कति बुझ्छन् बैंकका सिइओले वार्षिक तलब ?

काम गरेबापतको सेवा सुविधाका आधारमा बैंकको जागिर आकर्षक मानिन्छ । आकर्षक मानिने यही बैंकको जागिरमा कति तलब हुन्छ त ? अन्य सेवा सुविधा कस्तो हुन्छ ? बैंकमा काम गर्ने र केही जानकारबाहेक अन्य मानिसलाई खासै थाहा हुँदैन । 

नेपाली क वर्गका वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको वार्षिक तलब कति हुन्छ त ? यसको उत्तर बैंकको आर्थिक अवस्थाले पनि निर्धारण गर्ने गर्छ । पछिल्ला वर्षहरुमा उच्च नाफामा रहेका वाणिज्य बैंकहरुका सिइओले वार्षिक करोडौं बुझ्ने गरेका छन् । करोडौं कमाउने सीइओहरुले आफ्नो कमाइबाट राज्यलाई करिब ३५ प्रतिशतसम्म कर तिर्ने गर्छन् । 

आर्थिक वर्ष २०७७/०७८ को पहिलो त्रैमासिक सकिएसँगै कतिपय बैंकहरुले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन् त कतिपयले सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन सार्वजनिक भइसकेको छ । 

नबिल बैंक

नेपालको एक चर्चित बैंकमध्ये नविल बैंक पर्छ । नेपालका अर्बपति विनोद चौधरीको लगानीमा सञ्चालित नविल बैंक चर्चा र विवादमा परिरहन्छ । उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह छन् । शाहले गत आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ६२ लाख रुपैयाँ तलब भत्ता बापत बुझेका थिए ।

त्यसअघिको आर्थिक वर्षमा भने उनले १ करोड ९८ लाख रुपैयाँ बुझेका थिए । बैंकको गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन सार्वजनिक भएको छैन ।



प्रभु बैंक

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन हुन् । उनले गतवर्ष झण्डै साढे ३ करोड रुपैयाँ तलब बुझेका छन् । आर्थिक वर्ष २०७६/७७ को बैंकको वार्षिक प्रतिवेदनअनुसर बैंकका सीइओ शेरचनले तलब भत्ता गरेर ३ करोड ४२ लाख ९२ हजार रुपैयाँ बुझेका छन् ।



उनले तलब र भत्ताबाहेक २ करोड ५७ लाख रुपैयाँ, बोनसबापत ४८ लाख ७० हजार रुपैयाँ तथा दशैं भत्ता र बिदा वापत ३५ लाख ६८ हजार रुपैयाँ बुझेका छन् । यसरी बुझ्ने रकममा करिब ३६ प्रतिशत कर शेरचनले सरकारलाई बुझाएका छन् ।

कुमारी बैंक

प्रमुख कार्यकारी अधिकृतलाई आकर्षक तलब भत्ता दिनेमा कुमारी बैंक पनि पर्छ । सो बैंकका सिइओ सुरेन्द्र भण्डारीले गत वर्ष २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ तलब भत्ता पाएका थिए । आर्थिक वर्ष २०७६/७७ का लागि भुक्तानी भएको उक्त खर्चमध्ये तलब बापत १ करोड ७ लाख ४७ हजार ६९९ रुपैयाँ हो भने ४५ लाख ६७ हजार ७७२ रुपैयाँ भत्ता तथा दशैं भत्ता १३ लाख ९ हजार १५ रुपैयाँ हो ।

वार्षिक र सञ्चित बिदाबापत ८ लाख ९५ हजार ६४२ रुपैयाँ र अन्य सुविधा बापत ६३ लाख ४० हजार ९२७ रुपैयाँ बुझेका छन् । त्यसअघि आर्थिक वर्ष २०७५/७६ मा तलब भत्ता गरेर २ करोड १४ लाख ६३ हजार ४७७ रुपैयाँ पाएका थिए ।

एनआइबिएल बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबिएल)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश हुन् । उनले आर्थिक वर्ष २०७६/०७७ मा ३ करोड ६ लाख रुपैयाँ तलब भत्ता बापत बुझेका छन् । पाण्डेले तलब बापत मात्रै १ करोड ६० लाख रुपैयाँ बुझेका छन् ।

उनले भत्ताबापत एक करोड ७ लाख रुपैयाँ लिएका छन् । उनले २२ लाख ३३ हजार रुपैयाँ दसैैंभत्ता बुझेका हुन् । सञ्चयकोष बापत १६ लाख रुपैयाँ उनको नाममा जम्मा भएको छ ।

एनआइसी एसिया

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने हुन् । उनले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा वर्ष २ करोड ५० लाख रुपैयाँ तलब भत्ता वापत बुझेका थिए । त्यसअघिको आर्थिक आर्थिक वर्ष २०७५/७६ मा २ करोड १३ लाख रुपैयाँ बुझेका छन् ।

सानिमा बैंक

सानिमा बैंकका सिइओ भुवन दाहालले गत आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ४६ लाख १५ हजार रुपैयाँ बुझेका थिए । गत आर्थिक वर्ष २०७७/०७८ मा दाहालले १ करोड ८४ लाख १५ हजार रुपैयाँ तलब भत्ता बुझेको विरण सार्वजनिक भइसकेको छ । आर्थिक वर्ष २०७५/७६ मा २ करोड ८ लाख ३९ हजार रुपैयाँ तलब भत्ता वापत दाहालले बुझेका थिए ।

एनएमबी बैंक

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी हुन् । उनले आर्थिक वर्ष २०७६/०७७ मा तलब भत्ता गरेर २ करोड ९ हजार रुपैयाँ बुझेका थिए । यसमध्ये तलब बापत ५९ लाख ४ हजार रुपैयाँ र सञ्चय कोषबापत ५९ लाख ४ हजार रुपैयाँ बुझेका थिए । यस्तै भत्ता ५२ लाख ४८ हजार रुपैयाँका साथै बोनसलगायतका सुविधाबापत ५५ लाख ७६ हजार रुपैयाँ र अन्य सुविधाबापत २ लाख ९ हजार  रुपैयाँ बुझेका हुन् ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला हुन् । उनी आर्थिक वर्ष २०७६/०७७ मा सिइओमा नियुक्त भएका हुन् । कोइरालाभन्दा अघि बैंकको सिइओ सुमन शर्मा थिए । बैंकले सो आवमा सिइओको तलब भत्ताबापत २ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ । सोे तलबभत्ता शर्मा र कोइरालाले बुझेका हुन् ।

मेगा बैंक

वाणिज्य बैंकमा रहेकी एक मात्रै महिला सिइओ मेगा बैंककी अनुपमा खुन्जेली हुन् । गत आर्थिक वर्ष २०७६/०७७ मा सीइओ खुन्जेलीले १ करोड ७० लाख रुपैयाँ तलब भत्ता बुझेकी थिइन् ।

खुन्जेलीले १ करोड २ लाख तलब र बाँकी भत्ता बुझेकी हुन् । दसैं भत्ता बापत ८ लाख, बोनस र कल्याणकारी कोष बापत ५६ लाख ७९ हजार, इन्धन सुविधा ३ लाख रुपैयाँ उनले बुझेकी हुन् । त्यसअघिको आर्थिक वर्ष २०७५/७६ मा उनले १ करोड १४ लाख रुपैयाँ बुझेकी थिइन् ।

कृषि विकास बैंक

कृषि विकास बैंकले आर्थिक वर्ष २०७६/०७७ मा प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक, भत्ता तथा सुविधाः तलब २ लाख ५० हजार प्रतिमहिनाका दरले दिएको छ ।

यसैगरी दसैंखर्च बापत एक महिनाको तलब, औषधि उपचार खर्च बापत ५० दिनको तलब, मासिक टेलिफोन महशुल, एकपटक १ थान मोबाईल सेट अधिकतम २५ हजार रुपैयाँसम्मको (फिर्ता गर्न नपर्ने) र सञ्चयकोषमा १ महिनाको तलब थप गरिएको छ । 

सरकारी स्तरको अर्को बैंक राष्ट्रिय वाणिज्य बैंकका सिइओले आर्थिक वर्ष २०७६/०७७ मा वार्षिक ६४ लाख २४ हजार ८४६ रुपैयाँ बुझेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा एनसिसी बैंकका सिइओले १ करोड ३५ लाख ८८ हजार ३४७ रुपैयाँ र प्राइम बैंकका सिइओले १ करोड ७५ लाख ५० हजार रुपैयाँ बुझेका छन् ।
 

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १२:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया