प्रधानमन्त्रीकाे प्रदेश १ भ्रमण औपचारिकतामा सीमित, प्रधानमन्त्री भेट्न नपाउँदा निरास भए पीडित

बाढी–पहिरोले पुर्याएको क्षतिबारे निरीक्षण गर्न प्रदेश १ आएका प्रधानमन्त्री शेरबहादुर देउवा सुरक्षा अधिकारीको ब्रिफिङ सुनेर फर्किएका छन् । प्रदेश १ मा बाढी पहिरोले पुर्याएको क्षतिको स्थलगत अनुगमन र निरीक्षण गर्न आएका प्रधानमन्त्री सुरुमा हेलिकोप्टरमा विराटनगर विमानस्थलमा उत्रिए ।

त्यहाँ उनले चढेको हेलिकोप्टरमा आवश्यक इन्धन हालिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको प्रदेश कार्यालय बराह बाहिनीमा पुगेका प्रधानमन्त्री देउवाले सुनसरी मोरङका प्रमुख जिल्ला अधिकारीबाट बाढीले पुर्याएको क्षतिको बारेमा जानकारी लिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र मोरङमा प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल र सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बाढी–पहिरोले पुर्याएको क्षतिबारेमा जानकारी गराएका थिए ।

सो अवसरमा प्रदेशका आन्तरिक मामिला मन्त्रालय प्रदेश १ का सचिव कालीप्रसाद पराजुलीले प्रदेशमा बाढी–पहिरो र डुबानले पुर्याएको क्षतिबारेमा जानकारी गराए ।कार्यक्रममा प्रदेश १ का मुख्य सचिव डा. रामप्रसाद घिमिरेले तीन तहको सरकारको समन्वयमा बाढीपीडितको उद्धार राहत र पुनर्स्थापना लागि भइरहेको कामका बारेमा जानकारी गराए ।

मुख्य सचिव घिमिरेका अनुसार बाढी–पहिरो र डुबानले पुर्याएको क्षतिबारेमा जानकारी लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवादले उद्धार र राहतमा लाग्न निर्देशन दिएका छन् । उनले तीनै तहको सरकारको समन्वयमा काम गर्न र तत्काल क्षतिको लगत संकलन गरी बुझाउन समेत निर्देशन दिएको सचिव घिमिरेले जानकारी दिए ।

सशस्त्र प्रहरीको बराह बाहिनीमा भएको कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । बाढीका कारण ११ जनाको मृत्यु भएको सुनसरीमा प्रधानमन्त्री देउवालाई बाढी पीडितले भेट्न पाएनन् । कार्यक्रममा सुनसरीका विभिन्न स्थानीय तहका प्रमुखको समेत उपस्थिति थियो ।

कार्यक्रममा सुनसरीको धरान उपमहानगरपालिकका मेयर तिलक राई, दुहवी नगरपालिकाका मेयर वेद गच्छदार, कोसी गाउँपालिकाका अध्यक्ष ऐउब अन्सारी र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले मागपत्र बुझाएका छन् ।



कोसी गाउँपालिकाका प्रमुख ऐउब अन्सारीले सुनसरी खोलाले बर्सेनि पुर्याउने क्षति रोक्न दीर्घकालीन समाधान खोज्न माग गर्दै मागपत्र बुझाएको बताए । उनका अनसार डुबान कटान रोक्न दीर्घकालीन उपाय नहुँदा हरेक साल जन–धनको क्षति भएकाले यो समस्या समाधान गर्न माग गरिएको बताए ।

दुहवी नगरका मेयर वेद गच्छदारले बुढी र टेंग्रा खोलाको दीर्घकालीन समस्या समाधान गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको बताए  । धरान उपमहानगरले भने सर्दु र खर्दु खोला नियन्त्रण गर्न माग गर्दै माग पत्र बुझाएको छ ।



सुनसरीको पकलीबाट सीधै हेलिकप्टरमा पाँचथरको राँके पुगेका प्रधानमन्त्रीले स्थानीय पालिकाका प्रमुख र दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरेका छन् । ​राँकेस्थित जलसिंह माविमा भएको कार्यक्रममा देउवालाई पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल र इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले पहिरोले पुर्याएको क्षतिको बारेमा जानकारी गराएका थिए ।

पाँचथरमा प्रदेश १ मा सबैभन्दा बढी धनजनको क्षति भएको थियो । प्रधानमन्त्री आउने सुनेपछि कार्यक्रमस्थलमा पहिरोपीडितसमेत गएका थिए । तर, प्रधानमन्त्रीले कसैलाई पनि भेटेनन् । सुरक्षा प्रमुखको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले स्थानीयलाई सम्बोधन गर्दै सरकारले प्रकोपको लगत संकलन भएपछि राहत प्याकेज ल्याउने बताए । राहतको प्याकेज ल्याउने तयारी भइरहेको भन्दै प्रधानमन्त्रीले सरकार जनताको पक्षमा रहेको दाबी गरे ।

  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १७:३३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया