घट्दो सेयर बजारबारे विज्ञ अतितलाल श्रेष्ठको सुझाव: सेयरबजार घट्दैमा नआत्तिनुस्
अहिलेको इन्डेक्सको सेरोफेरो नैै घट्दो बजारको अन्तिम बिन्दु हुन सक्छ

पछिल्लो समय बजारमा सेयरको मूल्य घटेर लगानीकर्ता चिन्तित छन् । बैंकमा तरलताको समस्या भएको कारणले गर्दा नै अहिलेको समस्या देखिएको हो भन्ने मेरो बुझाइ हो । 

जबसम्म लगानीकर्तासँग राम्रोे वैकल्पिक लगानी गर्ने बाटो रहिरहन्छ जस्तै यहाँ सबै लगानीकर्ताहरूमा १० देखि १२ प्रतिशतसम्म फिक्स्ड डिपोजिटको रूपमा वैकल्पिक लगानीको अवसर रहिरहन्छ, बजार त्यस्तै अवस्थामा मात्र बढ्छ जब लगानीकर्ताले सेयर बजारमा लगानी गरेर प्रतिफल नै १० प्रतिशत वा सोभन्दा बढीको हाराहारीमा पाउन सक्छन् । 

तर, बुझ्नुपर्ने कुरा त के छ भने १२ महिनामा मुद्दतीमा ११ प्रतिशत नै आए तापनि यता बैंकको १४ महिनाभित्रमा दुई वर्षकै प्रतिफल आउँछ जुन कतिपय बैंकहरूको स्क्रिप्टमा ११ प्रतिशतभन्दा बढीको प्रतिफल हो । 

यदि बजारमा पहिलेजस्तै ९ः१०५ ब्याजदरमा ऋण पाउने हो भने अहिलेको इन्डेक्स लगभग १४५० को हाराहारीमा हुन्थ्यो, अर्थात् हरेक सेयरको भाउ अहिलेको भाउभन्दा लगभग १० देखि २० प्रतिशत माथि नै हुन्थ्यो ।

अहिले बजार बैंकहरूको पहिलो त्रैमासिक वित्तीय विवरणको पर्खाइमा रहेको छ । यदि पहिलो त्रैमासिक वित्तीय विवरणमा लगानीकर्ताले आउँदो वर्ष लगानीको कम्तीमा १० प्रतिशत प्रतिफल पाउने प्रक्षेपण गर्न सक्दछ भने यो घट्दो बजारको न्यूनतम बिन्दु नै यही अहिलेको इन्डेक्सको सेरोफेरो हुने प्रबल सम्भावना देख्छु ।

बजारलाई प्राविधि विश्लेषणको नजरबाट हेर्दा पनि १२१८, १२०८, ११९० लगायतका धेरै बलिया सपोर्ट लेबलहरू छन् । पहिलो त्रैमासिकको वित्तीय विवरण लगानीकर्ताले सोचेको जस्तै आएको खण्डमा अहिलेको इन्डेक्सको सेरोफेरो नै बजारको तल्लो बिन्दु हुनेछ । वर्तमान बजारको इन्डेक्स ११९० अंकभन्दा तल झर्दैन । यस्तै, माथिल्लो सीमा भनेको १३५० अंकसम्म हुन सक्छ । 



अहिलेको १२१५ इन्डेक्सलाई आधार मान्ने हो भने लगानीकर्ताले रिक्स लिने भनेको २५ अंकसम्म मात्र हुन आउछ । यदि बजार विश्लेषण गरेअनुरूप हुने हो भने १३५० इन्डेक्स पुगे १३० अंकभन्दा धेरै फाइदा हुन सक्छ । यहाँ Risk-To-Reward २५ अंक रिस्क १३० अंक रिवार्ड, approx. 1:5 जति छ । हो, यसरी लगानीकर्ताले Risk-To-Reward Ratioलाई ध्यानमा राखेर लगानी गर्न सिक्नुपर्छ । सामान्यता रिस्क रिवार्ड १ः२ सम्मलाई राम्रो रिस्क रिवार्ड रेसिओ मान्न सकिन्छ ।

हाम्रो संस्कार नै छ– सेयर बजार कसरी चल्छ, कसरी लगानी गर्नुपर्छ भन्ने जानकारी राखिँदैन, सबैजना छिटोभन्दा छिटो सेयर बजारबाट धनी हुन लालायित हुन्छन् । अन्ततः हल्लाकै पछाडि लागिरहेका हुन्छन् । सेयरबजारलाई असर गर्ने तत्वहरू केके हुन्, कस्ता कुराले गर्दा सेयर मूल्यलाई प्रभाव पार्छ र कस्ता सेयरमा लगानी गर्नुपर्छ भनेर अध्ययन गर्नु हरेक लगानीकर्ताको धर्म हो । 



सेयरको प्रविधिक विश्लेषण गरेर बजार कता जाँदै छ भन्ने कुरा थाहा पाउन सकिन्छ । आधारभूत विश्लेषणले लगानीकर्तालाई भएभरका कम्पनीमध्ये कुन राम्रा र कुन नराम्रा कम्पनी हुन भन्ने कुराको ज्ञान दिन्छ भने प्रविधिक विश्लेषणले कुनै कम्पनको अहिले किन्ने समय हो कि बेच्ने समय हो भन्ने कुराको ज्ञान दिन्छ । यहाँको बजारमा त कुनै एक जनाले हचुवाको भरमा गरको हल्लाले पनि ठूलो प्रभाव पारिरहेको छ । 

लगानीकर्ताले कुनै पनि कुराको विश्लेषण नै नगर्ने बानी भएर पनि यस्तो समस्या भएको हो । सेयरसम्बन्धी जानकारी अनुभवले पनि दिन्छ, तर त्यो अनुभव बटुल्न सेयरबजारबाट ठूलो घाटा खाएरै सिक्नुपर्छ भन्ने जरुरी छैन । विवेकी लगानीकर्ता बन्नुहोस् । 

समग्र बजार बटम आउट हुने फेज चलिरहेको बेलामा लगानीकर्ताले सूक्ष्म अध्ययन गरेर भ्यालु इन्भेस्टमेन्ट गर्न सुरु गर्ने सल्लाह दिन्छु । हरेक त्यस्तो कम्पनी जुन नेटर्वथ नजिक आएको छ, जसले न्यूनतममा १० प्रतिशत ग्रोथ गरेको छ, जसको पिइजी रेसियो १ भन्दा कम छ, जसको पिबिभिपिई २२.५ भन्दा कम छ, जसको बजार मूल्यले मूलभूत मूल्यलाई छोएको छ, यी सबै कम्पनीहरू भ्यालु इन्भेस्टमेन्टअन्तर्गत पर्छन् । यस्ता कम्पनीमा पोर्टफोलियो विविधीकरण अर्थात् सबै क्षेत्र छुने गरी यस्ता कम्पनीमा सिस्टमेटिक इनभेस्टमेन्ट प्लानिङ (आइएसपी) गर्नु नै अहिलेको बजारमा उत्तम रणनीति हुन सक्छ ।

उदाहरणका लागि तपार्इंसँग लगानीयोग्य रकम १२ लाख छ भने तीन महिनाको प्लानिङ गरेर भ्यालु इन्भेस्टमेन्टअन्र्तगत पर्ने क्याटगोरीमा सबै सेक्टर छुने गरी हरेक महिना चार लाखको सेयर किन्दै जाने हो । अब कुन सेयर किन्ने भन्ने प्रश्नको उत्तर सूक्ष्म आधारभूत विश्लेषण, प्राविधिक विश्लेषण, फ्लोर सिट एनलाइसिस आदिबाट गर्न सकिन्छ । अहिलेको झर्दो मार्केटमा कुनै लगानीकर्ताले यसरी सुझबुझपूर्ण निर्णय लिएर पोर्टफोलियो विविधीकरणको साथमा सिस्टमेटिक प्लानिङ गर्दछ भने ती लगानीकर्ताले बियर मार्केटको अन्त्यसम्म राम्रो भोल्युमको स्टक जम्मा पार्न सक्छन् र बुल साइकल चलेको बेलामा यस्तै विश्लेषण गरेर धेरै राम्रो फाइदामा सेयर बेच्न सक्छ । आखिर सेयर बजारमा कार्यान्वयन गर्नुपर्ने रणनीति पनि यही नै हो । 

(सेयर विश्लेषक श्रेष्ठसँगको कुराकानीमा आधारित)

  • प्रकाशित मिति : कात्तिक १५, २०७५ बिहीबार ११:५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया