नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आफ्नो टिमबाट अन्य नेताले पनि आकांक्षा राखेको भए पनि अन्तिममा सभापतिको एउटै र आफैँ उम्मेदवार हुने बताए ।
‘प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ,’ उनले भने, ‘कता–कता केही साथीको पनि सभापतिमा उठ्ने आकांक्षा सुनिएको छ, तर सबैसँग छलफल गरेर एउटै उम्मेदवार टुंगो लगाउँछौँ,’ उनले भने ।
उनले अब पनि समयमै अधिवेशन नहुँदा पार्टी संकटमा पर्नसक्ने बताए । संविधानको कार्यान्वयन गर्ने दायित्व कांग्रेसले नै पूरा गर्नुपर्ने उनको भनाइ छ ।
‘पार्टीको अधिवेशन हुनुपर्छ, नत्र पार्टी वैधानिक संकटमा पर्न सक्छ,’ पौडेलले भने, ‘वैधानिक संकटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौँ ।’
कम्युनिस्ट पार्टीको नेतृत्वले जनताको अपेक्षाअनुसारको काम नगरी मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेकाले सरकार हटाउन बाध्य भएको बताउँदै उनले कांग्रेसको नेतृत्वको वर्तमान सरकारले हिजोको सरकारले गरेका ती गल्तीलाई दोहोर्याउन नहुने सुझाब दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।