कर्णालीका दु:ख : पहुँचवालालाई सजिलै हवाई टिकट, विमानस्थलमा तड्पिदै बिरामी

कर्णालीको हिमाली जिल्ला डोल्पा, मुगु र हुम्ला पुग्न अहिले पनि हवाई मार्ग एक मात्र विकल्प हो । 

हवाई मार्ग विकल्प रहेको यी जिल्लामा जानका लागि पहुँचको भरमा नेपालगञ्ज र सुर्खेतबाट आवातजावतका लागि सिडिओ, हवाई कम्पनी कर्मचारी, पाइलट, नेता, सांसदको पहुँचमा मात्र टिकट पाइने गरेको छ । यहाँका विमानस्थलबाट बिरामीलाई लैजान र ल्याउनका लागि पहुँच भएको भर पर्नुपर्ने बाध्यता छ । 

डोल्पा, मुगु, जुम्ला र हुम्लामा निजी एयरलाइन्स सीता, तारा, समिट एयरले उडान भर्दै आएका छन् । यी विमान कम्पनीहरूमा सर्वसाधारण​ले टिकट पाउनु मुस्किल हुन गरेको छ । 

सर्वसाधारणलाई टिकट दिन विमान कम्पनीका एजेन्टले आनाकानी गर्ने गरेको हुम्ला सिमकोट गाउँपालिका–४ का शेरबहादुर रोकायले गुनासो पोखे । ‘हामीलाई टिकट नै छैन भनिन्छ, हवाई टिकटका लागि सधैँ सांसद, सिडिओ, ठूलाठालुको भर पर्नुपर्ने बाध्यता रहेको छ ।’

हवाई टिकटका लागि मन्त्रीको समेत पावर लगाउनुपर्ने बाध्यता रहेको त्रिपुरासुन्दरी नगरपालिकाका स्थानीय नोर्बे लामाले बताए । सर्वसाधारण नागरिक विमानस्थलबाट फर्किनुबाहेक अन्य विकल्प नभएको उनले बताए ।



‘एयरलाइन्सका कर्मचारी, पाइलट, सिडिओ, सांसद र मन्त्रीका मान्छेहरू एकदिनमै उड्ने गर्छन्, सर्वसाधारणले दुई हप्ता कुर्दा पनि हवाई टिकट पाउने अवस्था छैन,’ लामाले भने ।

कर्णालीको दुर्गम तथा हिमाली जिल्लामा हवाइ यात्रा भर्ने नीजि कम्पनीका विमानका कर्मचारीका बेइमानीका कारणले यात्रुलाई समस्या हुने गरेको स्थानीय बताउँदै आएका छन् । 



यात्रुको चाप बढी 

हुम्ला, डोल्पा, मुगु र जुम्लामा दसैँ–तिहारमा घरमा गएका मानिस फर्किने क्रम बढेपछि अहिले विमानस्थलमा यात्रुको चाप अत्यधिक छ । 

मुगुमा राराताल घुम्न आउने, हुम्लामा मानसरोवर जाने र डोल्पामा से–फोसण्डो ताल हेर्न जाने पर्यटक, दसैँमा घरमा टीका थापेर फर्किने विद्यार्थी तथा कर्मचारी र व्यसायीका कारण अहिले हयाँका विमानस्थल व्यस्त भएका छन् । 

विमानस्थलबाट नीजि कम्पनीका विमानहरूले दैनिक दुईदेखि तीन उडान भर्ने गरेको भए पनि हवाई टिकट पाउनका लागि समस्या हुने गरेको मुगु ताल्जा विमानस्थलमा होटेल व्यवसाय सञ्चालन गरिरहेका रातु बमले बताइन् । ‘पर्यटक तथा अन्य कामले फर्किनेको विमानस्थलमा घुइँचो नै लाग्ने गरेको छ, टिकट पाउन मुस्किल छ,’ उनले भनिन् ।

दैनिक हवाई यात्रा गर्ने दुई सयदेखि तीन सयजना हुने गरेकोमा त्यसमध्ये विमानहरूले दैनिक ५० देखि ६० जनासम्मलाई मात्र यात्रा गराउने गरेका छन् । 

बिरामीलाई बढी समस्या

विमानको टिकट नपाउँदा दीर्घ रोगका र आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई बढी समस्या भएको छ ।

खार्पुनाथ गाउँपालिका–१ प्युसका ६० वर्षीय वीरजित शाही दमका रोगी छन् । उनलाई दमले थप च्यापेपछि जिल्ला अस्पताल सिमकोटले कर्णाली प्रादेशिक अस्पताल सुर्खेत रिफर गरेको छ । तर, उनी टिकट पाउन सकेका छैनन् । टिकट नपाउँदा आफन्तहरूले शाहीलाई विमानस्थलमा ल्याउने र पुनः फर्काउने गरेका छन् । 

विमानस्थलमा हवाई जहाजको टिकट नपाउँदा रिफर गरिएको बिरामीलाई उपचारका लागि समस्या भएको उनका ज्वाई खडकबहादुर शाहीले बताए । ‘विमानको टिकट नपाउँदा समस्या भएको छ, दमका दीर्घ रोगी सुसुराको उपचार गर्नका लागि अहिले टिकटका लागि प्रयास गरिरहेको छ्,’ उनले भने । 
 

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १७:९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया