आयल निगम निरन्तर घाटामा

नेपाल आयल निगमको घाटा निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय मूल्यअनुसार मूल्य समायोजन हुन नसक्दा निगमले निरन्तर घाटा व्यहोर्नुपरेको हो ।
  
पछिल्लो पटक निगमले गत भदौ ७ मा इन्धनको मूल्य समायोजन गरेको थियो । त्यसपछि स्वचालित मूल्य प्रणालीअनुसार समायोजन हुन नसक्दा हरेक महिना निगम घाटामा जाने गरेको छ। 
 
निगमले यही कात्तिक ४ गते सोमबार गरेको अनुमानअनुसार आगामी दुई सातामा २ अर्ब २२ करोड ६ लाख घाटा हुने प्रक्षेपण गरेकाे छ । यसमध्ये पेट्रोलमा ४० करोड ५३ लाख, डिजेलमा १ अर्ब ९ करोड र खाना पकाउने एलपिजी ग्यासमा ७५ करोड ७० लाख रुपैयाँ घाटा हुने प्रक्षेपण छ । मट्टितेलमा भने २ करोड ३३ लाख र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ ९५ लाख नाफा हुने अनुमान छ ।
 
योसहित चालू आर्थिक वर्षमा मात्रै निगमको घाटा ८ अर्ब ७९ करोड २३ लाख पुगेको छ । इण्डियन आयल निगमले तोकेको मूल्यअनुसार घटबढ हुने इन्धनको मूल्यअनुसार चालू आर्थिक वर्ष सुरु भएकै दिन साउन १ गते तोकिएको मूल्यअनुसार १ अर्ब १२ करोड ६४ लाख रुपैयाँ घाटा भएको थियो । 

त्यसपछि साउन १७ गते १ अर्ब २२ करोड ३९ लाख रुपैयाँ, साउनको ३२ गते ९६ करोड ९ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण भएको थियो । भदौ १ गते ८१ करोड ३ लाख, भदौ १६ गते  १ अर्ब ५ करोड २ लाख, असोज १ गते १ अर्ब ५० करोड ७३ लाख र असोज १५ गते २ अर्ब २२ करोड ६ लाख रुपैयाँ नोक्सान भएको थियो ।

यसअघि गत आर्थिक वर्ष २०७७/७८ मा निगमलाई जम्मा ४ अर्ब घाटा भएको भएको थियो । आयल निगमको लामो इतिहासमा सुरुवाती वर्षहरू निगम निरन्तर घाटामा थियो । त्यसपछि आर्थिक वर्ष २०७१/०७२ पछि निगम निरन्तर नाफामा थियो । निगमले आर्थिक वर्ष २०७१/७२ मा १५ अर्ब ४ करोड नाफा गरेको गरेको थियो ।

त्यसपछिको आर्थिक वर्ष २०७२/७३ मा १९ अर्ब ३६ करोड रुपैयाँ कमाएको थियो । यसैगरी आर्थिक वर्ष २०७३/०७४ मा ९ अर्ब ४५ करोड, आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ५८ करोड र आर्थिक वर्ष २०७५/७६ मा ८ अर्ब ६५ करोड रुपैयाँ कमाएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पनि निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १५:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया