षिण एसियामा पहिलो रहेको अध्यक्ष मैनालीको दाबी छ । पञ्चायत, लोकतन्त्र र गणतन्त्रमा समेत आयोग विश्वासको पात्रको रहिरहेको उनले तर्क गरे । 

कार्यक्रममा अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोगलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । संघीयताअनुसार लोकसेवा आयोगको पनि पुनःसंरचना हुनुपर्ने, तर यसको विश्वासमा कुनै आँच नआउने गरी विस्तार गर्नुपर्ने उनले बताए । 

अहिलेसम्म संघीय लोकसेवा आयोगको कानुन बन्न नसक्नु नै प्रदेश र केन्द्रबीच कर्मचारी विवादको मूल कारण भएको मैनालीको ठहर छ । 

अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोग नबनेसम्म संघीय आयोगले विज्ञापन गर्न पाउनुपर्ने माग गरे। 



कर्मचारी भर्ना प्रक्रिया भूकम्पका बेलासमेत नरोकिएको भन्दै मैनालीले कुनै पनि कारण कर्मचारी भर्नाको विज्ञापन नसर्ने ठोकुवा गरे। 

‘निजामतिमा ५ लाख ७५ हजार आवेदक भाग लिने तयारीमा भएकाले रोक्न हुँदैन । यत्रो मानिसको भावनामा आँच पुर्याउने काम गर्नुहुँदैन । २ महिना सार्न आपत्ति हैन । तर दुई महिनाभित्र आउँछ भन्ने ग्यारेन्टी छैन,’ अध्यक्ष मैनालीले भने । 
 
सामायोजन ऐन आउँदा भर्ना प्रक्रिया रोक्न नमिल्ने बताउँदै मैनालीले कार्यतालिकासमेत सार्वजनिक गरिसकेको आयोगको विवशता बुझिदन आग्रह गरे । सरकारबाट माग नआएका कारण विज्ञापन गर्न नसकेको र कार्यतालिकासमेत प्रभावित हुन पुगेको उनले बताए। 



२००८ सालमा गठन भएको आयोगमा यसअघि यस्तो समस्या नआएको बताउँदै उनले अधिकृत र उच्च तहका कर्मचारीको बढुवा नरोकी नयाँ प्रवेश रोक्न खोज्नु गलत भएको उल्लेख गरे ।

  • प्रकाशित मिति : कात्तिक १४, २०७५ बुधबार २०:१३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया