टि-२० विश्वकपमा पाकिस्तानले शानदार सुरुवात गरेको छ । उसले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गरी विजयी सुरुवात गरेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा विना कुनै विकेट पुरा गर्याे । जितसँगै पाकिस्तानले केही कीर्तिमान पनि बनाएकाे छ ।
पाकिस्तानको तर्फबाट भारतविरुद्ध टि-२० मा सर्वाधिक साझेदारी
भारतविरुद्ध ओपनर बाबर आजम र मोहम्मद रजिवानले १५२ रनको साझेदारी गरेका थिए । यो खेलमा रिजवानले ७९ र आजमले ६८ रनको पारी खेले ।
यो पाकिस्तानको तर्फबाट टि-२० अन्तर्राष्ट्रियमा भारतविरुद्ध कुनै पनि विकेटका लागि भएको सर्वाधिक रनको साझेदारी हो ।
यसअघि सन् २०१२ मा मोहम्मद हाफिज र शोयब मलिकले भारत विरुद्ध चौथो विकेटका लागि गरेको १०६ रनको साझेदारी सबैभन्दा ठूलो थियो ।
विश्वकपमा भारतमाथि पकिस्तानको पहिलो जित
पाकिस्तानले विश्वकपको २९ वर्षे इतिहासमा भारतमाथि पहिलो जित हात पारेको छ । यी दुईले पहिल्लोपटक १९९२ को विश्वकपमा एक अर्काको सामना गरेका थिए । त्यसयता भारत अपराजित थियो तर यो सिलसिला आइतबार तोडिएको छ ।
यसअघि एक दिवसीय र टि-२० मा गरी भारत र पाकिस्तानले १३ खेलमा एका अर्काको सामना गर्दा सबै खेल भारतले आफ्नो पक्षमा पारेको थियो ।
पाकिस्तान विना कुनै विकेट गुमाउँदै सवैभन्दा ठूलो लक्ष्य पछ्याउने टोली
भारतमाथिको जितसँगै पाकिस्तान विना कुनै विकेट गुमाउँदै सबैभन्दा ठुलो लक्ष्य पछ्याउने टोली बनेको छ ।
योभन्दाअघि यही विश्वकपको पहिलो चरणमा ओमानले पपुवा न्युगिनीविरुद्ध विना कुनै विकेट १३० रनको लक्ष्य पछ्याएर यो कीर्तिमान कायम गरेको थियो ।
सम्रगमा भने टि-२० विश्वकपमा ४ टोलीले १० विकेटको जित हात परेका छन् । यी दुई बाहेक सन् २००७ मा अस्ट्रेलियाले श्रीलंका र २०१२ मा दक्षिण अफ्रिकाले जिम्बावेमाथि १० विकेटको जित हात पारेका थिए ।
विराट कोहली टि-२० विश्वकपमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी
भारतका लागि कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्कासहित ५७ रनको अर्धशतकिय पारी खेले ।
योसँगै कोहली टि-२० विश्वकपमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । यो उनको विश्वकपमा १० औँ अर्धशतक हो ।
कोहलीले वेस्ट इन्डिजका क्रिस गेललाई पछि पारेका हुन् । गेलले टि-२० विश्वकपमा ९ अर्धशतक प्रहार गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।