राष्ट्रिय सभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा
फरकधार / ८ कात्तिक, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रिय सभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका छन् । 



निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसँगको छलफलपछि मात्र निष्कर्षमा पुग्ने जानकारी दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचन प्रणालीमा सुधार र मतदाता नामावली दर्ता कार्यलाई प्रभावकारी बनाउन सरकारले सहयोग गर्नेछ ।’  प्रधानमन्त्रीसँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले गरेको भेटमा राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति तोक्नेलगायत विषयमा छलफल भएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानुनी व्यवस्था र प्रतिनिधिसभाका चार सदस्य तथा प्रदेशसभाका १८ रिक्त सदस्यको उप निर्वाचनका विषयमा छलफल भएको थियो ।



निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुनका विषयमा पनि सो अवसरमा छलफल भएको थियो । मतदाता नामावली दर्तालाई सहज र पहुँचयोग्य बनाउन स्थानीय तहका केन्द्रसम्म पुगी मतदाता नामावली संकलन गर्ने तथा बाह्य जिल्लाका मतदाता नामावली दर्ताका विषयमा पनि छलफल भएको थियो ।

अदालतको आदेशअनुरुप विदेशमा रहेका नेपाली मतदाताको मतदान अधिकारसम्बन्धी कानुनी तथा प्राविधिक विषयमा पनि छलफल भएको आयोगले जनाएको छ । निर्वाचन आयोग र अन्तर्गत कार्यालयको भौतिक सुधारका विषयमा पनि छलफल भएको थियो ।

सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरालगायत उपस्थित रहेका थिए ।

  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १९:५१:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया