६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन, यसरी भर्नुहोस् अनलाइन आवेदन

यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खुल्ला गरेको छ । 

कोरोना महामारीको कारण देखाउँदै गत वैशाख १६ गतेदेखि आवेदन प्रणाली बन्द गरिएको थियो । अनलाइन प्रणालीमार्फत आवेदनका लागि विभागले सोमबार रातिबाट खुला गरेको हो । 

नयाँ आवेदन दिनेहरूका लागि कोटा तोकेर कार्यालयहरूले आवेदन लिन थालिएको प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । यसअघि भिजिट मिति तोकेर अनलिमिडेट आवेदन लिइएको थियो । तर, अहिले भने कार्यालयको क्षमताअनुसार समिति आवेदन मात्र लिइने उनको भनाइ छ । 

नयाँ आवेदन दिएकाहरूले नयाँ निर्देशिकाअनुसार परीक्षा दिन पाउनेछन् ।  विभागले जारी गरेको अंकभार प्रणालीअनुसार परीक्षा दिने व्यवस्था मिलाइने प्रवक्ता भुसालले बताए ।
 
लिखित परीक्षामा १०० पूर्णांकका २५ वटा प्रश्न सोधिने छन् । ४÷४ नम्बरका २५ प्रश्नबाट ६० अंक ल्याएमा पास हुनेछ । विभागले यसअघि सार्वजनिक गरेको ५०० वटा वस्तुगत प्रश्नको संग्रहबाट नै प्रश्न सोधिनछन् । 

विभागले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीका लागि छुट्टाछुट्टै वस्तुगत प्रश्नको संग्रह बनाएको थियो ।  

कसरी भर्ने अनलाइन आवेदन? 



अनलाइन आवेदन भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइट (www.dotm.gov.np)  मा जाने । पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली लेखिएको लिंकमा क्लिक गर्ने । त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने ।

नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्नुहोला ।



व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने । त्यसपछि सेभ इन्फरमेशन र इडिट इन्फरमेशन देखाउँछ । कुनै इडिट गर्नुपर्ने भयो भने प्रोफाइल हेरेर इडिट गर्न सकिन्छ । नत्र सबै विवरण सहि छ भने सेभ इन्फरमेशन गर्ने । 

अनलाइनमा आवेदन दिएपछि सिस्टमले नै कार्यालयमा कहिले उपस्थित हुने भनेर सूचना दिन्छ । त्यसपछि अनलाइन भरेको फारम, आफ्नो नागरिकता र ब्लड ग्रुप चेक गरेर प्रमाणसहित कार्यालयमा उपस्थित हुनुपर्छ ।
 

त्यस्तै, अंकभारकै आधारमा ट्रायल पनि हुनेछ । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ ।  
 

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १४:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया