बडादसैंको टीका सकेसँगै असोज ३० गते स्वदेशु चौधरीका परिवारले हतारहतारमा धान कटाई गरे ।
धान काट्ने चटारो परेका बेला दसैं हुँदा उनको परिवारलाई दसैंभन्दा बढी धान भित्र्याउने चिन्ता थियो । कैलालीको धनगढी उपमहानगरपालिका–१४ फुलबारीका स्वदेशु चौधरीको परिवार दैनिक जसो खेतमै थिए ।
असोज अन्तिम दिन अर्थात ३१ गते साँझ ४ बजे हावाहुरीसँगै बर्षा सुरु भयो । उनको परिवारलाई ढेड विघामा लगाएको धान कसरी उठाइसक्ने भन्ने चिन्ता लाग्यो । अलिअलि गर्दागर्दै खेतमा पानी नै भरियो । उनलाई काटेर सुकाउन राखेको धान उठाउने जागर नै आएन ।
‘पानी आधा घण्टा मात्र परेको थियो खेत पुरै भरियो’, स्वदेशुले भने, ‘धान उठाउने कुनै उपाय थिएन । अर्को दिनसम्म पानी भरियो ।’ कार्तिक २ गते आकाशबाट आउने पानी र मोहना नदीको छेवैमा रहेको उनको खेत भरिभराउ भयो ।
‘पानीको बेग बढ्दै गयो । खेतमा रहेको धान उठाउने कुनै उपाय नै लागेन । पराल नै बग्न लाग्यो’, उनले भने । ‘तेस्रो दिन अर्थात कार्तिक ३ गते सम्म त खेतमा परालको कुनै त्यान्द्रो समेत रहेन ।’ त्यसपछि उनलाई झनै चिन्ता बढ्यो ।
‘वर्षभरी खाने धान बाली नै सखाप पारेपछि के खाने भन्ने चिन्ता सुरु भयो’, उनले भने, ‘ज्यान नै जोखिम पारेर उठाएको धान बालीको काम त थिएन । बगाएको धान बचाउन सकेनौं । अन्तिममा डेढ बिघामा लगाएको धान सबै सकाप भयो ।’
स्वेदशुले दुई विघा अँधिया समेत लिएका थिए । अँदियाको धान खाने लायकको हुने गरी रहन सकेन ।’ अँधिया धान पनि बंगुरबाहेक अरुले खान सक्ने अवस्था रहेन । त्यसपछि सुकाउन राखेको धानका पछि परिवारका कुनै पनि सदस्य नलागेको स्वदेशुले बताए ।
असारमा दिनरात गरी रोपेको धानमा अन्तिम तह बीउ पुँजी समेत जोगिएन । असारमा १५ हजार बढी खर्च गरी मजदुर लगाएर धान खेती गरेको थिए । वार्षिक ५० हजार रुपैयाँमाथिको धान बिक्री गर्दै आएका स्वदेशु यसवर्ष बीउ पुँजीसमेत हातमा नपर्दा निरास छन् ।
कार्तिक पहिलो साता आएको बेमौसमी झरीले उनले लगाएको धान पराल समेत खेतीमा नरहेपछि वर्षभरी के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ । जेठको दोस्रो साता खेतमा धानको बेर्ना राखेदेखि नै स्वदेशुका ७ जना परिवार धान खेतीमा लागेका थिए ।
असार महिना खेतीमा नै खाने बस्ने समेत गरेका थिए । ‘बजारबाट बीउ ल्याएर धान खेती गरेका थियौं’, उनले भने, ‘कार्तिकमा अचानक आएको झरीले खेतमा पराल समेत बाँकी राखेन ।’
‘डल्ला फुटाउने, झार उखेल्ने काममा सबै परिवार नै लागेका थियौं’, उनले भने । रोपाइँअघि २५ सय विघाका दरले ट्याक्टर लगाएर खेत जोताएँ । रोपाइँका बेला पाँगो बनाउन थप जोत्नैपर्छ । उनको साढे सात हजार रुपैयाँ त जोताइमै खर्च भएको थियो । आफ्नो हल गोरुले छुटेका कुना जोत्नु परेको थियो ।
रोपाइँ गर्ने बेला प्रतिघन्टा ३ सयका दरले मोटरको पानी चलाउँदा उनले २५ घन्टाको ७ हजार ५ सय खर्च गर्नु परेको थियो ।
डिएपी र युरिया मल खेतमा हालेको स्वेदशुको छोरा डम्बर चौधरीले बताए । ‘यो वर्ष रोपाइँका लागि हामीले ७ हजार बढीको डिएपी, ४ हजार बढीको युरिया मल किन्नु परेको थियो’, उनले भने, ‘उनीहरूले आफैंसँग भएको रुपैयाँ खर्चेर सकिएपछि २० हजार सरसापट गरेर वर्षामा खेती लगाएका थिए ।
भदौको महिना गोडमेलमै बिताएको उनको परिवार दसैंअघि धान काटेर सक्ने योजनामा थियो । यसवर्ष धान काट्ने समयमा ठ्याक्कै दसैंको परेका हुँदा असोज अन्तिम साता काटेका थिए । दसैंको एकदिन काटेनन्, त्यसअघिका ३ र पछिको एकदिन उनीहरूले धान काटे । कार्तिकमा त्यस्तो झरी नपर्ने अपेक्षा गरेका स्वदेशुका परिवारको आफ्नो बारीदेखि अँधियाको सबै बगाए पछि कहाँ बाट खाद्यान्नको जोहो गर्ने भन्ने चित्ता छ ।
‘कात्तिकमा यस्तो पानी पर्छ भनेर सोचेकै थिएनौं । बचाउन जति प्रयास गरे पनि सकेनौं, पूरा धान भिजिहाल्यो’, स्वदेशुले भने । त्यसमा पनि गहिरो ठाउँ मोहना नदी छेवैमा हुँदा अझै समस्या थियो ।
‘सुरूसुरूमा अलिअलि पानी आउँदा धान पानीमा तैरियो । पछि कम्मरसम्म पुग्ने गरी पानी आयो, धान सबै बग्न थाल्यो’, उनले भने ।
धान काटेर खेतमा थ्रेसिङको तयारीमा रहेका उनीहरूको साढे तीन विघामा लगाएको धान बाढीले सखाप पारिदियो । एक अँधियाको धान नबगाए पनि सबै टुसाएको स्वदेशुले बताए । टुसाएको धान पनि कुनै काम लाग्दैन ।
अहिले उठाउँदै सुकाउन लाग्दा धान टुसाएर जमराजस्तो भएको छ । उनले खेतीमा एक सय बढी क्विन्टल धान फल्ने आश गरेका थिए । तर, वर्षाले बीउ पँुजीसम्म रहन सकेन ।
‘कतिपय ठाउँको पराल पनि छैन, भएको धान त केही उम्रिन थाल्यो, केही भिज्यो’, उनले भने ।
यसवर्ष खेतीबाट कम्तीमा ५० हजार नाफा हुने उनको अनुमान थियो । अब जग्गाधनीलाई पो के दिने भन्ने उनलाई पीर परेको छ ।
कृषि केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले प्रारम्भिक अध्ययन अनुसार कैलालीमा मात्रै कम्तीमा २१ हजार हेक्टरमा पूर्ण रूपमा धानबाली क्षति भएको बताए ।
यसरी ९ लाख ४५ हजार क्विन्टल धान नोक्सान भएको उनले बताए । ‘२ अर्ब बराबरको धानबालीमा नोक्सानी भएको देखिन्छ’, उनले भने । कैलालीमा ७० हजार हेक्टर जमिनमा धान खेती हुन्छ । कार्तिक पहिलो साताको बाढीले कैलालीमा धानसँगै तोरी, मसुरो, केरा, आलुलगायतका खेतीबालीमा क्षति पुगेको छ ।
प्रदेश सरकारको मापदण्डअनुसार प्रतिबिघा ८ हजारका दरले राहत दिने हो भने पनि १७ करोड रुपैयाँ चाहिने देखिन्छ । यसमा स्थानीय र प्रदेशले नभ्याए संघीय सरकारले ध्यान दिनुपर्ने शर्माले बताए । अरू बालीमा भएको क्षति पनि जोड्दा कम्तीमा २५ करोड राहत रकम आवश्यक पर्ने उनले बताए ।
त्यसै पनि विदेशबाट चामल आयात हुने यस प्रदेशमा धानमा पुगेको क्षतिले आयात बढ्न सक्ने देखिएको छ । यस्तै कम गुणस्तरको चामल खानुपर्ने बाध्यता आउन सक्ने उनले बताए ।
कार्तिक पहिलो साता आएको बेमौसमी झरीले सुदूरपश्चिममा ठूलो मात्रमा जनधनको समेत क्षति भएको थियो । यस्तै भौतिक क्षति कतिसम्म भयो अहिलेसम्म कुनै पनि निकायले निकाल्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।