नेपाली जेलमा सजाय काटिरहेका छन् १,२६५ जना विदेशी

नेपाल विदेशीहरूको रोजाईमा पर्नुको कारण हो,– घुमघाम । नेपालको प्राकृतिक तथा ऐतिहासिक सम्पदाहरू हेर्न तथा घुमफिर गर्न उनीहरू नेपाल आउँछन् । नेपाल आएपछि घुमफिर गर्ने, रमाइलो गर्ने काम त छदैं छ । त्यसका साथै यसरी आउनेमध्ये केही विभिन्न आपराधिक गतिविधिमा संलग्न हुने गरेको पनि पाइएको छ । 

नेपालमा विशेषगरी लागुऔषध कारोबार, वन्यजस्तु तस्करी, साइबर हमला, अवैध रूपमा डलरको कारोबार जस्ता गतिविधिमा उनीहरूको संलग्नता देखिन्छ । 

कारागार व्यवस्था विभागका अनुसार अहिलेसम्म नेपालमा एक हजार २६५ जना विदेशी नागरिकले जेल सजाय भोगिरहेका छन् । नेपालमा जेल सजाय भोग्नेमा सबैभन्दा बढी भारतीय नागरिक छन् । त्यसपछि भने चिनियाँ नागरिकको वर्चस्व छ । 

विभागको तथ्यांक अनुसार नेपालका विभिन्न जेलमा एक हजार १०१ जना भारतीय नागरिक मात्रै जेल सजाय काटिरहेका छन् । त्यस्तै २८ जना भुटानी नागरिक, २६ जना चिनियाँ नागरिक, २० जना पाकिस्तानी नागरिक नेपाली जेलमा सजाय भोगिरहेका छन् । 

त्यस्तै बोलिभिया, अस्ट्रिया, जर्मनी, बंगलादेश, फ्रान्स, मलेसिया, जर्मनी, बेलायत, अमेरिका लगायतका देशका नागरिकले समेत नेपाली जेलमा सजाय काटिरहेका छन् । 

पछिल्ला वर्षहरूमा नेपालमा विदेशी पयर्टकको आवागमन बढेसँगै आपराधिक क्रियाकलाप पनि बढ्दै छन् । भारतीय नागरिकमा धेरैजसो गम्भीर आपराधिक घटनामा पनि संलग्न रहेको देखिएको छ भने अन्य देशका नागरिक जघन्य अपराधभन्दा अन्य खालको अपराधमा सजाय भोगिरहेको विभागका सूचना अधिकारी नारायण न्यौपानेले जानकारी दिए । 



२०७२ सालमा ९०० जना विदेशी नागरिकले नेपाली जेलमा सजाय भोगेका थिए । तर, अहिले आएर उक्त संख्या निकै बढेको देखिन्छ । यसरी नेपाल भारत खुल्ला सीमा नाका तथा विदेशी पयर्टकहरूको बढ्दो आवागमनले आपराधिक क्रियाकलाप पनि बढिरहेको विभागका सूचना अधिकारी न्यौपानेले बताए । 

देशभर रहेका ७४ वटा कारागार र ८ वटा बाल सुधारगृहमा गरी २४ हजार ५५९ कैदीबन्दी छन् । सबैभन्दा बढी काठमाडौंको जगन्नाथदेवल कारागारमा २०३ जना विदेशी नागरिक छन् । त्यसपछि पर्सा कारागारमा १७८ जना विदेशी नागरिक छन् । त्यसपछि डिल्लीबजार, ललितपुरको नख्खु, झापा, इलाम, मोरङ, सुनसरी, महोत्तरी, कैलालीलगायतका ५२ कारागारमा विदेशी कैदीबन्दी छन् ।



विदेशीले अपराधको हब बनाउँदै

नेपालमा विदेशीहरूको अपराध श्रृखंला बढ्दै गएकोप्रति सुरक्षा विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् । कानुन कार्यान्वयमा कमजोर रहेको नेपालमा उनीहरूले अपराध गरेर लुक्न पनि सहज हुने भन्दै अपराध गर्न नडराउने नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लले बताए । 

पछिल्लो समय चिनियाँ नागरिकहरूले नेपाललाई अपराधको हब नै बनाएका छन् । विशेषगरी बैंङिक तथा साइबर अपराध, बन्यजस्तुको अवैध तस्करी, विदेशी पैसाको अवैध कारोबार, यौन अपराध जस्ता अपराधिक क्रियाकलापमा चिनियाँ नागरिक बढी संलग्न भएको देखिएको छ । 

यसरी अर्काको देशमा गएर खुलेआम अपराध गर्न सक्नु भनेको सम्बन्धित देशको कानुनी संयन्त्र, सुरक्षा नीति लगायतको कमजोरी देखिने मल्लले बताए । 

‘विदेशीहरूलाई अपराध गर्नका लागि नेपाल एकदमै सहज जस्तो लाग्छ । यहाँ उनीहरूमाथि न निगरानी हुन्छ न त गलत गरेमा कारबाही नै हुन्छ । जसले गर्दा उनीहरूमा मनलाग्दी बढ्छ’, मल्लले भने । 

उनीहरूमाथि अनुगमन गर्ने निकाय अध्यागमन विभागको संयन्त्रण नै निकै कमजोर रहेको उनको भनाइ छ । राज्य संयन्त्र कमजोर हुँदा पर्यटकको आवरणमा नेपाल आएर विभिन्न आपराधिक काम गर्ने गरेको उनको भनाई छ । 

नेपालमा हरेक वर्ष झण्डै एक हजारको हाराहारीमा विदेशी नागरिक पक्राउ पर्ने गरेका छन् । घुम्ने बहानामा नेपाल आएका केही विदेशी नगरिक लागूऔषध कारोबार, वन्यजन्तु तस्करी, मानव बेचबिखन, बाल यौन दुराचार, अपहरणदेखि चोरी तथा लुटपाटका घटनामा समेत संलग्नता भएको पाइएको छ ।

यसबाहेक एटीएम ह्याक, कल बाइपास, सुन तस्करी लगायतका अपराधमा समेत विदेशी नागरिकको संलग्नता देखिएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । 

विदेशीमाथि निगरानी 

नेपालमा विदेशीहरू विभिन्न अपराधिक क्रियाकलापमा संलग्न हुन थालेपछि सुरक्षा निकायले उनीहरूमाथि निगरानी बढाइरहेको छ । विदेशी पर्यटकहरूको बढी आवतजावत हुने क्षेत्रहरूमा सुरक्षा निगरानी बढाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए । 

कोरोना महामारीका कारण यो वर्षको अहिलेसम्म नेपालमा ७० हजार भन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । विगतका वर्षमा भने वर्षमा १० लाख पर्यटकले नेपालको भ्रमण गर्ने गरेका थिए । पर्यटकको आवागमन बढेसँगै विभिन्न आपराधिक क्रियाकलाप पनि बढ्नु स्वभाविक नै रहेको प्रहरी प्रवक्ता कुँवरले बताए । 

पर्यटकहरूलाई घुम्न मन लागेको क्षेत्रमा सुरक्षित तरिकाले घुम्न पाउने वातावरण बनाउन प्रहरी लागिपरेको उनको भनाइ छ । त्यसका लागि विभिन्न क्षेत्रमा सीसीटिभी क्यामेरा जडान गर्ने, उनीहरू बास बस्ने होटल, लजहरूमाथि निगरानी राख्ने जस्ता काम प्रहरीले गर्दै आएको बताए । 
 

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार ८:५४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया