जनकपुरमा कपडा बैंक : हुनेले दिनुस्, नहुनेले लैजानुस्

‘लुगा चाहिन्छ यहाँबाट लिनुहोस् । आफ्ना पुराना तथा लगाउन योग्य कपडा यहाँ दान गर्नुहोस् ।’ 

यो वाक्य लेखिएको थियो, जनकपुरधाम–६ स्थित गिरनारी कुट्टी सन्यासी आश्रममा बनाइएको एक कपडा भण्डारमा । फलामले बनाइएको एउटा सानो घरजस्तै देखिने सो ठाउँमा सयौँ थान कपडा यत्रतत्र छरिएका थिए । 

हामी सो स्थानमा पुगेको केही मिनटमै ५० वर्षजतिका एक व्यक्ति इ–रिक्सामा दर्जनौँ थान पुराना कपडा लोड गरेर कपडा भण्डारको अगाडि रोकिए । इ–रिक्साबाट सबै कपडा निकालेर उनले सो ठाउँमा आफूले ल्याएका कपडा राखेर मिलाउन थाले । 

करिब १५ मिनेटसम्म यत्रतत्र छरिएका सबै पुराना कपडालाई मिलाएपछि उनी त्यहाँबाट आफ्नो बाटो लागे । आफूसँग ल्याएका करिब दुई दर्जन थान पुराना कपडा उनले त्यहाँ राखेर गए । 

केहीबेरपछि करिब १२ वर्षीया एक बालिका त्यहाँ आइन् र आफूलाई चाहिने कपडा खोज्न थालिन् । सायद उनको मनभित्र पुराना कपडाको बीचमा कुनै नयाँ कपडा पनि होला कि भन्ने अपेक्षा थियो । उनले मिलाएर राखिएका सबै कपडालाई एक एक गर्दै खोज्न थालिन् । धेरे बेरपछि उनी एकजोर कपडा लिएर आफ्नो बाटो लागिन् । 

त्यस ठाउँमा यो क्रम विगत दुई वर्षदेखि दिनहुँ चलिरहेको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेशविक्रम साहले बताए । 



उनले तरुण दलको ६६औँ स्थापना दिवसको अवसरमा आफूहरूले नै दुई वर्षअघि यस ठाउँमा कपडा भण्डारको स्थापना गरेको बताए । उनले यहाँबाट दैनिक कम्तीमा दुई दर्जनको संख्यामा गरिब, असहाय र विपन्नहरुले आफूलाई आवश्यक पर्ने कपडा सहज रुपमा पाउने गरेको र हुनेखानेहरुले पनि दैनिक दर्जनौँको संख्यामा पुराना कपडा जम्मा गर्ने गरेको बताए ।  

गरिब, असहायहरुको लागि जाडोमा हुने समस्या र पीडालाई मध्यनजर गर्दै दलको जिल्ला कार्य समितिले निःशुल्क कपडा बैंकको स्थापना गरेको हो । स्थापना गरिएको कपडा बैंकबाट जसलाई कपडाको आवश्यकता हुन्छ उनले कपडा निःशुल्क लिन सक्ने तथा कोहीसँग पुरानो वा नयाँ कपडा छ भने त्यसमा दान पनि गर्न सकिने साहले बताए । 



जनकपुरमा अहिले दुईवटा निःशुल्क कपडा बैंक भए पनि प्रचार–प्रसार र जानकारीको अभावमा कपडा बैंकसम्मको पहुँचलाई निरुत्साहित गरिएको देखिएको उनले बताए । 

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार २१:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया