धनुषाका १८ पालिकामध्ये १६ पालिकाका केही वडामा विवाद देखिएपछि नेकपा एमालेको वडा अधिवेशन सम्पन्न हुन सकेको छैन । वडा अधिवेशन हुन नसक्दा नगर अधिवेशनसमेत अन्योलमा परेको छ ।
धनुषा जिल्लाका ३५ वडामा वडा अधिवेशन अझै बाँकी रहेको नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।
अधिकांश पालिकाको केही वडामा कार्यकर्ताबीच आपसी विवाद रहेकोले समयमै वडा अधिवेशन हुन नसकेको उनले बताए । केही वडामा अधिवेशन हुन बाँकी रहेको र केही वडामा पार्टीले नै अधिवेशन गराउन नसकेको उनले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरका २५ वटा वडामध्ये ८ वटा वडामा वडा अधिवेशन हुन नसकेको नेकपा एमाले जनकपुरधाम नगर समितिका अध्यक्ष श्याम पूर्वेले बताए । उपमहानगरका केही वडामा अधिवेशन हुन बाँकी रहेकाले नगर अधिवेशन पनि हुन नसकेको उनले बताए ।
जनकपुरधाम उपमहानगरको १७ वडामा अधिवेशन सम्पन्न भए पनि ८ वटा वडामा विभिन्न विवादका कारण अधिवेशन हुन नसकेको नेकपा एमालेका प्रदेश सदस्य शिवशंकर साह हिराले बताए । बाँकी रहेका वडामा सहमति गराउने प्रयास भइरहेको बताउँदै उनले एक साताभित्र जनकपुरधामको नगर अधिवेशन पनि सम्पन्न गर्ने तयारी रहेको दाबी गरे ।
यता, धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा वडा अधिवेशन सकाएर नगर अधिवेशन जारी रहेको छ । बुधबारसम्ममा यी दुवै पालिकामा नेतृत्व चयन हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।