इन्डियन प्रिमियर लिग (आईपीएल) को अर्को सिजनमा खेल्ने दुई नयाँ फ्रेन्चाइज टोलीको टुङ्गो लागेको छ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई)ले सोमबार दुई नयाँ फ्रेन्चाईज टिममा लखनऊ र अहमदाबाद थपिएको जनाएको हो ।
अब अर्को सिजनबाट आइपिएलमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
सन्जिब गोयन्का ग्रुप (आरपिएसजी) ले ७ हजार ९० करोड भारुमा लखनऊ टिम खरिद गर्दा सिभिसी क्यापिटल्स पार्टनरले ५ हजार २०० करोड भारुमा अहमदाबादलाई किनेको हो ।
उनीहरुको सोमबार भएको अक्सनमा २२ प्रतिस्पर्धीलाई पछि पार्दै आइपिएल फ्रेन्चाइज खरिद गरेका हुन् ।
सिभिसी क्यापिट्ल्स पहिलोपटक आइपिएलमा प्रवेश गरेको हो भने आरपीएसजीले भने यसअघि राइजिङ पुणे सुपरजायन्ट टिममा लगानी गरेका थिए ।
पुणेले सन् २०१६ र १७ सिजनमा आइपिएल खेलेको थियो । यो टिम सन् २०१७ को उपविजेता टोली हो ।
आइपिएलमा ८ भन्दा बढी टोलीले प्रतिस्पर्धा गर्न लागेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०११ मा १० तथा सन् २०१२ र १३ मा ९–९ टोलीले सहभागिता जनाएका थिए ।
सन् २०१४ देखि २०२१ सम्म भने ८ टोलीको सहभागिता थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।