ओली र देउवाको एकैदिनको इन्ट्रीले चर्चामा प्रदेश १

प्रदेश नम्बर १ मा आइतबार दिनभरजस्तो राजनीतिक सरगर्मी बढ्यो । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको एकैदिनको प्रवेशले सो प्रदेशको राजनीतिक माहोल तातेको हो । 

केही दिनदेखि बाढीपीडितको अवस्था निरीक्षण गर्न देशदौडाहमा रहेका प्रधानमन्त्री देउवा आइतबार बिहानै हेलिकोप्टरमा विराटनगर विमानस्थल अवतरण गरे । त्यस्तै, सोही प्रदेशमा ३ दिने कार्यक्रम तय गरेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि हवाईमार्ग हुँदै सीधै झापाको भद्रपुर पुगे । 

उता, १ नम्बर प्रदेशको संसदीय राजनीतिमा ठूलै उतारचढाव भइरहेको थियो । आज दिउँसो १२ बजे मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यक्रम थियो । तर, सत्ता गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रले बैठक सार्न निवेदन दिएपछि बैठक एक साता लम्बियो । अन्ततः एक साताका लागि मुख्यमन्त्री आचार्यको सत्ता समय लम्बिएको छ ।
 
देउवा किन पुगे, के गरे ? 

केही दिनअघि आएको बाढी र पहिरोबाट प्रभावित भेट्न भन्दै राजधानी छाडेका प्रधानमन्त्री देउवा आइतबार बिहानै प्रदेश १ पुगे । 

बाढीबाट सबैभन्दा बढी किसान समस्यामा परेका छन् । मुखमा आएको बाली बाढीले बगाएपछि अलपत्र परेका प्रदेश १ का वासिन्दा प्रधानमन्त्री आउने भनेपछि केही आशामा थिए । तर, प्रधानमन्त्री देउवाले खास पीडितलाई नभेटी सुरक्षा निकायलगायतको ब्रिफिङ सुनेर फर्किए । 
 
१ नम्बर प्रदेशमा पुगेका प्रधानमन्त्री देउवा त्यहाँका खास पीडित नभेटी केहीबेरमै फर्किएकपछि त्यहाँका जनताहरु निरास भएका थिए । हेलिकोप्टरमा विमानस्थल ओर्लिएका प्रधानमन्त्री देउवा हेलिकोप्टरमा आवश्यक इन्धन हाल्न लगाएर प्रमुख जिल्ला अधिकारीबाट पीडितको अवस्थाबारे जानकारी लिनतर्फ थाले ।

केहीबेर त्यहाँ बुझेर निस्किएका देउवा हेलिकोप्टरबाट अन्य केही जिल्लाहरुको निरीक्षण गरे । उनले ऋण लिएर भए पनि पीडितलाई राहत उपलब्ध गराउने वाचा गरेर फर्किएका छन् । 



ओलीको आफ्नै शैली, आफ्नै कार्यक्रम !

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीका लागि प्रदेश १ विशेष हो । किनभने ओलीले प्रतिनिधित्व गरेको झापा जिल्ला यही प्रदेशमा छ । 



यति मात्र होइन, ओलीका विश्वासपात्र सुवास नेम्वाङ, शेरधन राईजस्ता नेताहरुको राजनीतिक भविष्य जोडिएको यो प्रदेश ओलीका लागि विशेष नै रहन्छ । 

३ दिनको कार्यतालिका बोकेर १ नम्बर प्रदेश झरेका ओली आइतबार मध्याह्न विराटनगर विमानस्थलमा ओर्लिए । 

उनीसँगै माओवादी छाडेर एमाले प्रवेश गरेका नेता लेखराज भट्ट पनि साथमा थिए । ओलीका विश्वास पात्र नेम्वाङ भने ओली पुग्नुअघि नै विराटनगर एयरपोर्टमा पुगिसकेका थिए ।
 
विमानस्थलमा स्वागत ग्रहण गरेर ओली सोझै पृथ्वीनगरस्थित आफ्नो बा बस्ने घरमा पुगे । झण्डै १ घन्टा आफ्नो घरमा बिताएका ओलीसँग त्यहाँ निकैबेर फोटोसुट भयो ।

पछिल्लो समय चुनावी सभालाई झल्को दिनेगरी सभा गर्दै आएको एमालेले आज पनि बिर्तामोडमा पार्टी प्रवेश कार्यक्रम राखेको थियो । जहाँ चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित झण्डै ५ सयले पार्टी प्रवेश गरेका थिए । 

ओलीपनि बासँग बिदा भएर त्यहाँबाट सोझै बिर्तामोडमा आयोजना गरिएको सो कार्यक्रममा गए । उनी आज दिनभर सोही कार्यक्रममा रहे । 

अन्य दिन अरुको सुन्नभन्दा आफ्नो सुनाउन माहिर ओलीले आज भने दिनभर अरुका कुरा बढी सुने । उनले कार्यक्रमको अन्त्यतिर आधा घन्टा मात्र भाषण गरेका थिए ।
 
हास्यकलाकार राजा राजेन्द्र पोख्रेल, कलाकार विल्सनविक्रम राईलगायतको प्रस्तुतिदेखि व्यवसायी प्रसार्इं र विश्वासपात्र नेम्वाङसम्मका भाषण सुनेरै ओलीले आजको दिन कार्यक्रमस्थलमा बिताए । 

मुख्यमन्त्रीमा के प्रभाव पर्न सक्छ ? 

यतिबेला बागमती र प्रदेश १ को मुख्यमन्त्री पद कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्येयमा सत्ता गठबन्धन छ । 

प्रदेश १ मा विश्वासको मतको काम भइरहँदा ओली र देउवाले प्रदेश १ मै केन्द्रित भएर कार्यक्रम राख्नुको राजनीतिक अर्थ रहेको कतिपयको बुुझाइ छ । 

केही महिनाअघि मात्र मुख्यमन्त्री भएका आचार्यलाई विस्थापित गराएपछि को मुख्यमन्त्री हुने भन्ने यकिन अझै हुन सकेको छैन । 

चुनावी तयारीमा लागिसकेको एमालेले यतिबेला आफू अल्पमतमा परिसकेकोमा स्पष्ट भइसकेको छ । विश्वासको मत नपाउनेबित्तिकै कांग्रेस वा माओवादीमध्येले मुख्यमन्त्री पद पाउनेछ ।

दुई दलभित्र यसबारे सहमति जुट्न नसक्दा यो विवाद १ हप्तालाई सरेको छ । केही दिन प्रदेश १ मै रहने ओलीको मनसाय र देउवाको उपस्थितिले संसदीय राजनीतिलाई पनि प्रभाव पारेको विश्लेषण प्रदेश १ का नेताले गर्न थालेका छन् । 

  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार २२:२४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया