टेबल टेनिसको माध्यमबाट लैगिंक चेतना

काठमाडौंको लैनचोरको टेबल टेनिस प्रशिक्षण केन्द्र र विराटनगरको टेबल टेनिस हलमा साँझ केही किशोरीहरू टेबल टेनिसको विशेष प्रशिक्षणमा छन् । यो प्रशिक्षणमा खेलबारे जानकारी मात्र दिने काम हुने छैन, तिनलाई लैगिंक जनचेतना पनि दिइन्छ, अनि भविष्यमा महिला नेतृत्वका लागि प्रेरित पनि गरिन्छ । एक साता लामो यस कार्यक्रमको नाम नै रहेको छ, ‘माइ जेन्डर माइ स्ट्रेन्थ’ ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भइरहेको यो कार्यक्रम मूलतः विश्व टेबल टेनिस संघको सहयोगमा भएको हो । महासंघले एसियाका केही देशलाई यो कार्यक्रमका लागि चयन गर्ने क्रममा उद्देश्य राखेको छ, टेबल टेनिस कोही पनि महिलाका लागि विकासको अवसर होस् । यस कार्यक्रममा काठमाडौंमा ३० र विराटनगरमा २० किशोरीको सहभागिता रहेको छ । विराटनगरमा प्रशिक्षक विकेन थापा र काठमाडौंमा प्रशिक्षकद्वय सन्ध्या शाक्य र मुना बासुकलाले कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सन्ध्या र मुना दुवै पूर्वनेसनल च्याम्पियन हुन् र तिनकै नेतृत्वमा टेबल टेनिसको माध्यमबाट लैगिंक जनचेतनाबारे जानकारी पाउँदा किशोरीहरू खुसी र उत्साहित छन् । त्यति मात्र होइन, पूर्व राष्ट्रिय खेलाडी तथा खेलविज्ञ रिता प्रजापति तथा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदकधारी सुलोचना सिजख्वाःले किशोरीहरूलाई समाजमा खेलकुदको महत्वबारे विशेष कक्षा सञ्चालन गरेका थिए । त्यस अवसरमा सहभागीलाई पछि नेतृत्व तहमा जान प्रेरित गरिएको थियो ।

यस्तै, ती किशोरीले सागकै पूर्व स्वर्ण पदक विजेता तथा नेपाली टेबल टेनिसका लेजेन्डरी खेलाडीद्वय सिजरिन शाह र गीता क्षेत्रीबाट अन्तरक्रियाको अवसर पनि पाए । कार्यक्रमको अवसरमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले यस प्रकारको कार्यक्रमले किशोरीहरूलाई टेबल टेनिसमा सहभागी भएर आफ्नो व्यक्तिगत जीवनको हरेक मोडमा सफल हुन प्रेरित गर्ने बताए । 

त्यस अवसरमा राखेप प्रशासन विभागका विभागीय प्रमुख तथा कुलबहादुर थापाले किशोर खेलाडीलाई अनुशासनको महत्वाबारे जोड दिएका थिए ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १४:५१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया