गोरखकाली टायर : चर्चा पटकपटक, तर बढेन पुनः सञ्चालनको काम

स्वदेशी लगानी, स्वदेशी उत्पादन र उद्योगका विषयमा प्रत्येक नयाँ सरकारले चासोसँगै चर्चामा ल्याउने गरेका छन् । नयाँ सरकारले बन्द भएका यस्ता स्वदेशी उत्पादन र उद्योगहरूलाई पुनः सञ्चालन गर्नुपर्ने जोडदार रूपमा उठाउँछन् । 

सम्बन्धित क्षेत्रका नेता तथा सांसदहरूले पनि विभिन्न सार्वजनिक कार्यक्रममा स्वदेशी उद्योग खुल्नुपर्ने र बन्द भएकालाई पुनः सञ्चालन गर्नुपर्ने विषयलाई बुलन्द रूपमा उठाउँछन् ।  

जसले स्थानीय तहमा नयाँ तरंग गराउँछ । तर, त्यो चर्चा केही समयपछि आफैँ सेलाउने परम्परा छ । यस्तै, चर्चा हुँदै सेलाउँदै गरेको उद्योग हो– गोरखकाली रबर उद्योग । 

लामो समयदेखि ठप्प रहेको गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्नेबारे गोरखाका जनप्रतिनिधिले मात्रै होइन गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले समेत पटकपटक उठाउँदै आएका छन् । उनले केही समयअघि एक औपचारिक कार्यक्रममा बन्द भएको गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि केन्द्रीय सकारको ध्यानाकर्षण गरेका थिए । 

‘संघीय सरकारले गोरखकाली रबर उद्योग सञ्चालन गर्न प्रदेश सरकारलाई जिम्मेवारी दिन्छ भने हामी सञ्चालन गर्न तयार छौँ,’ मन्त्री बरालले भनेका थिए । उद्योग सञ्चालनका लागि चर्चा गर्ने अनि पुनः सञ्चालन गर्न कुनै काम नगर्ने यस्ता प्रवृति अन्त्य हुनुपर्ने उनको सुझाव थियो । प्रदेश सरकारलाई स्वामित्व दिने हो भने गोरखकाली रबरले नयाँ जीवन पाउने उनको विश्वास थियो । 

टायर उत्पादन गर्ने नेपालको एक मात्र उद्योग गोरखकाली रबर उद्योग २०७१ चैतदेखि बन्द रहेको छ । २०७४ सालमा उद्योग सञ्चालनका लागि सांसदहरू चीनकाजी श्रेष्ठ, कमला पन्त र गोरखा नगरपालिकाका मेयर राजनराज पन्त नेतृत्वको टोली र प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको थियो । अहिले पनि प्रधानमन्त्री देउवा नै रहेका छन् । 



प्रधानमन्त्री देउवाले ५ वर्षअघि नै सो उद्योग सञ्चालन गर्ने प्रतिबद्धता गरे पनि अहिले आफ्नै सरकार हुँदा पनि गोरखकाली रबर सञ्चालन गर्ने विषयमा ध्यान दिन नसकेको गोरखा नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको उपप्रमुख बिनाकुमारी श्रेष्ठले उद्योग पुनः सञ्चालनका लागि प्रदेश सरकार र केन्द्रीय सरकारलाई ज्ञापन पत्र बुझाए पनि कार्यान्वयन हुन नसकेको जानकारी दिइन् । ‘उद्योगभित्रको संरचना धेरै जसो बिग्रिसकेको छ । कच्चा पदार्थहरू प्रयोगमा ल्याउन सकिने अवस्था छैन,’ उपप्रमुख श्रेष्ठले भनिन्,‘ कर्मचारीले तलब पाएको छैन । स्थानीय निकायसँग ठूलो बजेट नभएका कारणले पनि हामी आफैँले सञ्चालन गर्न सक्दैनौं ।’ 



कोरोना भाइरस (कोभिड-१९) को समयमा उक्त उद्योगलाई होल्डिङ सेन्टरको रूपमा प्रयोग गरिएको श्रेष्ठको भनाइ छ । केन्द्रीय सरकारले आवश्यक बजेट विनियोजन गरेर पुनः उद्योग सञ्चालन गर्नुपर्ने श्रेष्ठले बताइन् ।

रबर उद्योगमा सरकारको १ अर्ब (३८ प्रतिशत) सेयर लगानी रहेको छ । गोरखा नगरपालिका १४ मझुवामा रहेको रबर उद्योगको नाममा ६००. रोपनी जग्गा छ । रबर उद्योगको २४ घण्टामा ६२४ थान ट्रकटायर र ननट्रक टायर उत्पादन गर्ने क्षमता रहेको छ । उद्योगको विगतको प्रगति विवरणअनुसार एक वर्षमा ५६ दिन मात्र सञ्चालन हुँदा पनि उद्योगले कर्मचारी, मजदुरको ब्यबस्थापन गरेर नाफा कमाउने गरेको थियो ।

२०४१ सालमा शिलान्यास भएको गोरखकाली रबर उद्योगले २०५० बाट उत्पादन सुरु गरेको थियो । कच्ची सडकमा चल्ने गाडीहरूका लागि यो उद्योगको टायर भारतीय र चिनियाँभन्दा टिकाउ मानिन्थ्यो ।

उद्योग सञ्चालन भएको करिब दुई दशकसम्म ‘अफ रोड’ यात्रामा निस्कने सबै किसिमका गाडीका लागि गोरखकाली टायर प्रसिद्ध थियो । नेपालमा एकलौटी बजार पाएको यो उद्योगको सुरुवाती उत्पादन भारत, श्रीलंका र बंगलादेश निर्यात भएको थियो ।

चीन सरकारको सहयोगमा निर्मित उद्योगको वार्षिक उत्पादन क्षमता ८० हजार ट्रक टायर र अन्य प्रकारका ४० हजार टायर थियो । नेपाल सरकारले २०५० सालमा सञ्चालन गर्दा वार्षिक ८८ हजार थान टायर उत्पादन गरिएको थियो । त्यसमा ट्रकका लागि १२ प्रकारका, जीप/भ्यानका लागि पाँच प्रकारका र कारहरूको लागि छ प्रकारका टायर थिए ।

गोरखकालीका टायर बिक्रीका लागि नारायणगढ, पोखरा, विराटनगर, काँकडभिट्टा, इटहरी, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्जलगायत प्रमुख शहरमा बिक्री डिपोहरू थिए । 

  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १४:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया